तम्घास । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनताले रोजेको शक्तिले शासन गर्न नपाएको कारण जनतामा निराशा बढेको बताउनुभएको छ ।
नेकपा (एमाले) गुल्मी जिल्ला कमिटीले तम्घासमा २०८० पुस २५ गते आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले गठबन्धनको नाममा जालझेल गरेर जनताले रोजेको शक्तिलाई बाहिर राख्ने काम भएको बताउनुभयो ।
लोकतन्त्रको यो कमजोरीलाई सच्याउने सामथ्र्य निर्माण गर्न आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । बलियो राष्ट्रिय शक्ति निर्माण गरेर मात्र जनताको निराशा चिर्न सकिने र देशलाई विकासको मार्गमा अघि बढाउन सकिने पोखरेलले प्रष्ट पार्नुभयो ।
अहिलेको जनादेशले मुलुकलाई स्थिरताको बाटोमा लैजान नसक्ने महासचिव पोखरेलले बताउनुभयो । उहाँले वर्तमान सत्ता गठबन्धन सबै हिसाबले असफल भएको धारणा राख्नुभयो । महासचिव पोखरेलले भन्नुभयो– यो गठबन्धन जनमतबाट पनि अस्वीकृत भइसकेको छ र कर्मद्वारा पनि असफल भइसकेको छ, यो सरकार रहिरहनु भनेको मुलुक बर्बादीतर्फ जानु हो ।
गठबन्धन सरकारले अराजकता र अस्थिरता अन्त्य गर्न नसक्ने चर्चा गर्दै नागरिकमा बढेका निराशा हटाउनको गठबन्धनसँग कुनै कार्यक्रम र योजना नरहेको उहाँले प्रष्ट पार्नुभयो ।
महासचिव पोखरेलले गठबन्धन सरकार निर्माणपछि मुलुक चरम आर्थिक मन्दीको अवस्थाबाट गुज्रिरहेको तथा सांस्कृतिक विघटनको क्रम पनि तीब्र रूपले बढेको बताउनुभयो ।
नेकपा (एमाले)ले मिसन ग्रासरुटबाट वडासम्मको पार्टीको अवस्था विश्लेषण गर्ने काम गरेको र त्यसैका आधारमा व्यवस्थित योजना बनाएर पार्टी अघि बढेको उहाँले प्रष्ट पार्नुभयो ।
नेकपा (एमाले)ले सम्पन्न गरेको पुष्पलाल मध्यपहाडी लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्राले मुलुकको राजनीतिलाई गलत बाटोमा लैजाने कार्यलाई ‘ब्रेक’ लगाइदिएको विश्लेषण उहाँले सुनाउनुभयो । महासचिव पोखरेलले भन्नुभयो– मुलुकलाई जातीय अतिवाद, धार्मिक अतिवाद तथा पश्चगमनतर्फ लैजाने प्रवृत्ति माथि सो यात्राले लगाम लगाइदिएको छ ।
मध्यपहाडबाट मानिसहरूको बसाइसराई नरोकिएको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । पूर्वाधार पहाड चढ्ने तर मानिस ओरालो झर्ने प्रवृत्तिलाई कसरी रोक्न सकिन्छ भनेर सो यात्रा आयोजना गरिएको उहाँले प्रष्ट पार्नुभयो । समृद्धिका लागि सङ्कल्प यात्रा एमालेको मात्र नभएर देशकै यात्रा भएको उहाँले बताउनुभयो । यात्रा क्रममा मध्य पहाडलाई कसरी मानिस बस्न लायक बनाउन सकिन्छ भन्ने कुरामा सबै क्षेत्रबाट पार्टीलाई सल्लाह सुझाव प्राप्त भएको उहाँले सुनाउनुभयो ।
यात्राको क्रममा मध्यपहाडको साँस्कृतिक विविधता पनि प्रकट भएको र साँस्कृतिक विशेषतालाई एउटै मालमा उन्ने काममा यात्रा सफल भएको महासचिव पोखरेलले बताउनुभयो ।
उहाँले सरकारका गलत क्रियाकलापको विरुद्ध जुटेर प्रतिवाद गर्नुपर्ने अवस्था आएको बताउनुभयो । प्रतिपक्षमा रहेको बेलामा पनि सबैको प्रहारको निशाना एमाले भएको र यस प्रहारका विरुद्ध एमाले एकताबद्ध र प्रतिबद्ध भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेकपा (एमाले) गुल्मी जिल्ला अध्यक्ष बालसिंह काउछाको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा पार्टीका उपमहासचिव तथा केन्द्रीय स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली, पोलिटव्यूरो सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज सूर्य थापा, केन्द्रीय सदस्यहरू दिनेश पन्थी, रचना खड्का, जङ्ग नेपाली, गणेश खनाल, केन्द्रीय सल्लाहकार कमलराज श्रेष्ठ, केन्द्रीय स्कुल विभाग सदस्य बद्री खनाल र अर्घाखाँची जिल्ला अध्यक्ष पिताम्बर भुसाल सहितका नेताहरूको आतिथ्यता रहेको थियो ।
यसैबीच उद्घाटन सत्र लगत्तै शुरू भएको प्रशिक्षणमा महासचिव पोखरेलले दशौँ महाधिवेशनको कार्यदिशा र जनताको बहुदलीय जनवाद विषयमा प्रशिक्षण दिनुभएको छ । तीन दिने प्रशिक्षणमा उपमहासचिव तथा केन्द्रीय स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली, पोलिटव्यूरो सदस्य सूर्य थापा, केन्द्रीय सदस्य दिनेश पन्थी, रचना खड्का, गणेश खनाल, सल्लाहकार परिषद्का सदस्य कमल श्रेष्ठ÷ केन्द्रीय सदस्य जङ्ग नेपाली, जिल्ला अध्यक्ष बालसिंह काउछा, फर्सु पाण्डे, राजेन्द्र अर्याल लगायत नेताहरू तथा विषय विज्ञहरूले प्रशिक्षण दिनुहुने छ ।
प्रशिक्षणमा दुईसय जनाको सहभागिता रहेको छ । गुल्मीमा यस अघि जिल्लास्तरीय र पालिका तहमा सबै (१२वटै) पालिकामा प्रशिक्षण सम्पन्न भइसकेका र यो प्र्रशिक्षण कार्यक्रमको १५औँ श्रृङ्खला भएको पोलिटव्यूरो सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज सूर्य थापाले बताउनुभयो ।