काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’बाट देशको समग्र विकासको खाका कोर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
नेकपा (एमाले)ले २०८० मङ्सिर १४ गतेदेखि शुरू गरेको पुष्पलाल मध्यपहाडी लोकमार्ग यात्रा अभियानको झुलाघाटमा विहीबार शुभारम्भका अवसरमा महासचिव पोखरेलले उक्त विश्वास व्यक्त गर्नुभएको हो ।
महासचिव पोखरेलले भन्नुभयो– झुलाघाट (बैतडी)–चिवाभञ्ज्याङ(पाँचथर) समृद्धिका लागि सङ्कल्प यात्राको उद्देश्य देशको मध्यपहाडी क्षेत्रलाई आर्थिक, सामाजिक दृष्टिकोणले नेपालको समुन्नत क्षेत्रका रूपमा विकसित गर्ने रहेको छ ।
हामी यो यात्रा समृद्धिको एउटा सङ्कल्प गर्न आरम्भ गरेका छौं । वास्तवमा भन्ने हो भने हामीले लामो समयसम्म झण्डै छ दशक राजनीतिक सङ्घर्षमा विताएका छौं । अब राष्ट्र निर्माणको यात्रा आरम्भ गर्नुपर्ने छ । स्वाभाविक रूपमा यो यात्राको नेतृत्व, अगुवाई हाम्रो पार्टीका अध्यक्ष, समृद्ध नेपाल सुखी नेपालीका परिकल्पनाकार केपी शर्मा ओलीले गर्नुहुने छ । हामी उहाँको नेतृत्वमा यात्रा क्रममा जनताका बीचमा पुग्ने छौं । जनतासँग सम्वाद गर्ने छौं । जनताका गुनासाहरू सुन्ने छौं । भ्रमहरू निवारण गर्ने छौं ।
पुष्पलाल लोकमार्गले ल्याएको परिवर्तन नजिकबाट नियाल्ने काम गर्ने छौं । भविष्यमा यस क्षेत्रको व्यावसायिक विकासका सन्दर्भका बारेमा सम्भावनाहरूको खोजी गर्ने छौं ।
यस यात्राका क्रममा पुष्पलाल मध्यपहाडी लोकमार्गको रोड अडिट पनि गरिने छ । यस लोकमार्गलाई छिटो छरितो यात्राको मार्ग बनाउनका लागि कहाँ कसरी छोट्याउन सकिन्छ अध्ययन हुने छ । यसलाई फाष्ट ट्रयाकका रूपमा विकास गर्ने सम्भावनाको खोजी गरिने छ ।
यतिवेला देशमा राजनीतिक अस्थिरता सिर्जना गर्नका लागि अनेकन प्रकारका गतिविधि, गलत प्रवृत्तिहरू देखा परिरहेका छन् । चाहे जातीय अतिवादका नाममा होस् वा धार्मिक, नेपालको मौलिक संस्कृतिमाथि प्रहार गर्ने काम भइरहेको छ । नेपालको मौलिक संस्कृति नेपालको राष्ट्रिय एकताको आधार हो । यसको संरक्षण गर्नु आवश्यक छ भन्ने कुरा पनि अभियानका क्रममा हामीले जनतासमक्ष राख्ने छौं ।
मुलुकलाई विकसित र समृद्ध बनाउने हो भने जनताको जीवनस्तर उठाउनु आवश्यक छ । विकास र समृद्धिको यात्रा पहाडतिर अगाडि बढ्ने तर पहाडका दिदीबहिनी दाजुभाइ पहाड छोडेर तराई र शहरतिर प्रवेश गर्ने बसाइसराइको जुन प्रवृत्ति छ, यो प्रवृत्तिलाई रोक्नका लागि यात्राका क्रममा अध्ययन गर्ने छौं । यो अभियान देश जोड्ने यात्रा हो । हामीले यस अभियानका निष्कर्ष अभियान सम्पन्न भएपछि काठमाडौंमा पुस ५ गते सार्वजनिक गर्ने छौं ।