सिन्धुली । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कोशी प्रदेशमा नयाँ सरकार गठनमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य केदार कार्कीलाई समर्थन गरेर एमालेले मध्यावधिमा जानबाट रोक्न सफल भएको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल सिन्धुलीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कोशीमा ठूलो दलको हैसियतमा शासन गर्ने अधिकार नेकपा (एमाले)लाई भए पनि गठबन्धन दलहरूले सरकार ढालेर सरकारबिहीनतातर्फ धकेलेपछि कांग्रेसका केदार कार्कीलाई समर्थन गरेर मुख्यमन्त्री बनाएको बताउनुभयो ।
महासचिव पोखरेलले एमालेलाई सत्तामा जाने हतारो नरहेको र नवनियुक्त मुख्यमन्त्री कार्की इमानदारीपूर्वक अगाडि बढेसम्म उहाँलाई एमालेको साथ रहने स्पष्ट गर्दै पार्टी सरकारमा जाने नजाने पनि कार्कीकै भूमिकामा भरपर्ने बताउनुभयो ।
संविधानमा भएको व्यवस्था र सर्वोच्च अदालतले गरेको पटक–पटकको फैसलाका विभिन्न नजिरहरूका आधारमा कोशीमा नयाँ सरकार गठन भएको उहाँले बताउनुभयो ।
वर्तमान सत्ता गठबन्धन असफल भएको परिप्रेक्ष्यमा कोशीले एउटा उदाहरण दिनुपर्ने भन्दै महासचिव पोखरेलले एमालेलाई सत्ताको चासो नभए पनि जनताको जनजीविकाको चिन्ता रहेको स्पष्ट गर्नुभयो । अहिले पनि जनताका समस्या समाधानमा सरकार केन्द्रित होस् र गठबन्धनले पूरा अवधि शासन गरोस् भन्ने एमालेको चाहना रहेको उहाँको भनाइ छ ।
नेकपा (एमाले) आगामी निर्वाचनमा राम्रो परिणामा ल्याउने रणनीतिअनुरुप पार्टीका विभिन्न अभियानहरूमा केन्द्रित रहेकाले सत्तामा चासो नरहेको उहाँले प्रष्ट पार्नुभयो ।
महासचिव पोखरेलले भन्नुभयो– अहिले हामीलाई सत्ताको कुनै हतारो छैन । हामी मिसन ८४ मा छौं । मात्रै चिन्ता जनताको समस्यालाई गठबन्धनले सम्बोधन गर्न सकेन भन्ने मात्रै हो ।
महासचिव पोखरेलले केन्द्रको राजनीतिमा कसरी अघि बढ्छ भन्ने कुरा कांग्रेसमा भर पर्ने बताउनुभयो ।