नेकपा (एमाले) का महासचिव शंकर पोखरेल समकालीन नेपाली राजनीतिमा वैचारिक स्पष्टता, प्रखर वक्तृत्व क्षमता र सांगठनिक दक्षता भएका सीमित नेतामध्ये एक हुनुहुन्छ । मुलुकमा आर्थिक–सामाजिक रुपान्तरणको मौलिक चिन्तन र सिर्जनात्मक अवधारणा बोक्ने नेताका रुपमा परिचित पोखरेल एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादको कुशल व्याख्याताको रुपमा समेत चिनिनुहुन्छ । मुलुकमा सशस्त्र द्वन्द्व चर्किरहेको बेला त्यसको निकासका निम्ति संविधानसभाको निर्वाचन अपरिहार्य भएको तर्क राख्नुहुने पोखरेलले नेपालको आवश्यकता अनुसार लागू गर्नुपर्ने संघीय प्रणालीको मौलिक ढाँचा समेत प्रस्तुत गर्नुभएको थियो । सादा जीवनशैली, निष्कलंक छवि र अध्ययनशील नेताको परिचय बनाउनुभएका शंकर पोखरेललाई समकालीन नेपाली राजनीतिमा मुलुकलाई नेतृत्व दिनसक्ने दूरदृष्टि र दृढ संकल्प भएको दोस्रो पुस्ताको संभावनायुक्त नेताका रुपमा लिइन्छ ।
शंकर पोखरेलको जन्म विक्रम सम्वत २०१९ साल फागुन १५ गते हालको लुम्बिनी प्रदेश दाङ जिल्लास्थित तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ हाडिमेमा बुबा केशवराज शर्मा र आमा तिलकादेवीको कान्छो सन्तानका रुपमा भएको हो । आफ्नै गाउँमा प्रारम्भिक शिक्षा हाँसिल गर्नुभएका उहाँले दाङको तुल्सीपुरस्थित महेन्द्र मावि टारीगाउँमा एसएलसी परीक्षाको तयारी गर्दागर्दै मण्डले गुण्डागर्दी र प्रशासनिक दमनका कारण विद्यालय छोड्नु पर्यो। त्यसपछि भारतको बनारसबाट प्राइभेट परीक्षार्थीको रुपमा बोर्ड परीक्षा उत्तीर्ण गर्नुभयो । तत्पश्चात उहाँले बि.कम. सम्मको अध्ययन बनारसबाटै पुरा गर्नुभयो ।
बाल्यकालदेखि नै राजनीतिक चेतना राख्नुहुने उहाँ २०३५ सालबाट विद्यार्थी राजनीतिमा संलग्न हुनुभयो भने २०३६ सालको विद्यार्थी आन्दोलनमा संलग्न हुनुभयो । उहाँ २०३७ सालमा पहिलो पटक जेल पर्नुभयो । विद्यार्थी राजनीतिकै क्रममा पटक पटक पक्राउ पर्नुभएका उहाँले भारतमा अध्ययनरत छँदा अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियन गठन गरी प्रवासी विद्यार्थीहरुको हक हितको पक्षमा संघर्ष थाल्नुभयो । त्यही क्रममा उहाँ जननेता मदन भण्डारीको सम्पर्कमा पुग्नुभयो । मदन भण्डारीसँगको सम्पर्क र सम्बन्धले उहाँको राजनीतिक जीवनमा नयाँ मोड ल्यायो । नेता भण्डारीकै मार्गदर्शन र प्रेरणामा पोखरेल २०४२ सालमा नेपाल फर्किएर विद्यार्थी राजनीतिमा संगठित र क्रियाशील हुन थाल्नुभयो ।
अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनको प्रथम अध्यक्षलगायतको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नुभएका पोखरेलले नेपाल आएपछि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को वागमती अंचल कमिटिमा रहेर काम गर्नुभयो । त्यसपछि २०४५ सालमा उहाँ देशको सबैभन्दा ठूलो र प्रतिष्ठित विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति बन्नुभयो । त्रिविको स्ववियु सभापतिको रुपमा उहाँले विद्यार्थीको हकअधिकार, शैक्षिक सुधार र प्राज्ञिक स्वतन्त्रताका साथै राजनीतिक मुद्दामा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । विद्यार्थी नेताको रुपमा उहाँले चलाएको अभियान निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्रको स्थापनाका निम्ति बलियो आधार बनेको थियो । त्यसक्रममा विद्यार्थी समुदायका साथै विश्वविद्यालय तहमा स्थापित भएको लोकप्रियताले उहाँको सार्वजनिक छवि, विश्वासनीयता र राजनीतिक उचाइसमेत थपिँदै गयो ।
