दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धन सरकारका कारण देशमा राजनीतिक र आर्थिक सङ्कट सिर्जना भएको बताउनुभएको छ ।
नेपाल लोकतान्त्रिक थारु संघ लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको आज ( २०८० असोज २३ गते) दाङ घोराहीमा उद्घाटन गर्दै महासचिव पोखरेलले सरकारको असक्षमताको कारण मुलुक चरम आर्थिक सङ्कटमा परेको बताउनुभयो ।
उहाँले भन्नुभयो– अहिले मुलुकमा जुन प्रकारको सङ्कट उत्पन्न भएको छ, त्यो वर्तमान गठबन्धन सरकार र राजनीतिक अस्थिरताको कारणले हो ।
महासचिव पोखरेलले राजनीतिक अस्थिरताकै कारण सामाजिक अराजकता फैलिइरहेको र हाल देखापरिरहेको अराजकता माथि विजय प्राप्त नगरेसम्म देश अगाडि बढ्न सक्दैन भन्नुभयो ।
नेपालको भूमि र किसान आन्दोलनमा थारु समुदायको महत्वपूर्ण योगदान रहेको तथा संविधान निर्माणको समयमा एक मधेश एक प्रदेशको नारा लागिरहेको बेला त्यो स्वीकार्य नहुने थारु समुदायको अडान रहेको स्मरण गर्दै महासचिव पोखरेलले थारु समुदायको आन्दोलन र भाषा सँस्कृतिलाई अघि बढाउन नेकपा (एमाले)ले अगुवाइ गरेको बताउनुभयो ।
नेकपा (एमाले)ले थारु समुदाय लगायत नेपालका सबै वर्ग र समुदायको प्रतिनिधित्व गर्दै समृद्ध नेपाल निर्माणको अभिभारा बोकेर हिँडेको र त्यो पूरा हुन नदिने र अस्थिरता कायम गर्ने अनेक प्रयत्न भइरहेको भनाइ उहाँले राख्नुभयो ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को आकाङ्क्षा बलियो राष्ट्रिय शक्तिले मात्र पूरा गर्न सक्ने र त्यो शक्तिका रूपमा नेकपा (एमाले) लाई स्थापित गर्नुपर्ने आवश्यकता रहेको महासचिव पोखरेलले बताउनुभयो । उहाँले आउने निर्वाचनमा नेकपा (एमाले)को एकल बहुमतको सरकार बनाउनुपर्नेमा जोड दिनुभयो ।
महासचिव पोखरेलले नेकपा (एमाले)को मुख्य लक्ष्य पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने रहेको र अहिले सांगठानिक रूपमा सबै तहका अधिवेशनहरू सम्पन्न गरेर जनतामा जाने बताउनुभयो । अधिवेशनका क्रममा भएको लोकतान्त्रिक अभ्यासलाई गलत ढङ्गबाट व्याख्या गरी पार्टीमा तिक्तता उत्पन्न गराउन चाहने शक्तिहरूले चलखेल गरिरहे पनि एमालेलाई कमजोर बनाउन नसक्ने उहाँको भनाइ छ ।
महासचिव पोखरेलले देश सङ्कटबाट गुज्रिरहनुको मुख्य कारण नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार रहेको स्पष्ट पार्नुभयो । उहाँले कांग्रेस र माओवादीले अवलम्बन गरेको आर्थिक क्रियाकलापको परिणामले देश आर्थिक सङ्कटबाट गुज्रिरहेको बताउनुभयो ।
सङ्कटका मुख्य कारक कांग्रेस र माओवादी हुन भन्न नसक्नु एमालेका कार्यकर्ताको कमजोरी भएको भन्दै उहाँले समाजलाई बदल्न एमालेका नेता तथा कार्यकर्ताहरूलाई मौन नबस्न र सत्यका पक्षमा बहस गर्न निर्देशन दिनुभयो ।