बुटवल । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा गुटबन्दी देख्नु दृष्टिदोष मात्र भएको बताउनुभयो ।
नेकपा (एमाले) लुम्बिनी प्रदेश संगठन कमिटीको प्रथम अधिवेशनको उद्घाटन सत्रमा शनिबार शुभकामना मन्तव्य राख्दै महासचिव पोखरेलले उपाध्यक्ष विष्णु पौडेल र आफूलाई जोडेर आएक अनेकथरि समाचार मिथ्या भएको स्पष्ट गर्नुभयो ।
उहाँले भन्नुभयो– केही दिनदेखि कमरेड विष्णु पौडेल र मलाई जोडेर सञ्चार माध्यममा विभिन्न प्रकारका समाचार आएका छन्, ति हामीले पढेका छौं, हेरेका छौं तर एमालेमा गुटबन्दी छैन । हामी अध्यक्ष कमरेड केपी ओलीको नेतृत्वमा एकतावद्ध भएर अघि बढेका छौं ।
महासचिव पोखरेलले गुटबन्दीका सन्दर्भमा आएका समाचारलाई मिथ्या सावित गर्न जारी अधिवेशनलाई एकताको अधिवेशनको रूपमा रूपान्तरण गर्न सम्पूर्ण प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)मा पहिरो जाँदैछ भनेर भ्रम फैलाउने प्रयास गरेको वताउँदै महासचिव पोखरेलले भन्नुभयो– नेकपा (एमाले)मा होइन, अब माओवादीमा पहिरो जान जरूरी छ । देशभक्तहरू आउनुस् एमालेमा, विकास र समृद्धिको चाहना राख्नेहरू आउनुस् एमालेमा ।’
धेरै दलका कारण आज मुलुक अत्यन्त ठूलो सङ्कटबाट गुज्रिरहेको बताउँदै उहाँले मुलुकमा धेरै दल होइन बलिया दल हुनुपर्ने आवश्यकता रहेको भनाइ राख्नुभयो ।
उहाँले जबसम्म देशमा बलियो सरकार बन्न पाउँदैन तबसम्म जनताको समृद्धिको आकाङ्क्षा पूरा हुन सक्दैन भन्नुभयो ।
उहाँले माओवादी जनयुद्धका नाममा जातजातिका नाममा राज्य बाँड्ने माओवादीको प्रयासलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको पहलका कारण रोकिएको भन्दै अहिले फेरि मुलुकमा नयाँ ढङ्गले जातीय द्वन्द्व भड्काउने प्रयासमा प्रधानमन्त्री आफै लागेको बताउनुभयो ।
महासचिव पोखरेलले भन्नुभयो– एक प्रकारले भन्ने हो भने संविधान सभाका बेलाको जस्तै जातीय द्वन्द्व भड्काउने कुत्सित प्रयास भइरहेको छ ।