भक्तपुर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्र बनाउनको लागि हरेक नागरिक र पार्टीका नेताकार्यकर्ताले आफ्नो कर्तव्य पुरा गर्नुपर्ने बताउनुभएको छ । 

नेकपा (एमाले) भक्तपुरको नवौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई विहीबार सम्बोधन गर्दै महासचिव पोखरेलले मैले के पाएँ, पार्टीले मलाई के दियो भन्ने भोक कार्यकर्तामा जाग्दा पार्टीको काम कमजोर हुने बताउनुभयो । 

महासचिव पोखरेलले भन्नुभयो– सम्मानले समाज बदलिँदैन, कर्तव्यले समाज बदलिन्छ, राष्ट्र बदल्ने हो भने सम्मानको खोजी होइन, कर्तव्य पुरा गर्नुपर्दछ, जो कर्तव्यको मार्गमा हिँड्दछ, त्यसले समाज बदल्न सक्छ । 



राजनीतिक परिवर्तन लक्ष नभएर माध्यम मात्र भएको उहाँले बताउनुभयो । राजनीतिक परिवर्तन हुँदैमा सबै कुरा भयो भन्ने सोच्नु गलत हुने बताउँदै महासचिव पोखरेलले राजनीतिक व्यवस्था परिवर्तन भएकाले अब समृद्धिको यात्रामा अघि बढ्नुपर्नेमा जोड छ । 

उहाँले देश अरू कसैले नबनाइदिने बताउँदै आफ्नो देश आफैँ बनाउनुपर्ने प्रष्ट पार्नुभयो । अहिले देश बनाउने बेलामा देश छाड्नेको लर्को लागेको र  यस वर्ष सबैभन्दा धेरै युवा विदेश गएका बताउँदै उहाँले अरूको देशमा पसिना बगाएर आफ्नो देश कहीँ पनि नबनेको स्पष्ट पार्नुभयो । 

महासचिव पोखरेलले भन्नुभयो– देश बनाउने हो भने देशभित्रै उद्यमशीलतामा युवालाई जोड्न सक्नु पर्दछ । 

समाज रूपान्तरणको काममा नेकपा (एमाले)का नेता कार्यकर्ता लाग्नुपर्ने उहाँले बताउनुभयो । आज समाज र राष्ट्रप्रति नै घेराबन्दी र आक्रमण भइरहेको उहाँको भनाइ छ । धर्म, संस्कृति, जात जातिको नाममा नेपाली समाजमाथि चौतर्फी आक्रमण भइरहेको हुँदा देशलाई जोगाउन र एमालेलाई एकल बहुमत प्राप्त राष्ट्रिय शक्ति बनाउन नेकपा (एमाले)ले मिसन– २०८४ भनेको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो । 

उहाँले जनतासँग नजोडिने पार्टीको भविष्य नहुने भन्दै पार्टीलाई जनतासँग जोडेर लैजानुपर्ने बताउनुभयो । 

नेकपा (एमाले)ले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानबाट पार्टीको काममा देखिएको समस्या पहिचान भएको र ती समस्यालाई सम्बोधन गर्ने गरी पार्टी कामलाई अघि बढाउनुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयो । 

उहाँले  पार्टी जीवनलाई व्यवस्थित गरी जनताको मुद्दा उठाउनुपर्नेमा जोड दिनुभयो ।  

उहाँले अधिवेशन सफलताको शुभकामना दिनुहुँदै पार्टी काममा जुट्न सक्नेलाई मात्र जिम्मेवारी लिन आग्रह गर्नुभयो । अधिवेशनमा जिम्मेवारी लिने तर जिम्मेवारी पुरा नगर्ने कामले पार्टी संगठन कमजोर हुने उहाँले बताउनुभयो । 


महत्वपुर्ण लिंकहरु