काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले संविधान दिवस जनता सार्वभौमसत्ता सम्पन्न भएको गौरवको दिन भएको वताउनुभएको छ । 

संविधान दिवसका अवसरमा आज राजधानीको नक्शालस्थित नन्दिकेशर बगैँचामा जनस्तरमा आयोजित विशेष कार्यक्रममा महासचिव पोखरेलले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा, जनताको बीचमा उल्लासपूर्ण वातावरणमा, उत्सवका रूपमा  मनाउनुपर्छ भन्ने मान्यताका आधारमा नन्दीकेशर बगैँचामा भेला भएको स्पष्ट गर्नुभयो । 

पार्टीका अध्यक्ष केपी शर्मा ओलीको संविधान दिवस, राष्ट्रिय दिवस भएको र राष्ट्रिय दिवस बन्द कोठाभित्र होइन, खुलारूपमा उल्लासपूर्ण वातावरणमा जनताका बीचमा मनाउनुपर्छ भन्ने मान्यताका आधारमा खुल्ला बगैँचामा आयोजना गरिएको महासचिव पोखरेलको भनाइ थियो ।  

मुलुकमा राजनीतिक अस्थिरता र अराजकताका कारण अहिले नेपाली जनताले संविधानले सुरक्षित गरेका अधिकार प्रयोग गर्न नपाइरहेको अवस्था रहेकाले नेकपा (एमाले) मुलुकमा बलियो राष्ट्रिय शक्ति निर्माण गरी जनतालाई अधिकार सम्पन्न बनाउन, संविधानले प्रत्याभूत गरेका हरेक अधिकार जनताले प्रयोग गर्नसक्ने वातावरण तयार गर्ने अभियानमा अगाडि बढिरहेको वताउनुभयो ।

‘नेपाली समाज अधिकारको लडाईंबाट आज विकास र समृद्धिको यात्रामा अगाडि बढ्दै गरेको र यस यात्रालाई अगाडि बढाउने सन्दर्भमा स्वाभाविक रूपमा मुलुकले नायकत्वको खोजी गरेको छ’ भन्नुहुँदै महासचिव पोखरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’का परिकल्पनाकार, पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष  केपी शर्मा ओलीले राष्ट्रको नायकका रूपमा जनताको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानको अगुवाई गरिरहनुभएको वताउनुभयो ।

उहाँले देशमा राष्ट्रिय शक्ति निर्माण गरी संविधानमा सुरक्षित गरिएका नागरिकका ३१ मौलिक अधिकार कार्यान्वयनको वातावरण बनाउनुपर्ने वताउनुभयो । 

उहाँले मुलुकमा विकास, समृद्धि र जनताका अधिकार कार्यान्वयनका लागि वातावरण बनाउन राष्ट्रिय शक्ति निर्माणमा जनताले साथ दिनुपर्ने वताउनुभयो । 

संविधान दिवसलाई राष्ट्रिय झण्डा दिवसका रूपमा पनि मनाउन थालिएको र अर्कोबर्ष यस दिवसमा नागरिकका घरघरमा राष्ट्रिय झण्डा फहराएर राष्ट्रिय पर्वका रूपमा मनाउनुपर्ने भनाइ महासचिव पोखरेलले राख्नुभयो । 



महत्वपुर्ण लिंकहरु