काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशको सार्वभौमसत्ता सबल बनाउन राजनीतिक दलहरू बलिया हुनु आवश्यक हुने हुँदा नेपाली समाजमा त्यो चेतना सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ ।  

बुधबार टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको ‘सार्वभौमिकता, सीमा र पानी’ विषयक छलफल कार्यक्रममा बोल्दै महासचिव पोखरेलले बलिया राजनीतिक दलले नै देशको सार्वभौमसत्तालाई बलियो बनाउने बताउनुभयो । 

उहाँले भन्नुभयो– नेपाललाई आर्थिक रूपमा सबल र सुदृढ नबनाएसम्म सार्वभौमसत्तालाई सबल बनाउन सक्दैनौँ । 

हामी अन्तर्राष्ट्रिय दृष्टिकोणले पनि सार्वभौम छौँ, संवैधानिक दृष्टिकोणले पनि सार्वभौम छौं भन्नुहुँदै सार्वभौमसत्ता सम्पन्न राष्ट्रका राजनीतिक दलले देशको सार्वभौमिकतालाई बलियो बनाउने गरी व्यवहार गर्नुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयो । 

नेपालको जलस्रोतको उपयोगिताको विषयमा निर्णय लिँदा  कोशी, गण्डक, टनकपुर सम्झौताबाट पाठ सिक्नुपर्ने उहाँले बताउनुभयो । महासचिव पोखरेलले भविष्य सुरक्षा गर्नको लागि इतिहासको समीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

नेपाल र भारतको सिमानामा नदीले धार परिवर्तन गर्दा पनि धेरै समस्या आएको बताउँदै  महासचिव पोखरेलले अब परम्परागत सीमाको होइन स्थायी सीमाको बारेमा बहस अघि बढाउनुपर्नेमा जोड दिनुभयो । 

सीमाको विषय नेपाली राजनीतिक दलको साझा विषय बन्नुपर्ने र यस्ता विषयमा राजनीतिक स्वार्थ राख्न नहुने धारणा उहाँले राख्नुभयो । 

सीमाका विषयमा कुरा उठाएकै कारण एमालेले पार्टी विभाजनदेखि सरकार छाड्नुपर्नेसम्मको स्थिति भोग्नुपरेको स्मरण गराउँदै महासचिव पोखरेलले सीमाको विषयमा सबै राजनीतिक दललाई एउटै डालोमा राखेर हेर्न नहुने बताउनुभयो । 

उहाँले भन्नुभयो– नेपालको सार्वभौमसत्ता, जलस्रोत उपयोग र सिमानाको प्रश्नमा नेपालका राजनीतिक दल र नेपाली समाज एक ठाउँमा उभिनु पर्दछ । 

नेपाललाई समृद्ध बनाउने आधार जलस्रोत भएको र यसमा नेपाली जनता पहिलो हकदार हुन् भन्ने कुरा बिर्सन नहुनेमा उहाँले जोड दिनुभयो । महासचिव पोखरेलले भन्नुभयो– व्यापार प्राथमिकता होइन, उपयोग प्राथमिकता हो । 

हिमालबाट बगेका नदी तराईको भूमि सिँचाइको लागि उपयोग गर्नुपर्छ भन्ने मान्यतालाई पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले स्थापित गरेको महासचिव पोखरेलले बताउनुभयो । अध्यक्ष ओली नेतृत्वको सरकारका पालामा बबई–भेरी डाइभर्सन र सुनकोसी–मरिण डाइभर्सनको काम अघि बढेको उहाँले स्मरण गराउनुभयो । 

नेपालको योजनाबद्ध विकास र सार्वभौमसत्ता रक्षामा टङ्कप्रसाद आचार्यको भूमिका उल्लेख्य रहेको बताउँदै उहाँलाई सम्झँदा नेपालको सार्वभौमसत्तालाई बलियो बनाउने आधार प्राप्त हुने महासचिव पोखरेलले स्पष्ट पार्नुभयो ।