काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसदीय राजनीतिक अभ्यासका क्रममा संसदमा गर्नुभएका सम्बोधनहरूको सङ्ग्रह ‘संसदमा केपी शर्मा ओली’ ग्रन्थका रूपमा प्रकाशित भएको छ । 

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सो ग्रन्थ लोकार्पण गर्नुभयो ।   

सो ग्रन्थमा अध्यक्ष ओलीले २०४८ सालदेखि २०७४ सालसम्म  संसदका २३ वटा अधिवेशनका १८३ वटा बैठकमा राख्नुभएका मन्तव्य रहेका छन् । करिव ९०० पृष्ठको सो विशाल ग्रन्थ सानुमैया खड्का (सविता) ले सम्पादन गर्नुभएको हो । 

ग्रन्थ लोकार्पण समारोहमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, राजनीतिक विश्लेषक नीलाम्बर आचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला, बरिष्ठ पत्रकार तथा समालोचक पुरुषोत्तम दाहाल, प्रा. डा. जगतप्रसाद उपाध्याय, प्रा.डा. हेमनाथ पौडेल र डा.कल्याण रोकाले अध्यक्ष ओलीको व्यक्तित्व, करिव तीन दशक लामो संसदीय अभ्यासका क्रममा उहाँले व्यक्त गर्नुभएका विचारका विविध पक्ष (देश, जनता, लोकतन्त्र, सुशासन, राष्ट्रियता, भाषा, संस्कृति लगायत)का बारेमा प्रकाश पार्दै ग्रन्थ प्रकाशनबाट ज्यादै कठिन र महत्वपूर्ण काम भएको मन्तव्य राख्नुभयो । 

उक्त कार्यक्रममा सम्बोधन गर्दै नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री हुँदा अध्यक्ष केपी शर्मा ओलीले विकासको रेखा कोर्ने काम गर्नुभएको र उहाँ राष्ट्र निर्माण र विकासको नायकका रूपमा स्थापित हुनुभएको बताउनुभयो ।  

एउटा नेता नायकका रूपमा कसरी बदलिन्छ भन्ने कुरा केपी ओलीको जीवनीबाट सिक्न सकिने भनाइ उहाँले राख्नुभयो । 

नेपालको लोकतन्त्र कस्ता कस्ता घटनाबाट गुज्रियो भन्ने कुरा पनि केपी ओलीको अभिव्यक्ति र जीवनीबाट बुझिने महासचिव पोखरेलले बताउनुभयो । सर्वसत्तावाद विरुद्धको सङ्घर्षमा खरो रूपमा उत्रिएको कारण केपी ओली नेताहरूको नेता बन्नुभएको उहाँको भनाइ छ ।  

अध्यक्ष ओलीले आफ्नो राजनीतिक जीवनमा कानुनी राज्य, मानवअधिकार, सुशासन र शान्ति सुरक्षाको पक्षमा दिएको अभिव्यक्तिले नेपालको लोकतन्त्रलाई कसरी अघि बढाउने भन्ने बाटो देखाएको महासचिव पोखरेलले बताउनुभयो । सरकारको नीति, कार्यक्रम र बजेट कस्तो हुनुपर्दछ भन्ने कुरा उहाँले संसद्मा स्पष्ट रूपमा राख्ने गर्नुभएको र आफू जिम्मेवारीमा पुग्दा आफ्ना दृष्टिकोण कार्यान्वयनमा अति इमान्दार देखिनुभएको उहाँले स्पष्ट पार्नुभयो ।  

सङ्क्रमणकालीन न्यायको सन्दर्भमा पनि अध्यक्ष ओली आफ्नो अडानमा स्पष्ट रहनुभएको महासचिव पोखरेलले बताउनुभयो । 

लिपुलेक, लिम्पियाधुरा नेपालको हो भनेर संसद्मा सो विषय भित्र्याउने पहिलो नेता केपी ओली नै भएको र आफ्नै प्रधानमन्त्री कालमा सो भूमि समेटिएको नक्सा प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन गराउनुभएको उहाँले स्मरण गराउनुभयो । देशको मिचिएको भूमिको रक्षा तथा परराष्ट्र नीतिमा अध्यक्ष ओली स्पष्ट रहेको महासचिव पोखरेलको भनाइ छ । 

माओवादीलाई हिंसाको राजनीतिबाट रूपान्तरण गरी शान्ति प्रक्रियामा ल्याउने काममा ओलीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उहाँले स्पष्ट पार्नुभयो । तर अहिले पनि माओवादी रूपान्तरण नभएको र त्यो उनीहरूको कमजोरी रहेको भनाइ महासचिव पोखरेलले राख्नुभयो । 

नेपाली समाजलाई विभाजित गर्ने प्रवृत्ति विरुद्धको लडाइँमा पनि केपी ओली खरो रूपमा उत्रिनु भएको उहाँले बताउनुभयो । हिमाल, पहाड, तराई, कोही छैन पराई भन्ने मूल मन्त्रका साथ केपी ओलीले देशलाई जोड्ने काम गर्नुभएको उहाँले  बताउनुभयो । 


महत्वपुर्ण लिंकहरु