२०४६ सालमा पञ्चायती व्यवस्था अन्त्यका लागि भएको जनआन्दोलनमा विद्यार्थी फाँटबाट नेतृत्वदायी भूमिका खेल्नुभएका पोखरेल अनेरास्ववियुको उपाध्यक्ष हुँदै २०४७ सालमा माले–माक्र्सवादी एकतासँगै भएको नेप्रवियुुसँगको एकतापश्चात अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बन्नुभयो । उहाँ अध्यक्ष छँदा भएको स्ववियू निर्वाचनमा अनेरास्ववियुले उल्लेख्य सफलता हासिल गर्यो । विद्यार्थी नेताको रुपमा लोकप्रियता हाँसिल गर्नुभएका पोखरेल २०५१ सालमा प्रतिनिधि सभा सदस्यको जिम्मेवारीसँगै पार्टी राजनीतिमा क्रियाशील हुनुभयो । २०५४ सालमा तत्कालीन विद्यार्थी नेतृ सुजिता शाक्यसँग जनवादी विवाह गर्नुभएका पोखरेल दम्पत्तीका दुइ छोरी छन् ।
२०५१ सालमा भएको आमनिर्वाचनबाट नेकपा (एमाले) देशकै ठूलो राजनीतिक दलको रुपमा स्थापित भयो । मनमोहन अधिकारीको प्रधानमन्त्रीत्वमा प्रथम कम्युनिष्ट सरकार गठन भयो । पोखरेल त्यही अवधिमा पार्टीको प्रचार विभाग प्रमुख बन्नुभयो र सरकारलाई लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेल्नुभयो । एमालेको २०५४ सालमा नेपालगञ्जमा सम्पन्न छैठौं महाधिवेशनबाट केन्द्रीय सदस्य बन्नुभएका पोखरेल २०५९ सालमा जनकपुरमा सम्पन्न सातौं महाधिवेशनबाट पुनः केन्द्रीय सदस्य हुनुभयो । २०६५ सालमा वुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट सचिवमा निर्वाचित पोखरेल २०७१ मा सम्पन्न नवौं महाधिवेशनपछि पार्टी स्थायी समिति सदस्यको भूमिकामा रहनुभयो ।
३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पोखरेलले संसदमा जनसरोकारका विषयलाई जोडदार ढंगले उठाउनु भयो । मुलुकमा सशस्त्र द्वन्द्व उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र राजनीतिक निकासको पक्षमा जनमत सिर्जना गर्न उहाँले माओवादी हिंसाबाट अति प्रभावित राप्ती अञ्चलका पहाडी जिल्लाहरु रुकुम, रोल्पामा शान्ति पदयात्राको नेतृत्व गर्नुभयो । २०५९ माघमा जनकपुरमा भएको एमालेको सातौं महाधिवेशनमा उहाँले अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव लैजानु भयो । संविधान सभामार्फत् राजनीतिक निकास खोज्नुपर्छ र गणतन्त्रतर्फ अग्रसर हुनुपर्छ भन्ने पोखरेलकोे दस्तावेजलाई त्यतिबेला पार्टीले स्वीकार गरेन । यद्यपि उहाँले प्रयास छोड्नुभएन । २०६० सालमा ’संविधानसभा, राज्यको पुनर्संरचना र समावेशी लोकतन्त्र’ नामक पुस्तक लेखेर मुलुक संघीयतामा जानुपर्ने प्रष्ट दृष्टिकोण अघि सार्नुभयो र पार्टीलाई राज्य पुनर्संरचनाको पक्षमा उभ्याउन भूमिका खेल्नु भयो । अन्ततः पार्टी पोखरेलको बैचारिक लाइनमा अघि वढ्यो ।
२०६२/२०६३ को जनआन्दोलनमा देशको राजधानी काठमाडाँैमा आन्दोलनको नेतृत्व गर्नुभएका पोखरेल पहिलो पटक गणतन्त्रको पक्षमा त्रिचन्द्र क्याम्पसमा आयोजना गरिएकोे खुला कार्यक्रमको प्रमुख वक्ता हुनुहुन्थ्यो । जहाँ उहाँले गणतन्त्रको पक्षमा उभिन सबैमा आह्वान गर्नुभएको थियो ।
