नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गठबन्धन सरकार असफल भइसकेको बताउनुभएको छ । दोलाखको पर्यटकीय नगरी जिरीमा प्रेस चौतारी नेपाल दोलखाले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले कोही गठबन्धनबाट बाहिर आउन चाहे एमालेले साथ दिने नीति लिएको बताउनुभएको छ । सोही नीति अनुसार एमालेले कोशी प्रदेशमा केदार कार्कीलाई समर्थन गरेको उहाँको भनाइ छ । नेपाली कांग्रेसले आफ्नो खुट्टामा उभिने सामर्थ्य जुटाउन नसक्दा देश राजनीतिक अस्थिरतामा फसेको महासचिव पोखरेलले बताउनुभयो । वर्तमान सरकारले कालोबजारी, तस्करीतन्त्र र कमिसनखोरीलाई बढवा दिँदा मुलुको वैधानिक अर्थतन्त्र कमजोर र अवैधानिक अर्थतन्त्र बलियो भएको बताउँदै उहाँले भन्नुभयो– तस्करीकै कारणले नेपाली बजारबाट रुपैयाँ पैसा गायव भएको हो । जुन कुरा सुन तस्करी काण्डबाट पुष्टी भएको छ । गठबन्धन सरकारका कारण यतिवेला मुलुक चरम आर्थिक सङ्कटमा परेर साधारण खर्च समेत जुटाउन नसक्ने अवस्थामा पुगेको र विकासका काम ठप्प भएको महासचिव पोखरेलको भनाइ छ । पछिल्लो समय धर्म र जातीका नाममा मौलिक संस्कृतिमाथि प्रहार भइरहेको भन्दै उहाँले मौलिक संस्कृतिको विघटन भइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । महासचिव पोखरेलले राष्ट्रिय हित प्रवर्द्धन र सुरक्षासमेत गम्भीर अवस्थामा पुगेको बताउनुभयो । छिमेकी चीनसँगको सम्बन्ध जुन तहमा विकास हुनुपर्ने हो त्यो कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल चुक्नुभएको उहाँको भनाइ छ । महासचिव पोखरेलले सङ्क्रमणकालीन न्यायको विषयमा सरकार र प्रधानमन्त्री दाहाल गम्भीर नरहेको बताउनुभयो ।