सुर्खेत ।  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारबाट देश र जनताका हितमा कुनै काम होला भनेर  आशा गर्नु व्यर्थ हुने वताउनुभएको छ । 

नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको पहिलो अधिवेशनलाई बुधबार सुर्खेतमा सम्बोधन गर्दै महासचिव पोखरेलले सरकार आयु लम्ब्याउने ध्याउन्नमा मात्र केन्द्रित रहेको वताउनुभयो । 

उहाँले भन्नुभयो–देशमा महङ्गी आकाशिएको छ, नागरिकमा निराशा बढेको छ, आर्थिक रूपमा देश सङ्कटग्रस्त अवस्थामा छ तर वर्तमान गठबन्धन सरकार आफ्नो आयु लम्ब्याउनका लागि अनेक खाले हत्कण्डा प्रयोग गर्नमा केन्द्रित छ ।

महासचिव पोखरेलले यो सरकारबाट हामीले आशा गर्नु भनेको मुर्खता हुने वताउनुभयोे ।

अध्यक्ष केपी शर्मा ओली बाहेक अरूले देशलाई समृद्धिको युगमा अगाडि बढाउन नसक्ने बताउँदै महासचिव पोखरेलले एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूपमा विकास गरिने दृढता व्यक्त गर्नुभयो । 

‘हामीले राष्ट्र निर्माणको नेतृत्व गरिरहेका बेला सबै मिलेर सरकारबाट हटाएको र एमाले नेतृत्वमा नहुँदा समाजमा वितृष्णा जागेको छ’, चर्चा गर्दै आज एमालेविरूद्ध चौतर्फी घेराबन्दी गरिए पनि आगामी निर्वाचनमा बहुमत प्राप्त गरी एमाले एक्लैले सरकारको नेतृत्व गर्नेगरी विभिन्न अभियानहरू सञ्चालन गरिरहेको उहाँले स्पष्ट गर्नुभयो । 

पार्टीले तय गरेको मिसन २०८४ को लक्ष्यमा पुग्न सबै नेताकार्यकर्ताहरू लाग्नुपर्ने उहाँको भनाइ छ । 

चौतर्फी घेराबन्दी हुँदापनि गएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ४४ जिल्ला र छ प्रदेशमा जनताले एमालेलाई पहिलो पार्टीका रूपमा मत दिएको उल्लेख गर्दै महासचिव पोखरेलले जनताको लोकप्रिय पार्टी हुँदापनि संघ र प्रदेशमा प्रतिपक्षमा बस्नु परेकाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को  गन्तव्यमा पुग्ने गरी काम गर्नबाट बन्चित भएको वताउनुभयो  । 

अब प्रदेशहरूका अधिवेशनबाट संगठनात्मक रूपमा सुदृढ र देशको समृद्धिको नेतृत्वदायी र राष्ट्रवादको पहरेदारका रूपमा एकताको सन्देश दिँदै पार्टीले भविष्यको सङ्कल्प गर्नुको विकल्प नभएको वताउँदै उहाँले भन्नुभयो– हामीले शुरु गरेको मिशन ८४ मा सबै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा ५१ प्रतिशतको परिणाम ल्याउने गरेर लाग्ने दृढसङ्कल्पका साथ एमालेको नेतृत्व र संगठन तयार पार्नुपछ ।

महासचिव पोखरेलले प्रत्येक वडामा ५१ प्रतिशतको लक्ष्यका साथ काम अघि बढाउन कर्णालीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । 

महत्वपुर्ण लिंकहरु