२०६१ माघ १९ गते शाही कू मार्फत प्रजातन्त्रको अपहरण गरी लादिएको निरंकुश शाहीसत्ता २०६२/२०६३ को जनआन्दोलनको बलमा अन्त्य भयो । २०६३ वैशाख ११ गते मुलुकमा लोकतन्त्रको स्थापना भयो । २०६३ मंसिर ५ गते बृहत शान्ति संझौतासँगै दस वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्य भयो । २०६४ चैतमा संविधानसभाको निर्वाचन सम्पन्न भयो । २०६५ जेठ १५ गते संविधानसभाको पहिलो वैठकसँगै औपचारिकरुपमा राजतन्त्रको अन्त्य भई मुलुक गणतन्त्रको नयाँ युगमा प्रवेश ग¥यो । संविधानसभाको गठन भएपनि संविधान निर्माणको कार्य सहजरुपमा अघि बढ्न सकेन । मुलुक संक्रमणकालीन राजननीतिक जटिलतामा फस्दै गयो । पहिलो संविधानसभाबाट सबैभन्दा ठूलो दल बनेको नेकपा (माओवादी) सरकार सञ्चालनमा असफल भएपछि २०६६ सालमा नेकपा (एमाले) को नेतृत्वमा नयाँ सरकार गठन भयो । संविधानसभा सदस्यसमेत रहनुभएका पोखरेल सूचना तथा सञ्चार मन्त्री बन्नुभयो । त्यस क्रममा नेपाल सरकारको प्रवक्तासमेत रहनुभएका उहाँले संक्रमणकालीन राजनीतिक जटिलताको व्यवस्थापनका साथै नेपाल सरकारको सेवा प्रवाह, सूचना प्रविधिको पहुँच विस्तार एवं मन्त्रालय र अन्तर्गतका निकायको संस्थागत विकासमा महत्वपूर्ण योगदान गर्नुभयो । नेपालले स्पेसको अधिकार गुमाएको अवस्थामा उहाँकै पालामा स्पेसको गुमेको अधिकार फिर्ता ल्याउने काम भयो । नेपालको आकाशमा विदेशी च्यानलको निर्वाध प्रवेशलाई नियन्त्रण र व्यवस्थापन गर्न कानुन बन्यो । यस्तै नेपाल टेलिकमको डाटाको प्रयोगमा जोड दिने र सूचना महामार्गको विकासको अवधारणा पनि सोही समयमा अघि बढाइयो । फलतः नेपालले दूरसञ्चारको क्षेत्रमा महत्वपूर्ण फड्को मार्न बलियो आधार बन्यो ।
पहिलो संविधान सभा संविधान जारी गर्न असफल भएपछि २०७० सालमा सम्पन्न निर्वाचनबाट गठित दोस्रो संविधानसभाले २०७३ असोज ३ गते नयाँ संविधान जारी गर्यो । नयाँ संविधानबमोजिम संघीय प्रणालीअन्तर्गत २०७४ मंसिरमा सम्पन्न निर्वाचनमा पोखरेल दाङ क्षेत्र नम्वर २ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभयो । त्यसपछि उहाँ तत्कालीन प्रदेश नं. ५ हालको लुम्बिनी प्रदेशको पहिलो मुख्यमन्त्री बन्नुभयो । मुलुकमा पहिलोपटक स्थापित प्रदेश संरचनाप्रति जनअपेक्षा अत्यधिक थियो भने पूर्वाधार, शासकीय अनुभव र स्रोतसाधनका दृष्टिले चुनौतीको पहाड खडा थियो । मुख्यमन्त्रीको हैसियतमा शून्यको अवस्थाबाट कार्यप्रारम्भ गर्नुभएका पोखरेलले समृद्ध प्रदेश, खुशी जनताको लक्षका साथ नागरिकमा सेवा प्रवाह, विकास निर्माण, समृद्धि र सुशासनको क्षेत्रमा उल्लेख्य योगदान गर्नुभयो । हरेक प्रदेशका लागि सबैभन्दा प्रमुख चुनौती प्रदेशको नामकरण र राजधानीको निर्धारण थियो । यद्यपि उहाँको कुशल नेतृत्वकै कारण निरन्तरको छलफल र बहसको प्रक्रियाद्वारा तीनवटा आञ्चलिक मनोविज्ञानलाई जोडेर एउटा साझा मनोविज्ञान तयार गरी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्यका र प्रदेशको नाम लुम्बिनी राख्न संभव भयो । संस्थापक मुख्यन्त्रीको रुपमा संघीय प्रणालीको जग बसाउन सफल पोखरेलले पार्टीको लोकतान्त्रिकरणका साथै राष्ट्रिय जीवनमा पनि उल्लेखनीय योगदान पुर्याउनुभएको छ ।
