काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले इलाम र बझाङमा भएका दुई उपनिर्वाचनको परिणामले बलियो राष्ट्रिय शक्ति बनाउनेतर्फ देश अगाडि बढेको सन्देश दिएको बताउनुभएको छ । नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आज रामेछाप जिल्ला कमिटी र रामेछाप–काठमाडौं सम्पर्क कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले उपनिर्वाचनमा एमालेको विजय र युवाहरूको एमालेमा आकर्षण राष्ट्रिय शक्ति निर्माणको यात्रा भएको बताउनुभयो । देश बनाउनका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको र त्यो सर्वस्वीकार्य राष्ट्रिय शक्ति नेकपा (एमाले) बन्नसक्छ भन्नुहुँदै महासचिव पोखरेलले भर्खर सम्पन्न पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा देशका प्रधानमन्त्रीसहित पूर्वप्रधानमन्त्रीहरू भेला गरेर त्यसका लागि राष्ट्रिय मनोविज्ञान निर्माण गर्न पार्टी पूर्णतः सफल भएको बताउनुभयो । महासचिव पोखरेलले युवा विदेश पलायन चिन्ताको विषय भएको बताउँदै युवामा विदेश पलायनको मानसिकता बदलेर राष्ट्र निर्माण लगाउनु आवश्यक छ भन्नुभयो । उहाँले देश बनाउनसक्ने दृष्टिकोण, योजना र सामथ्र्य एमालेसँग रहेको बताउँदै अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा भएको आर्थिक बृद्धिदरले त्यसको पुष्टि गर्ने बताउनुभयो । रामेछापको दोरम्बा र सुनापति विगतमा आन्दोलन र बलिदानको भूमिका रूपमा चिनिने स्मरण गर्दै महासचिव पोखरेलले त्यहाँका युवा आज एमालेमा समाहित भएबाट आगामी दिनमा रामेछापका पार्टीको विजय यात्रालाई बल पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नवप्रवेशीहरूलाई योग्यता र क्षमताका आधारमा उचित जिम्मेवारी दिन र पार्टी काममा सक्रिय बनाउन सम्बन्धित कमिटीका नेताहरूलाई ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा जनता समाजवादी पार्टीका सङ्घीय परिषद् सदस्य लोकबहादुर श्रेष्ठको नेतृत्वमा रामेछापको दोरम्बा र सुनापति गाउँपालिकामा क्रियाशील माओवादी पृष्ठभूमिका एकसय भन्दा बढी युवा नेकपा (एमाले)मा प्रवेश गर्नुभएको थियो । नवप्रवेशी युवालाई महासचिव पोखरेल, पार्टीका बाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल, केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला कमिटीका इन्चार्ज गणेश पहाडीले अबीर र खादा लगाएर स्वागत गर्नुभयो ।

महत्वपुर्ण लिंकहरु