पाँचथर । बैतडीको झुलाघाटबाट सुरू भएको नेकपा (एमाले) को मध्यपहाडी (पुष्पलाल) लोकमार्ग यात्रा अभियान पाँचथरको चिवाभञ्ज्याङमा पुगेर अत्यन्त उल्लासपूर्ण रूपमा सम्पन्न भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले २०८० मङ्सिर १४ गते झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी शुभारम्भ गर्नुभएको ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ २०८० पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सम्पन्न भयो ।
अध्यक्ष ओलीको नेतृत्वमा अगाडि बढेको यात्रा अभियान चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समापन भयो । समापनका अवसरमा अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुभएको थियो ।
समापन कार्यक्रममा सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले पार्टीले सम्पन्न गरेको समृद्धका लागि सङ्कल्प यात्रा सिङ्गो नेपालकै सङ्कल्प यात्रा बनेको बताउनुभयो ।
यो यात्रा कुनै पार्टी विशेषको यात्रा मात्र नभएको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– यो यात्रा एमालेको नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको अगुवाइमा आयोजना गरिएको भए पनि राष्ट्रको सङ्कल्प यात्रा बन्न पुगेको छ ।
यति बेला जनताले गठबन्धनको विकल्प खोजेको यात्राका क्रममा अनुभूत गरेको उहाँले बताउनुभयो ।
महासचिव पोखरेलले भन्नुभयो– यात्राका क्रममा हामीले मुलुकमा राजनीति परिवर्तनप्रति अनास्था र अविश्वास पैदा गर्ने प्रवृत्तिमाथि विजय हासिल गरेका छौँ, गठबन्धन सरकारका असफलता र अकर्मण्यताको विरुद्धमा जनताले सही विकल्पको चाहना राखेको हामीले अनुभूत गरेका छौँ ।
यात्राको क्रममा नेकपा (एमाले) र अध्यक्ष केपी शर्मा ओलीप्रति बालबालिकादेखि बृद्ध–बृद्धासम्मले उच्च सम्मान व्यक्त गरेको उहाँले बताउनुभयो । यात्राको क्रममा जनताको माया, सल्लाह र सुझाव ग्रहण गर्ने अवसर मिलेको भनाइ महासचिव पोखरेलले राख्नुभयो ।
लाखौँ लाख नेपाली जनतासँग प्रत्यक्ष संवाद गर्दै जनाताका अनुभव, समस्या र अपेक्षा बुझ्ने अवसर यात्राले दिएको उहाँले प्रष्ट पार्नुभयो । महासचिव पोखरेलले एमाले र केपी ओलीको नेतृत्वमा मुलुकले समृद्धिको यात्रा अघि बढ्छ भन्ने विश्वास यात्राको क्रममा जाहेर भएको बताउनुभयो ।
उहाँले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर समृद्धिका लागि सङ्कल्प यात्रा आरम्भ गरिएको र त्यस अर्थमा यात्रा पूर्ण रूपमा सफल रहेको बताउनुभयो ।
नेपालाई कमजोर बनाउने प्रवृत्तिका विरुद्ध जनतालाई एकताबद्ध बनाउने उद्देश्य पनि यात्राको माध्यमबाट सफल भएको महासचिव पोखरेलले बताउनुभयो ।
‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ नाराका साथ शुरू गरिएको यात्राका क्रममा अभियान टोली मध्यपहाडका वैतडी, डडेल्धुरा, डोटी, दैलेख जाजरकोट, सुर्खेत, रुकुम पश्चिम, रुकुम पूर्व, बाग्लुङ, गुल्मी, पर्वत, कास्की, लमजुङ, गोरखा, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम हुँदै पाँचथर पुगेको थियो ।
सो क्रममा अध्यक्ष लगायत यात्रा अभियानमा रहनुभएका नेताहरूलाई स्वागत गर्न हजारौँको सङ्ख्यामा नागरिकहरू ठाउँ ठाउँमा भेला भएका थिए, अभियानमा साथ र समर्थन जनाएका थिए ।
देशको मध्यपहाडी क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरूङ, विष्णु रिमाल, सचिवहरू लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुबीर महासेठ, पद्मा अर्याल, केन्द्रीय निकायका प्रमुखहरू, स्थायी कमिटी, पोलिटब्यूरो, केन्द्रीय कमिटी सदस्यहरू, आ–आफ्ना प्रदेशमा प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू सहभागी रहनुभएको यस यात्रामा देशभर हजारौंको सङ्ख्यामा पार्र्टीका सदस्यहरू, शुभेच्छ्ुक तथा सर्वसाधारण नागरिकको उत्साहजनक सहभागिता रहेको थियो ।