काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले हिजोको श्रम सम्बन्धको अवस्था र आजको अवस्थामा आकाश जमिनको फरक रहेको बताउनुभएको छ । पेशागत महासंघ नेपाल, राष्ट्रिय समितिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार काठमाडौंंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले हिजो श्रमिक माथि अति क्रूर र अमानवीय व्यवहार हुने गरेकोमा अहिले परिस्थिति धेरै बदलिएको बताउनुभयो । उहाँले श्रमलाई हेर्ने दृष्टिकोण नै बदलिइसकेको बताउनुभयो । अहिले पनि श्रमिकमा विभेद र शोषण भए पनि त्यसको प्रकृति फरक भएको हुँदा आजको अवस्थालाई हेरेर ट्रेड युनियन आन्दोलनलाई नयाँ परिभाषित गर्नुपर्ने महासचिव पोखरेलको भनाइ छ । ट्रेड युनियनका कारण सुशासन कमजोर भयो, हामी अप्ठेरोमा पर्यौँ भन्ने नकारात्मक धारणा विकास हुँदै गएको उहाँले बताउनुभयो । हिजो निरङ्कुश व्यवस्था हुँदा जनतालाई राज्यको विरुद्ध उभ्याउने काम भएको भए पनि अब जनतालाई राज्यको पक्षमा उभ्याउन आवश्यक रहेको महासचिव पोखरेलले बताउनुभयो । अहिले पनि राज्यका विरुद्ध विद्रोही मानसिकता नै रहेकाले विकास र समृद्धिको काममा वाधा भइरहेको उहाँको धारणा छ । महासचिव पोखरेलले भन्नुभयो– अब हामी विद्रोही होइनौँ, राज्यका सहयोगी हौँ, राष्ट्र निर्माता हौं । नेपालमा कानुनी रूपमा संघीयता कार्यान्वयनमा रहेको भए पनि व्यावहारिक रूपमा अझै पूर्णरूपमा कार्यान्वयन हुन नसकिरहेको उहाँले बताउनुभयो । प्रहरी समायोजन लगायत महत्वपूर्ण विषयका काम अझै हुन नसकेको, कर्मचारी संयन्त्र अझै पनि सङ्घीयता कार्यान्वयनको पक्षमा जिम्मेवार भएर नलागेको महासचिव पोखरेलले बताउनुभयो । उहाँले अहिले राजनीतिका कारणले शिक्षा बिग्रियो भन्ने भाष्य निर्माण गर्ने प्रयास गरिएकोप्रति आपत्ति जनाउँदै नेपालमा शिक्षाको विकास नै राजनीतिज्ञले गरेको बताउनुभयो । राजनीतिज्ञले गाउँमा गएर शिक्षाको चेतना जगाएका कारण नै नेपालमा शिक्षा विकासको जग बसेको उहाँले स्पष्ट पार्नुभयो । विकास र समृद्धिका सन्दर्भमा अब वस्तुनिष्ठ भएर समीक्षा गर्ने बेला भएको उहाँले बताउनुभयो ।

महत्वपुर्ण लिंकहरु