बर्दिया । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बैशाख १५ गते इलाम–२ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन र बझाङ प्रदेश सभा–१ मा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचन एमालेका लागि अत्यन्त महत्वका निर्वाचन बनेको बताउनुभएको छ । नेकपा (एमाले) बर्दियाको १०औँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई मङ्गलबार गुलरियामा सम्बोधन गर्दै महासचिव पोखरेलले एमाले विरुद्ध विभिन्न भ्रम फिँजाउने काम भइरहेको बेला जनताको अभिमत के छ भन्ने कुरा देखाउन दुईवटा चुनाव महत्वपूर्ण अवसर भएको बताउनुभयो । पुराना पार्टीका दिन गए भन्नेलाई उपनिर्वाचनले राम्रो जवाफ दिएको उहाँको भनाइ छ । बझाङको प्रदेश सभा निर्वाचन केन्द्रको समीकरण अनुसार प्रदेश सरकार बनाउन र टिकाउनको लागि एमालेलाई जित्नैपर्ने चुनाव भएको हुँदा नयाँ समीकरणलाई सुदूरपश्चिम प्रदेशमा टिकाउन यो जीतले महत्वपूर्ण भूमिका निर्वाह गर्ने महासचिव पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो– यो चुनाव हामीले आफ्नो योजना अनुसार जित्न सफल भएका छौँ । मानव सभ्यता र जीवको विकास नै नदी र नदी किनारबाट भएको चर्चा गर्दै महासचिव पोखरेलले नदीको नामबाट कोशी प्रदेशको नाम राख्नु सभ्यता र संस्कृतिको परिचय र पहिचान भएको बताउनुभयो । उहाँले भन्नुभयो– जातीय नामाकरण भएन भन्ने नाममा एमालेका विरुद्ध कोशी प्रदेशमा अनेक आक्षेप लगाउने काम भएको थियो । इलामको निर्वाचनमा एमालेको जीतले एमाले माथि लगाइएको सबै आरोप र भ्रमलाई जनमतबाट चिर्ने काम भएको छ । इलामको जीत जातिवाद, अराजकता र पपुलिजम् माथिको विजय भएको भनाइ महासचिव पोखरेलले राख्नुभयो ।

महत्वपुर्ण लिंकहरु