सिन्धुली । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेका नेताकार्यकर्ता समाज परिवर्तनको काममा लाग्नुपर्ने बताउनुभएको छ । 

नेकपा (एमाले) सिन्धुलीको आठौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई बुधबार सिन्धुलीमाढीमा सम्बोधन गर्दै महासचिव पोखरेलले राजनीतिक परिवर्तनभन्दा समाज परिवर्तनको काम महत्वपूर्ण र ठुलो भएको बताउनुभयो । 

उहाँले विचार नै शक्ति हो भन्ने कुरा बुझेर विचारबाट समाज परिवर्तनको काममा जुट्न निर्देशन दिनुभयो । 

महासचिव पोखरेलले नेपाली कांग्रेस परिवर्तन विरोधी शक्ति भएको बताउनुभयो । नेपाली कांग्रेस परिवर्तनको आन्दोलनमा सधैँ सँगै हुने गरे पनि उपलब्धिलाई संस्थागत गर्ने कुरामा भने सँगै उभिन नसकेको भनाइ उहाँले राख्नुभयो ।  

महासचिव पोखरेलले भन्नुभयो– जब परिवर्तनलाई संस्थागत गर्ने समय आउँछ, कांग्रेसले सदैव आफूलाई परिवर्तनका विरुद्धमा उभ्याउने गरेको छ । 

कांग्रेसले यो इतिहासलाई २००७, २०४६ र २०६३ मा पनि दोहोर्याएको र कांग्रेसले हरेक आन्दोलनलाई सम्झौतामा गएर टुङ्ग्याउने र परिवर्तनलाई संस्थागत हुन नदिने गरेको भनाइ महासचिव पोखरेलले राख्नुभयो । 

उहाँले माओवादी आन्दोलनले नेपाली समाजमा परिवर्तनको हलचल ल्याएको भए पनि आजको परिवर्तन शान्तिपूर्ण जनआन्दोलनबाट भएको हो भन्ने कुरा बिर्सन नहुने बताउनुभयो । 

यो परिवर्तनको बाहक नै माओवादी हो भन्ने भाष्य निर्माण गर्ने काम भएको भन्दै उहाँले त्यो सत्य नभएको धारणा राख्नुभयो । 

अहिले जनतामा निराशा बढेको बताउँदै महासचिव पोखरेलले जनतामा आशा जगाउन विगतमा भएका कमजोरी सच्याएर अघि बढ्नु पर्ने बताउनुभयो । अन्यथा नागरिकमा बढेको निराशा चिर्न नसकिने उहाँले स्पष्ट पार्नुभयो । 

देश बलियो बनाउन बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको बताउँदै महासचिव पोखरेलले त्यसका लागि एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने बताउनुभयो । त्यो सच्चाइलाई बुझेर पार्टी निर्माणको काममा लाग्न र आफूले लिएको जिम्मेवारी पुरा गर्न उहाँले नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । 

पार्टीको अधिवेशनका बेलमा तँछाडमछाड गर्ने तर बैठक बस्ने बेलामा कोरम नै नपुग्ने परिपाटीले पार्टी नचल्ने उहाँले स्पष्ट पार्नुभयो । जनताको बिचमा नेताहरूलाई स्थापित गर्नुको सट्टा नेतालाई खुइल्याएर पार्टी नबन्ने उहाँले बताउनुभयो । महासचिव पोखरेलले भन्नुभयो– नेतृत्वलाई जनताको बिचमा स्थापित गर्ने कुरा पार्टी निर्माणको महत्वपूर्ण विषय हो । 

कार्यक्रममा नेकपा (एमाले) बाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य गणेश पहाडी लगायतका नेताहरूले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।