काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेको ध्यान सरकार परिवर्तनमा नभएर बलियो राष्ट्रिय शक्तिका रूपमा पार्टीलाई सुदृढ बनाउनेतर्फ केन्द्रित रहेको बताउनुभएको छ । 

सोमबार नेकपा (एमाले) बाग्मती प्रदेश संगठन कमिटीको प्रथम अधिवेशनको उद्घाटन समारोहमा अधिवेशन सफलताको शुभकामना दिनुहुँदै महासचिव पोखरेलले उक्त कुरा स्पष्ट गर्नुभएको हो । 

उहाँले देशको सङ्कटपूर्ण अवस्थामा एमालेले नेतृत्व गरिदिए हुन्थ्यो भन्ने आवाजहरू सुनिए पनि पार्टीको ध्यान सरकार परिवर्तनभन्दा पनि एमालेलाई बलियो शक्ति बनाउनतर्फ केन्द्रित रहेको बताउनुभयो ।  

नेकपा (एमाले) ले आफ्ना सबै काम मिसन–२०८४ लाई केन्द्रभागमा राखेर गरिरहेको र मिसन–२०८४ ले देशको भाग्य र भविष्य निर्माण गर्ने महासचिव पोखरेलको भनाइ छ । 

महासचिव पोखरेलले मुलुक चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको भन्दै यो सङ्कटबाट मुलुकलाई बाहिर निकाल्न एमालेबाहेक अरू कसैले नसक्ने बताउनुभयो । 

उहाँले मुलुकले राजनीतिक परिवर्तनमा सफलता प्राप्त गरे  पनि सामाजिक परिवर्तन हुन नसकेको र सामाजिक परिवर्तनका लागि राजनीतिक अस्थिरता बाधक भएको बताउनुभयो ।

महासचिव पोखरेलले २०४६ सालको जनआन्दोलनपछिको राजनीतिक परिवर्तनयताको अवधिमा मुलुकले २८ जना प्रधानमन्त्री  पाएको र एउटा प्रधानमन्त्रीले सवाबर्ष पनि काम गर्न नपाएको यथार्थ प्रस्तुत गर्दै यस्तो अवस्थाले देश कसरी बन्छ ? भन्नुभयो । उहाँले देश विकासका लागि राजनीतिक स्थायित्व चाहिने हँुदा धेरै दल होइन, ठूला र बलिया दलको आवश्यकता औल्याउनुभयो । 

मुलुकलाई विकास र समृद्धितर्फ अगाडि बढाउनका लागि राजनीतिक अस्थिरतामाथि विजय हासिल गर्नेपर्ने उहाँको भनाइ छ । 


महत्वपुर्ण लिंकहरु