काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय राजनीति चुनौतीपूर्ण र सङ्कटग्रस्त रहेको बताउनुभएको छ ।  

नेकपा (एमाले) उपत्यका प्रदेश विशेष कमिटीको प्रथम अधिवेशनको उद्घाटन समारोहलाई शुक्रबार (२०८० असोज १९ गते) काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले ती चुनौती सामना गर्न नेकपा (एमाले)लाई सुदृढ गर्न आवश्यक रहेको बताउनुभयो ।

राजनीतिक अस्थिरता देशको अहिलेको प्रमुख चुनौती रहेको पोखरेलको भनाइ छ । देश बन्न नसक्नुको प्रमुख कारण राजनीतिक अस्थिरता भएको उहाँले प्रष्ट पार्नुभयो । एमालेलाई एक्लै बहुमत प्राप्त गर्ने शक्तिको रूपमा विकास गर्न अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो–राजनीति अस्थिरता हाम्रा लागि अभिशाप बनिरहेको छ ।

समाजमा उत्पन्न सामाजिक अराजकता आजको अर्काे ठुलो चुनौती रहेको पोखरेलले बताउनुभयो । नेपाल राष्ट्रलाई कमजोर बनाउन यस्ता क्रियाकलाप भएको उहाँले प्रष्ट पार्नुभयो । नेपाली समाजलाई कमजोर बनाउनको लागि धार्मिक, जातीय र सांस्कृतिक द्वन्द्व फैलाउने प्रयास भइरहेको पोखरेलको भनाइ छ । 

नेपाललाई सामाजिक सुरक्षामा आधारित लोककल्याणकारी राज्य बनाउने एमालेको अभियानलाई असफल बनाउन अदालतको सहारा लिएर एमाले नेतृत्वको सरकार ढाल्ने काम गरिएको उहाँले  बताउनुभयो । एमाले जनताको जीवन सुरक्षा, देशको विकास, समृद्ध र राष्ट्रियताको पक्षमा गरेको काम देखेर एमालेलाई नियोजित रूपमा विभाजन गर्ने काम गरिएको भनाइ महासचिव पोखरेलले राख्नुभयो । 

गठबन्धन सरकारले जनता र राष्ट्रलाई कुनै सकारात्मक सन्देश दिन नसकेको महासचिव पोखरेलले बताउनुभयो । सरकार साधारण खर्च समेत धान्न नसक्ने अवस्थामा पुगेको उहाँको भनाइ छ । समाजवादका नाममा दलाल पुँजीपतिहरूलाई संरक्षण गर्ने काम गठबन्धन सरकारले गरिरहेको उहाँले बताउनुभयो । 

नेकपा (एमाले)मा विभाजन ल्याउन नेताहरूको नाम जोडेर सामाजिक सञ्जालमा अनर्गल प्रचार गरिएको पोखरेलले बताउनुभयो । पार्टीभित्र नेतृत्वका लागि प्रतिस्पर्धा गर्दा प्यानल बनाई लिष्ट बाँड्ने काम नगर्न र त्यसबाट पार्टीमा विभाजनको बिउ नरोप्न उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो ।

महासचिव पोखरेलले देशलाई समृद्ध बनाउन युवा विदेश पलायन रोक्न अनिवार्य रहेको चर्चा गर्नुहुँदै युवालाई सिर्जनशील काममा लगाउन एमालेपङ्ती सक्रिय हुनुपर्ने बताउनुभयो । परिवर्तनलाई आत्मसात् गर्न नसकेको एउटा क्षेत्र कर्मचारी क्षेत्र रहेकाले कर्मचारी क्षेत्रलाई समयअनुरुप परिवर्तनउन्मुख बनाउने जिम्मेवारी एमालेका संगठनले गर्नुपर्छ, उहाँले भन्नुभयो । 

पार्टीभित्र अहिलेको समस्या सबैलाई पद पाउनैपर्ने चिन्तन भएको चर्चा गर्नुहुँदै महासचिव पोखरेलले भन्नुभयो– पार्टीभित्रका योग्य र क्षमतावान्ले नेतृत्व लिनुपर्छ, कामचोर र ठग प्रबृत्तिका व्यक्तिले नेतृत्वका लागि अघि सर्नु हुन्न । 

उहाँले को व्यक्ति सही हो भन्ने कुरा पार्टीकै नेता कार्यकर्तालाई जानकारी हुने हुनाले, योग्यलाई अघि सार्न र नेतृत्व सकेसम्म सर्वसम्मत चयन गर्न आग्रह गर्नुभयो । 

पार्टीको नेतृत्वमा आउनु भनेको देश बनाउने नेतृत्व गर्ने जिम्मेवारी पनि हो भन्नुहुँदै महासचिव पोखरेलले भन्नुभयो– सहमति गर्नु समुन्नत लोकतन्त्र हो, लोकतन्त्रको सही सदुपयोग गर्न सहमति र समन्वयको बाटो तय गर्नुपर्छ ।


महत्वपुर्ण लिंकहरु