दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले दाङको अधिवेशन जिल्ला अधिवेशन मात्र नभएर सङ्कल्पको अभियान रहेको बताउनुभएको छ ।
नेकपा (एमाले) दाङको १४औं जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै महासचिव पोखरेलले यो जिल्ला अधिवेशन मात्र नभएर पार्टी निर्माणका लागि सङ्कल्प गर्ने अभियान भएको बताउनुभयो ।
उहाँले भन्नुभयो– यो अधिवेशन मुलुक बनाउन आधार तयार गर्ने अधिवेशन हो ।
दाङका नेता स्व. नेत्रलाल अभागीले पार्टी निर्माणका लागि खेलेको भूमिकाबाट पाठ सिक्दै अगाडि बढ्नुपर्ने बताउँदै महासचिव पोखरेलले दाङका नेता कार्यकर्ताहरूले पार्टी निर्माण गर्ने सङ्कल्प गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो– केहीलाई लाग्नसक्छ नेतृत्वका लागि प्रतिष्पर्धा गर्नुपर्छ । यो गलत हो । सर्वसम्मत नेतृत्व चयन हुँदा पार्टी बलियो हुन्छ । नेता कार्यकर्ताका बीचमा एकता कायम हुन्छ । दाङभन्दा बलियो जनाधार भएका झापाजस्ता जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको दृष्टान्त प्रस्तुत गर्दै उहाँले प्रश्न गर्नुभयो– हामीलाई किन प्रतिष्पर्धा आवश्यक पर्यो ?
बाह्य प्रतिद्वन्द्वीसँगको प्रतिप्रष्र्धाका लागि तयारी थाल्नुपर्ने बेला भइरहेको स्मरण गराउँदै महासचिव पोखरेलले अधिवेशनको नाममा एकता खलबलिन दिन नहुने बताउनुभयो । महासचिव पोखरेलले भन्नुभयो– अधिवेशनलाई विगतको समीक्षा गर्ने अवसरका रूपमा लिनुपर्दछ । नेता कार्यकर्ता सम्हालिन नसक्दा विगतमा जिल्लाले ठूलो अवसर गुमाएको छ ।
अब २०८४ को निर्वाचनलाई मिसन बनाएर लाग्नुपर्ने, जिल्ला नेतृत्वका लागि नअल्मलिई राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्नका लागि तयार हुनुपर्ने उहाँको भनाइ छ ।
राजनीतिक परिवर्तनलाई आत्मसात गर्न नसक्दा मुलुक सङ्कटग्रस्त अवस्थामा पुगेको बताउँदै महासचिव पोखरेलले वर्तमान गठबन्धन मुलुकलाई सङ्कटबाट बचाउनका लागि भएको स्पष्ट पार्नु भयो । उहाँले कम्युनिष्ट एकता बचाउन नसक्नु इतिहासकै गम्भीर त्रुटि भएको बताउँदै बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि तयारी थाल्नुपर्ने बताउनुभयो ।
समाज बदल्ने समयमा एमालेको सक्रियतामा कमी आएका कारण परिवर्तन संस्थागत हुन नसकेको भन्दै महासचिव पोखरेलले समाज बदल्ने अभियानलाई एमाले नेता कार्यकर्ताले निरन्तरता दिनुपर्ने बताउनुभयो । हरेक वर्ष एक जना पार्टी कार्यकर्ताले दुई मतको बृद्धि गर्ने र पाँचमतको रक्षा गर्ने अभियानको थालनी गरिएको भन्दै महासचिव पोखरेलले आजैदेखि अभियानको थालनी गर्न निर्देशन दिनुभयो । पार्टी जनतामा उत्पन्न भएको निराशा चिर्नतर्फ लागिपरेको भन्दै उहाँले जनतामा आशा जगाउनसक्ने सामथ्र्य एमालेसँग मात्रै भएको बताउनुभयो ।
नेकपा (एमाले) दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन सत्रमा पार्टीका पोलिटव्यूरो सदस्य नरुलाल चौधरी, लिला गिरी, शान्ता चौधरी, जिल्ला इञ्चार्ज चेतनारायण आचार्य, प्रदेश सचिव लक्ष्मण आचार्य, रोल्पा जिल्लाका अध्यक्ष अमृत घर्ती मगर, रुकुम पश्चिमका अध्यक्ष लिलामणि गौतमलगायतले शुभकामना मन्तव्य राख्नुुभएको थियो ।
उपाध्यक्ष राममणि पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव मनोहर बुढाथोकीले गर्नुभएको थियो ।