उहाँले नेकपा (एमाले) को २०६५ फागुनमा बुटवलमा सम्पन्न आठौँ महाधिवेशनमा पार्टी जीवनको लोकतान्त्रिकरण सम्बन्धमा पुरक प्रस्ताव पेश गर्नुभयो । जसलाई महाधिवेशन प्रतिनिधिहरुले सर्वसम्मत रुपमा स्वीकार गरेपछि एमाले बहुपदीय प्रणालीमा गएको हो । यस्तै २०७१ असारमा काठमाडौंमा सम्पन्न पार्टीको नवौं महाधिवेशनमा उहाँले प्रस्तुत गर्नुभएको मुलुकको आर्थिक–सामाजिक विकास र रुपान्तरणसम्बन्धी अवधारणा अर्को महत्वपूर्ण दस्तावेज बन्न पुग्यो । राष्ट्रिय राजनीतिका प्रमुख मुद्दाहरुमा पार्टी दृष्टिकोण निर्माण गर्न पोखरेलले निरन्तर नेतृत्वदायी भूमिका खेल्नु भएको छ । नेकपा (एमाले) र माओवादी केन्द्रको एकीकरणपछि गठित नेकपामा उत्पन्न मतभेदलाई अन्त्य गरी पार्टी एकतालाई अक्षुण्य राख्न उहाँले निरन्तर संवादमा रही अथक प्रयास गर्नुभयो । यद्यपि त्यो सफल हुन सकेन । तर, विभाजनको कठिन घडीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रत्यक्ष समन्वयमा रही पार्टीलाई थप क्षति हुनबाट जोगाउँदै बलियो शक्तिकारुपमा स्थापित गरिराख्न उहाँले निर्वाह गरेको व्यक्तिगत र सामूहिक भूमिका भने स्मरणीय रहेको छ ।
त्रिभुवन विश्वविद्यालयबाट एम.बि.ए. तहको अध्ययन पुरा गर्नुभएका पोखरेल भू–राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेतामध्ये एक हुनुहुन्छ । लामो समय पार्टी स्कुल विभागको जिम्मेवारीमा रहेर पोखरेलले पार्टी कार्यकर्तालाई प्रशिक्षित गर्नुभएको छ । पोखरेल पार्टीमा प्रष्ट बैचारिक दृष्टिकोण, राजनीतिक अडान र कार्यशैलीमा एकरुपता कायम गर्नसक्ने सिमित नेताहरुमध्ये एक हुनुहुन्छ । पोखरेलका राजनीतिक, बैचारिक र समाजका विविध क्षेत्रका विषय समेटिएका थुप्रै पुस्तक र लेख रचनाहरु प्रकाशित छन् । उहाँले साहित्य सृजनातर्फ पनि उत्तिकै सक्रियताकासाथ कलम चलाउनु भएको छ । पोखरेलले युगलहर, सिमानापारिको हुङ्कार, राष्ट्रिय विकल्प, राष्ट्रिय सङ्कल्पलगायत पत्रिका र साहित्यिक रचना संग्रहको सम्पादन पनि गर्नुभएको छ । एक्काइसौं शताब्दी नामक वैचारिक पत्रिकाको प्रकाशन र सम्पादनमा समेत उहाँको नेतृत्वकारी भूमिका रहेको थियो । केन्द्रीय कमिटीको सदस्य समेत नभएको अवस्थामा उहाँले पार्टीको प्रचार विभाग प्रमुख र पार्टीको मुखपत्र नवयुगको प्रधान सम्पादकको जिम्मेवारी समेत बहन गर्नुभएको थियो । पटक पटक जेल र दर्जनौं पटक हिरासतमा रहेर राजनीतिक स्वतन्त्रता, जनहित र समानताको पक्षमा संघर्ष गर्नुभएका पोखरेल समग्र नेपालको आर्थिक विकासको खाका कोर्न सक्ने सीमित नेताहरु मध्ये हुनुहुन्छ ।
नेकपा (एमाले) का लोकप्रिय नेता शंकर पोखरेल २०७८ मंसिरमा चितवनमा सम्पन्न पार्टीको दशौँ महाधिवेशनबाट सर्वसम्मतिले महासचिवमा चुनिनु भएको छ । देशको सबैभन्दा ठूलो राजनीतिक पार्टीको महासचिवको हैसियतमा उहाँले पार्टीको आन्तरिक संगठन सञ्चालन मात्र नभई राष्ट्रिय राजनीतिमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरिरहनुभएको छ ।
- सचिवालय