दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विकास र संगठन निर्माणको कामलाई एकैसाथ जोडेर लैजानुपर्ने बताउनुभएको छ । 

नेकपा (एमाले) दाङले आयोजना गरेको तीन दिने प्रशिक्षण कार्यक्रमको शनिबार समापन गर्दै महासचिव पोखरेलले पार्टीले गरेका विकासका कामको उचित प्रचार गर्न पनि सक्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो– विकासले मात्रै चुनाव जितिँदैन, विकाससँग संगठनलाई जोड्यो भने मात्र चुनाव जितिन्छ, विकास र संगठन सँगसँगै लिएर गयो भने मात्र चुनाव सहजै जितिन्छ ।

उत्पादनसँग जोडिएका मानिसहरूसँग राजनीतिक रूपमा जोडिनुपर्ने बताउँदै त्यसो भयो भने मात्र संगठन मजबुत हुने महासचिव पोखरेलले प्रष्ट पार्नुभयो । 

एमाले सरकारमा हुँदा जनताको जीवनमा परिवर्तन ल्याउने अनेक काम गरेको उहाँले बताउनुभयो । तर एमाले सरकारको पालामा भएका कामको पार्टीको तर्फबाट अझै उचित प्रचार हुन नसकेको हुँदा पार्टीका नेता कार्यकर्तालाई उक्त काममा लाग्न महासचिव पोखरेलले निर्देशन दिनुभयो । 

कम्तीमा एमालेको शासनकालमा भएका कामको स्वामित्व पार्टीले लिनुपर्नेमा उहाँले जोड दिनुभयो । 

महासचिव पोखरेलले नेकपा (एमाले) सरकारबाट हटेपछि विकासका धेरै काम रोकिएको र ठेक्का प्रक्रियामा गएका विकास योजना समेत गठबन्धन सरकारले रोकेको बताउनुभयो । 

आधारभूत तहका नागरिक जहाँ छन्, विकासको केन्द्र पनि त्यही बनाउनुपर्नेमा जोड दिँदै त्यहीँबाट त्यसले समाज निर्माणको लागि भूमिका खेल्ने उहाँले प्रष्ट पार्नुभयो । कार्यक्रममा महासचिव पोखरेलले तालिमका सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।


महत्वपुर्ण लिंकहरु