(Saturday, 23 March, 2019)



आज निरङ्कुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय शासन व्यवस्था अन्त्य भई लोकतान्त्रिक शासन व्यवस्था शुभारम्भ भएको दिन हो । यस अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुप्रति सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु । यस ऐतिहासिक अवसरमा म नेपालको वाम तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलनका क्रममा घाईते र वेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।
नेपाली जनताको लामो संघर्ष र बलिदानले नै निरकुंश, जहाँनिया  र तानाशाही शासन व्यवस्थाको अन्त्य भई लोकतन्त्रको स्थापना भएको हो । फक्रदै गरेको लोकतान्त्रिक व्यवस्था लामो समय जोगिन सकेन्,अन्ततः मुलुक पुनः तीन दशक तानाशाही पञ्चायती व्यवस्थाको अध्याँरोमा डुब्यो । २००७ सालमा प्राप्त प्रजातन्त्रको जगमा हुर्र्किएको पुस्ताले नै पञ्चायत विरोधी आन्दोलन अघि बढाउँदै लग्यो । अन्ततः पञ्चायती व्यवस्थाको अवसान भयो । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको जग पनि २००७ सालदेखि बसेको हो । त्यसबेला उठेको संविधानसभाको माग २०६२।०६३ को जनक्रान्तिपछि पुरा हुन संभव भयो । र, संविधानसभाबाट नयाँ संविधान जारी भएको छ । अब प्राप्त उपलब्धिको रक्षा गर्दै जनआकांक्षा पूरा गर्ने दायित्वलाई गंभीरतापूर्वक पूरा गर्दै अघि बढ्नुपर्छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्दति र शैलीका रुपमा स्थापित गर्नु आवश्यक छ । जब संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवन पद्दतिको रुपमा स्थापित हुन्छ, त्यसबेला आम नागरिकले लोकतन्त्रको अनुभूति गर्न पाउँछन्,लामो संघर्षबाट प्राप्त परिवर्तनको अनुभूति गर्न पाउँछन् । ऐतिहासिक संविधानसभावाट नयाँ संविधान जारी भएपछि  यतिवेला हामी संघिय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयनको महत्वपूर्ण चरणमा प्रवेश गरेका छौ । नागरिकको विकास र समृद्धिको आकांक्षालाई पुरा गर्न संघीयताको व्यवहारिक कार्यान्वयन महत्वपूर्ण विषय हो ।
हामीले हाम्रो प्रदेशमा समृद्ध प्रदेश,खुसी जनताको लक्ष्य वोकेर अघि बढ्न लागि रहेका छौ । त्यो लक्ष्यमा पुग्न आवश्यक संरचना तयार गरी कार्यान्वयन गरिरहेका छौं । संविधानले दिशानिर्देश गरेको बाटोवाट न्यायपूर्ण, समतामुलक र समृद्ध समाज निर्माण गर्ने कुरा तीनै तहका सरकारहरुको साझा लक्ष्य हो  । संघीय सरकारले सुखी नेपाली समद्ध नेपालको लक्ष्य अघि सारेको छ । हामी प्रदेशको विकास र समृद्धिको वाटोवाट उक्त लक्ष्य पुरा गर्न सार्थक योगदानका लागि कृतसंकल्पित छौं । प्रजातन्त्र दिवसकोअ अवसरमा यस ऐतिहासिक अवसरमा समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने राष्ट्रको साझा अभियानमा साथ दिन प्रदेशका सबै राजनैतिक दल, संघ संस्था, राष्ट्रसेवक कर्मचारी र आम नागरिकमा हार्दिक अपिल गर्दछु ।

अन्त्यमा प्रजातन्त्र दिवसको अवसरमा सबैमा हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दछु ।



शंकर पोखरेल
मुख्यमन्त्री
मिति २०७५ फागुन ७