(Saturday, 23 March, 2019)



       मिति २०७५ माघ १६
एकतन्त्रीय जहानियाँ शासनको अन्याय र अत्याचारबाट नेपालीलाई मुक्ति दिलाएर प्रजातन्त्रको स्थापनाको लागि अमर शहिदले प्राणको आहुति दिएका हुन् । प्रजातन्त्रको स्थापनाको लागि जीवन बलिदान गर्ने गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्द लगायत सम्पूर्ण ज्ञात—अज्ञात शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, शहिदले देखाएको न्यायपूर्ण समाज निर्माणका लागि अविचलित रुपमा हामी सबैको सक्रियता र सहभागिता हुन सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
अन्याय र अत्याचारको अन्त्य गरी न्याय र स्वतन्त्रताको लागि ज्यानको आहुती दिने शहिदकै योगदानले नेपालका तीन ठूला राजनैतिक परिवर्तन संभव भएका हुन् । २००७ सालको जनक्रान्तिबाट १०४  वर्षे जहाँनिया राणा शासनको अन्त्य गरी प्रजातन्त्रको प्रार्दुभाव भयो । प्रजातन्त्रको घाँटी निमोठेर २०१७ सालमा स्थापना गरिएको निरंकुश निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी २०४६ सालमा बहुदलीय व्यवस्थाको स्थापना भयो । २०६२।०६३ को लोकतान्त्रिक आन्दोलनको बलमा मुलुकमा गणतन्त्र संभव भएको हो । यी सबै राजनैतिक संघर्षमा ज्यानको आहुति दिने वीर शहिदहरु अमर छन् ।

नयाँ संविधान अनुसार तीन तहको चुनावसम्पन्न भएपछि मुलुक नयाँ युगमा प्रवेश गरेको छ । संविधानले एकात्मक र केन्द्रीकृत राज्यव्यवस्थाको अन्त्य गरी संघात्मक राज्यव्यवस्थाको व्यवस्था स्थापना गरेको छ । विकास र समृद्धिको जनताको सपना पूरा गर्न सक्दामात्रै शहिदप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । यतिखेर मुलुक संविधान कार्यान्वयनको अभियानमा सफलतापूर्वक अघि बढ्दै संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउने दिशामा अघि बढिरहेको छ । व्यवहारिक रुपमा संघीयताको पूर्णतः कार्यान्वयन गरी नागरिकका अपेक्षा पूरा गर्न हामी संकल्पित छौं । हामी प्रदेशको विकास र समृद्धिका माध्यमवाट राष्ट्र निर्माणको महाअभियानमा जुटिरहेका छौं । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा हार्दिक अपिल गर्दछु ।

 शंकर पोखरेल
मुख्यमन्त्री