दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कोशी प्रदेशको नाम कोशी प्रदेश सभाले मात्र नभएर जनताले समेत अनुमोदन गरिदिएको बताउनुभएको छ ।
नेकपा (एमाले) दाङले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको बिहीबार उद्घाटन गर्दै महासचिव पोखरेलले नेकपा (एमाले)ले पुष्पलाल मध्यपहाडी लोकमार्गमा सम्पन्न गरेको समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा नागरिकले कोशी प्रदेशको नाम अनुमोदन गरेको बताउनुभयो ।
नामाकरणको विषयलाई लिएर एमालेलाई यात्राको क्रममा कोशी प्रदेशमा छिर्नै नदिने भनि सत्तारुढ दलले समेत गरेको प्रचारलाई जनसागर उर्लिएर चिरिदिएको भनाइ उहाँले राख्नुभयो ।
महासचिव पोखरेलले कोशी प्रदेशका सबै ठाउँमा भएका सभा र यात्राको क्रममा नागरिक सहभागिता ऐतिहासिक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो– डर, त्रास र धम्कीका बाबजुद यात्राको क्रममा सबैभन्दा ठुला सभा कोशी प्रदेशमा नै भए । जनताले आफ्नो सहभागिताद्वारा अतिवादमाथि असहमति जनाए, हाम्रा मान्यतालाई जनताले अनुमोदन गरिदिए, कोशी प्रदेशको नामाकरणको सन्दर्भमा एमालेलाई एक्लाउने खालको जुन प्रयत्न भएको थियो, सत्तामा भएकाले पनि आफैँ निर्णय गर्ने, आफैँ निर्णयबाट पछि हटी अतिवादलाई प्रवद्र्धन गर्ने जे काम गरिरहेका थिए, त्यस कामलाई गलत साबित गरिदिए ।
यात्राले देश विकासको नयाँ बहस सुरु गरेको महासचिव पोखरेलले बताउनुभयो । समृद्धिका लागि सङ्कल्प यात्रा मिसन–२०८४ को लागि महत्वपूर्ण आधार बनेको उहाँले बताउनुभयो । तर त्यसका सन्देश जनताका बिचमा कसरी लगिन्छ भन्ने कुराले पार्टी निर्माणको आधार तयार हुने उहाँले स्पष्ट पार्नुभयो । आफू प्रभावित भएको कुरालाई जनताको बिचमा सही ढङ्गले लैजान सके मात्र पार्टी बन्ने महासचिव पोखरेलले बताउनुभयो ।
सरकार असक्षम, नालायक र अकर्मण्य बनेको कुरा पनि जनताका बिचमा सही ढङ्गले पुर्याउनुपर्ने बताउँदै उहाँले भन्नुभयो– गठबन्धनका कारण देश समस्यामा परेको छ । प्रधानमन्त्री बाहिर जाँदा केही राम्रो काम गरेर आउँछन् भन्दा पनि के गडबडी गरेर आउँछन् भनेर चिन्ता लिने अवस्था रहेको महासचिव पोखरेलको भनाइ छ ।
जनतामा निराशा र युवा पलायन बढ्दै जानुको जड गठबन्धन हो भन्ने सच्चाइलाई जनताको बिचमा लैजान आवश्यक रहेको उहाँले बताउनुभयो । वर्तमान सरकारलाई जनताको जीवनको मूल्य समेत ख्याल नभएको र निहत्था युवाको हत्या गरेको महासचिव पोखरेलको भनाइ छ ।
सरकारका मन्त्री र गठबन्धन दलकै तर्फबाट हिंसा भड्काएर ललितपुर र सर्लाहीमा युवाको ज्यान लिने काम भएको उहाँले बताउनुभयो ।
भारतीय दूतावासलाई २० करोडसम्मका योजना आफूखुसी खर्च गर्न दिएर सरकारले गलत काम गरेको भन्दै महासचिव पोखरेलले यस्तो सरकारलाई कुर्सीमा बस्ने नैतिक अधिकार नभएको बताउनुभयो ।
आज मुलुकलाई कमजोर बनाउन चाहनेहरूले एमालेलाई बाधक ठानिरहेका र सबैको आक्रमणको केन्द्र एमाले नै भएको बताउँदै उहाँले मुलुकको अस्मिताको रक्षा र जनताको जीवन रक्षाको लागि अब नेकपा (एमाले) जाग्नु र उठ्नुपर्नेमा जोड दिनुभयो ।
तीनदिनसम्म चल्ने प्रशिक्षणको पहिलो दिन आज महासचिव पोखरेलले सहभागीहरूलाई ‘जनताको बहुदलीय जनवाद र दशौँ राष्ट्रिय महाधिवेशनको कार्यदिशा, कार्यभारका विषयमा प्रशिक्षण दिनुभयो ।
उद्घाटन सत्रमा पार्टीका पोलिटव्यूरो सदस्यहरू सुजिता शाक्य, नरुलाल चौधरी, शान्ता चौधरी, लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेल, केन्द्रीय सदस्यहरू चेतनारायण आचार्य, कोमल ओली, साजिता सिद्धिकी, केन्द्रीय लेखा आयोगका उपाध्यक्ष विष्णु पन्थी लगायतका नेताहरू अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
नेकपा (एमाले) दाङका अध्यक्ष हुकुम बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको सञ्चालन सचिव मनोहर बुढाथोकीले गर्नुभएको थियो ।
यसैबीच, नेकपा (एमाले) जिल्ला कमिटी दाङले रुकुम पश्चिममा भूकम्प पीडितहरूका लागि घरटहरा बनाएर फर्किएका कार्यकर्तालाई सम्मान गरेको छ । महासचिव पोखरेलले प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा उहाँहरूलाई सम्मान गर्नुभयो ।
महासचिव पोखरेल आजै नेकपा (एमाले) घोराही उपमहानगरपालिका वडा नम्बर १६ को वडा कमिटीद्वारा आयोजित माघी मिलन समारोहमा पनि सहभागी हुनुभयो ।