काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले  कठिनाइसँग भिड्न नसक्नेले प्रगति पनि गर्न नसक्ने बताउनुभएको छ । 

शनिबार नेकपा (एमाले) दाङ–काठमाडौं सम्पर्क मञ्चको १२औँ जिल्ला सम्मेलनको तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा उद्घाटन गर्दै महासचिव पोखरेलले समस्यासँग भागेर होइन सङ्घर्ष गरेर अघि बढ्नुपर्ने बताउनुभयो । 

महासचिव पोखरेलले भन्नुभयो– सङ्घर्षसँग जुध्न आँट गर्नेले नै प्रगति गर्छ, जो सुविधामा हुर्कन्छ त्यसले कहिल्यै लडाईं लड्दैन, जो कठिनाइसँग भिड्छ त्यसले नै प्रगति गर्दछ । 

प्रतिकूलता पैदा भयो भनेर निराश हुनेले कहिल्यै प्रगति गर्न नसक्ने उहाँले बताउनुभयो । स्वार्थी मनोविज्ञानको कारण नेपाली समाज परिवर्तन हुन नसकेको उहाँको धारणा छ । 

सामाजिक मनोविज्ञानलाई बदल्न नसकेको कारण नेपाली समाज अघि बढ्न नसकेको उहाँले बताउनुभयो । राष्ट्रिय चिन्तन बोकेर काम गर्दा मात्र देशको विकास गर्न सकिने र जनतामा आशा र भरोसा जगाउन सकिने महासचिव पोखरेलको भनाइ छ । 

नेकपा (एमाले) देशको ठुलो पार्टी भएकाले देश विकासको नेतृत्व पनि नेकपा (एमाले)ले नै लिनुपर्ने उहाँले बताउनुभयो । पुरानो गठबन्धनको कारण देश विकासले गति लिन नसकेको कारण एमालेले नयाँ सत्ता समीकरण बनाएको उहाँले बताउनुभयो । उहाँले गठबन्धनबाट देश बनेको दृष्टान्त विश्वमा कतै नभएको स्पष्ट पार्नुभयो । 

देश बनाउन सबल नेतृत्व, स्पष्ट दृष्टिकोण, बलियो पार्टी र स्थायित्व आवश्यक रहेको बताउँदै महासचिव पोखरेलले विचार नभएका नयाँ पार्टीले देश बनाउन नसक्ने स्पष्ट पार्नुभयो । 

निराशाका कुरा गरेर देश नबन्ने हुँदा जनतामा आशा जगाउनुपर्ने भन्नुहुँदै जनतामा त्यही आशा जगाउन पार्टीले ले मिसन ग्रासरुट र झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा चलाएको उहाँले वताउनुभयो । 

मुलुक बनाउनको लागि अहिलेको अवस्था पनि सहज नभएको र एमालेको एकल बहुमतको सरकार आवश्यक पर्ने भन्नुहुँदै महासचिव पोखरेलले त्यसकै लागि पार्टीले मिसन २०८४ अगाडि सारेको बताउनुभयो ।

कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य लालबाबु पण्डित, पोलिटव्यूरो सदस्य सुजिता शाक्य, केन्द्रीय कमिटीका सदस्यहरू नरेन्द्र श्रेष्ठ, मेनका पोखरेल, घनश्याम पाण्डे, कोमल ओली लगायत नेताहरू अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।