विराटनगर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेले पहिचानलाई राष्ट्रिय शक्तिका रूपमा अघि बढ्न चाहेको वताउनुभएको छ ।
नेकपा (एमाले) कोशी प्रदेश कमिटीको शुुक्रबार (२०८० असोज १२ गते) विराटनगरमा शुरू भएको प्रथम अधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्नुहुँदै महासचिव पोखरेलले नेपाली समाजको बहुजातीयता, बहुभाषिक, बहुसाँस्कृतिक विशेषतालाई एमालेले सदैव सम्मान गर्दै आएको स्पष्ट गर्नुभयो ।
उहाँले जातजातका नाममा नेपाली समाजलाई विभाजित गर्र्ने, क्षेत्रीयताका नाममा नेपाली समाजलाई कमजोर पार्न खोज्ने प्रवृत्तिलाई चिर्नु आवश्यक छ भन्नुभयो ।
महासचिव पोखरेलले भन्नुभयो– हामी मौकिल संस्कृतिहरूको जगेनाका पक्षमा छौँ, पहिचानलाई हामी राष्ट्रिय शक्तिका रूपमा प्रयोग गर्न चाहन्छौँ तर त्यसलाई अतिवादका नाममा राष्ट्रलाई कमजोर पार्ने, समाजलाई विभाजित गर्ने प्रवृत्तिहरूमाथि भने खवरदारी गर्नुपर्छ ।
उहाँले पहिचानका नाममा कोशी प्रदेशमा एमालेमाथि प्रहार भएको बताउनुभयो । महासचिव पोखरेलले जब जब एमाले सरकारमा हुन्छ पहिचानको आन्दोलन हुने र नहँुदा नहुने कुरा एमालेमाथिको आग्रह हो भन्नुभयो ।
एमालेले पहिचानलाई अतिवादका रूपमा नभई राष्ट्रिय तागतका रूपमा लिएर अघि बढ्न चाहेको उहाँको भनाइ छ । अहिले मुलुकलाई जातीय तथा धार्मिक अतिवादका नाममा अस्थिरतातर्फ धकेल्ने काम भइरहेको महासचिव पोखरेलले बताउनुभयो ।
उहाँले पुराना पार्टीहरूको विकल्पका नाममा पपुलिष्ट शक्तिहरू देखापरे पनि उनीहरूले समृृद्धिको आकांक्षा पूरा गर्न नसक्ने धारणा राख्नुभयो ।
एमालेविरुद्ध चौतर्फी घेराबन्दी र नेतृत्वविरुद्ध आक्रमण भइरहेको वर्तमान अवस्थामा स्वाभाविक रूपमा पार्टीलाई एकताबद्ध गर्दै नेतृत्वको रक्षा गर्नुपर्ने महत्वपूर्ण अभिभारा एमालेजनमा रहेको उहाँले वताउनुभयो ।
महासचिव पोखरेलले भन्नुभयो– जननेता मदन भण्डारी, अध्यक्ष केपी शर्मा ओली र प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको जन्मभूमि रहेको कम्युनिष्टहरूको उर्वरभूमि कोशी प्रदेशमा कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशामा अगाडि बढाउने सन्दर्भमा कोशी प्रदेशले अग्रसरता र पहलकदमी लिनुपर्छ ।
लोकप्रिय मतमा पहिलो भएर प्रतिपक्षमा बस्नुपरे पनि अब प्रतिपक्ष भएका कारण देश र जनताका समस्या टुलुटुलु हेरेर बस्ने छूट एमालेलाई नभएको भन्दै महासचिव पोखरेलले एमालेलाई बलियो राष्ट्रिय शक्ति स्थापित गरेर मुलुकको विकास र समृद्धिको नेतृत्व गर्नुपर्ने आवश्यकता छ भन्नुभयो ।
उहाँले भन्नुभयो– हामी कमरेड केपी शर्मा ओलीको नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न चाहन्छौँ । कोशी प्रदेशको अधिवेशनले त्यो अभियानलाई अगाडि बढाउनसक्ने नेतृत्व निर्वाचित गर्न सकोस् ।
महासचिव पोखरेलले अधिवेशनले समाजमा आज जुन प्रकारको निराशा उत्पन्न भएको छ त्यसलाई चिरेर कोशी प्रदेशका जनतालाई आश्वस्त र भविष्यप्रति आशावादी बनाउनसक्नुपर्ने वताउनुभयो ।