कठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले २०८१ साल पार्टीका लागि शुद्धीकरण र सुदृढीकरण बर्ष हुने बताउनुभएको छ ।
नेपाल खेलकूद महासंघ केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै महासचिव पोखरेलले नेकपा एकीकरणको समयमा पार्टी गम्भीर खालको संगठनात्मक अराजकतामा प्रवेश गरेको र पार्टी विभाजनपछि पनि त्यसका अवशेषहरू बाँकी रहेकाले शुद्धीकरण तथा सुदृढीकरण आवश्यक रहेको स्पष्ट गर्नुभयो ।
त्यसबेला पार्टीभित्र संगठनात्मक उदारता देखाउँदा मानिस औसरवादी भएको, आर्थिक अनुशासन कमजोर भएको, संगठनात्क पद्धति हराउन थालेको भन्दै महासचिव पोखरेलले पार्टीलाई सशक्त बनाएरमात्र राष्ट्रिय राजनीतिका चुनौती सामना गर्न सकिने बताउनुभयो ।
महासचिव पोखरेलले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता आज नेपालको राजनीतिको गम्भीर चुनौतीका रूपमा देखापरिरहेको बताउनुभयो ।
उहाँले अहिले समाजमा देखिएको निराशा र अराजकताले युवा विदेश पलायनलाई प्रबद्र्धन गरिरहेको बताउँदै देशको काम गर्ने युवा जनशक्तिलाई आफ्नो ठाउँमा बस्ने अवस्था निर्माण गर्नुपर्ने आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो– काम गर्ने उमेर समूहका युवा विदेश पलायन हुन्छन् भने देश कसरी बन्छ ?
उहाँले गठबन्धन सरकारको कारण देशको सार्वभौमसत्ता र स्वाधीनता जोखिममा परेको बताउनुभयो । महासचिव पोखरेलले भन्नुभयो– प्रचण्ड नेतृत्वको सरकारले देशको सार्वभौमिकता, सार्वभौमसत्ता र स्वाधीनतालाई खुम्च्याउने काम गरेको छ ।
एमाले सरकारमा रहेको बेला विकास र समृद्धिका अनेक आयोजना सुरु गरेको तर अहिले ती सबै योजनाको काम ठप्प भएको उहाँले बताउनुभयो ।
महासचिव पोखरेलले आज देशमा उत्पन्न भएका समस्या आजकै परिस्थितिमा समाधान गर्न नसकिने बताउँदै समस्या समाधानका लागि नयाँ विकल्प खोज्न आवश्यक रहेको धारणा राख्नुभयो ।
महासचिव पोखरेलले खेलकूद महासंघको अभिभारा र भूमिकाका सम्बन्धमा चर्चा गर्दै महासंघमा खेलाडीहरूलाई गोलबन्द गर्न र खेल क्षेत्रको विकासमा काम गर्न निर्देशन दिनुभयो ।
महासचिव पोखरेलले २०८४ सालको निर्वाचनमा एमालेको एकल बहुमत ल्याउने लक्ष्यका साथ पार्टीले मिसन–२०८४ भनिरहेको स्पष्ट गर्दै खेल क्षेत्रबाट पनि बहुमत मानिसको समर्थन प्राप्त गर्ने दिशामा महासंघले काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले महासंघका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई विचार, सिद्धान्त र राजनीतिक प्रश्नमा नियमित रूपमा अध्यावधिक गर्न आग्रह गर्नुभयो । महासचिव पोखरेलले खेलकूद महासंघ लगायत पार्टीका जनसंगठनहरूमा संगठनात्मक अराजकता देखिएका छन् भने त्यसमा विजय हासिल गर्नैपर्छ भन्नुभयो ।