आफ्नो जीवनकालमा मात्र होइन, मृत्युपछि पनि मदन भण्डारीबाट प्रतिपादित विचार तथा मान्यताले नेपाली राजनीतिलाई निरन्तर रूपमा प्रभावित गरिरहेका छन् । आज पनि नेपाली राजनीतिका संकटपूर्ण क्षणमा मानिसहरू उहाँलाई सम्झन्छन्, र भन्ने गर्छन्- मदन भण्डारी भएको भए... ।


नेपालको राजनीतिमा चर्चित झापा विद्रोहको समयमा विद्रोहका गीत र कविता रचना गर्दै र सुनाउँदै गर्दा बनारसमा पढ्ने नेपाली विद्यार्थीहरूका बीचमा मदन भण्डारी सभा–समारोहमा खोजिने पात्रका रूपमा प्रकट हुनुभयो । उक्त समय बनारसमा अध्ययनरत नेपाली विद्यार्थीहरू छात्र संघका माध्यमबाट निरंकुश पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक अभियानमा जोडिने गर्दथे ।

बनारसमा अध्ययनरत विद्यार्थीका लागि छात्र संघ साझा संगठन थियो । तर उक्त संघको नेतृत्वमा पुग्न नेपाली कांग्रेस र नेकपा सम्बद्ध विद्यार्थीहरूका बीचमा प्रत्यक्ष चुनाव हुने गर्थ्यो । मुलुकमा निर्दलीय निरंकुश व्यवस्थाको दमनका सिकार भएकाहरूका लागि छात्र संघको नेतृत्वका लागि हुने निर्वाचन बहुदलीय शासन प्रणालीको अभ्यासको थलोजस्तै थियो । त्यही लोकतान्त्रिक परिवेशमा नै भण्डारीको राजनीतिक व्यक्तित्वको विकास भयो । त्यही परिवेशले नै उहाँलाई नेकपाका संस्थापक महासचिव पुष्पलालको सान्निध्यतामा पुर्‍यायो । पुष्पलाल समूहको सांस्कृतिक मोर्चाबाट संगठित जीवन सुरु गर्नुभएका भण्डारी मुक्तिमोर्चाका माध्यमबाट कोअर्डिनेसन केन्द्र हुँदै नेकपा (माले) को संस्थापक बन्न पुग्नुभयो । उहाँको व्यवस्थापनमा नै भूमिगत रूपमा तात्कालिक नेकपा (माले) पार्टीको पुनर्गठन भएको थियो । जुन पार्टी आज नेकपा (एमाले) का रूपमा नेपाली राजनीतिमा प्रमुख पार्टीका रूपमा स्थापित छ ।

नेपाली राजनीतिमा मदन भण्डारी धेरैका लागि ज्वारभाटाका रूपमा अचानक प्रकट हुनुभयो र रहस्यमय दासढुंगा जिप दुर्घटनाबाट त्यसरी नै अस्ताउनुभयो । उहाँ खुला राजनीतिमा आएदेखि नै दन्त्यकथाको नायकझैं नेपाली राजनीतिमा छाइरहनुभयो । संविधान जारी भएपछि जनसभामार्फत खुला हुनु भएका मदन भण्डारी चार वर्षभन्दा कम समयमै नेपाली जनताका बीचमा सर्वाधिक लोकप्रिय नेताका रूपमा स्थापित हुनुभयो । ताप्लेजुङको ढुंगेसाँघुमा जन्मनुभएका भण्डारी चितवनको दासढुंगामा भएको षड्यन्त्रपूर्ण जिप दुर्घटनाबाट अल्पायुमा हामीबाट सदाका लागि बिदा हुनुभयो । षड्यन्त्रपूर्ण हत्या भएको तीन दशक पुग्न लाग्दा पनि नेपाली राजनीतिमा उहाँ सर्वाधिक सम्झना गरिने नेपाली नेताहरूमा पर्नुहुन्छ । आफ्नो 

सक्रिय राजनीतिक जीवनकालमा मात्र होइन, मृत्युपछि पनि उहाँबाट प्रतिपादित विचार तथा मान्यताले नेपाली राजनीतिलाई निरन्तर रूपमा प्रभावित गरिरहेका छन् । दुई दशकपहिले बीबीसी नेपाली सेवाले गरेको एक अनलाइन सर्वेक्षणबाट गएको सय वर्षमा नेपाली समाजलाई सर्वाधिक प्रभाव पार्ने नेताका रूपमा उहाँ सर्वाधिक व्यक्तिका छनोटमा पर्नुभएको थियो । आज पनि नेपाली राजनीतिका संकटपूर्ण क्षणमा मानिसहरू उहाँलाई सम्झन्छन्, र भन्ने गर्छन्- मदन भण्डारी भएको भए... ।

भण्डारीले नेपाली राजनीतिका गतिरोधहरूलाई छिचोलेर नयाँ दिशा प्रदान गर्ने कुरामा वैचारिक र राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । सात सालको राजनीतिक क्रान्ति नेपालको इतिहासमा एउटा ऐतिहासिक परिघटना थियो । जहानियाँ राणा शासनविरुद्धको सशस्त्र संघर्षले सफलता हासिल गरिरहेका बेलामा त्रिपक्षीय दिल्ली सम्झौताका रूपमा त्यसलाई अपूर्ण बनाउने काम भयो । २००७ सालको जनक्रान्तिमा जसका विरुद्ध आन्दोलनको उद्घोष गरियो, हतियार उठाइयो, उसैलाई प्रधानमन्त्री स्वीकार गर्ने विषय आन्दोलनकारीहरूका लागि स्वीकार्य हुनै सक्दैनथ्यो । आन्दोलनकारी शक्तिहरूका बीचको अन्तरविरोधको जगमा शक्ति केन्द्रहरूले खेल्ने मौका पाए । परिणामस्वरूप पहिलो आम निर्वाचनमा दुईतिहाइ बहुमत पाउन सफल नेपाली कांग्रेस नेतृत्वको सरकार छोटो समयमा नै शाही ‘कू’ को सिकार भयो । २०१७ पुस १ गतेको कालो दिनका रूपमा चर्चामा रहेको प्रतिगमनविरुद्धको संघर्ष नेपालमा तीन दशकसम्म चल्यो । नेकपाका संस्थापक नेता पुष्पलालले निरंकुश पञ्चायतका विरुद्धमा संयुक्त जनआन्दोलनको नीति सुरुमै अघि सार्नुभएको थियो । तर त्यसलाई बीपी कोइराला नेतृत्वको नेपाली कांग्रेसले स्विकार्न सकेन । परिणामस्वरूप पुष्पलाल र बीपी दुवैले निरंकुशताविरुद्धको संघर्षमा आफ्नो सम्पूर्ण जीवन समर्पण त गर्नुभयो, तर सफलता पाउन सक्नुभएन । नेपाली राजनीतिमा मदन भण्डारीको भूमिका नेपाली राजनीतिको यही असफलताको विन्दुबाट अघि बढेको मान्न सकिन्छ ।



महत्वपुर्ण लिंकहरु