९ असार, काठमाडौं । प्रवासी नेपाली संघ, भारत केन्द्रीय कमिटीको चौथो बैठक आज भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।
बैठकलाई पार्टी केन्द्रीय कार्यालयबाट महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुभयो । सम्बोधन क्रममा महासचिव पोखरेलले मुलुकको वर्तमान परिवर्तित राजनीतिक परिस्थिति, पार्टी सम्मिलित वर्तमान सत्ता समीकरणपछि मुलुकको विग्रँदो अवस्थामा आएको सुधार, पार्टीको अबको कार्यभार लगायत विषयमा जानकारी गराउँदै प्रवासी नेपालीहरूको भूमिकाका बारेमा पार्टीको धारणा र अपेक्षा राख्नुभएको थियो ।
महासचिव पोखरेलले आगामी २०८४ मा हुने निर्वाचनमा नेकपा (एमाले)लाई एकल बहुमतको सरकार बनाउने गरी निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यका साथ पार्टीले काम गरिरहेको र सोही लक्ष्य सफल पार्न वर्तमान सत्ता समीकरणलाई २०८४ को निर्वाचनसम्म पुर्याउने योजना रहेको जानकारी गराउनुभयो ।
प्रवासमा रहेका नेपालीहरूको विगतमा देशमा भएका राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै महासचिव पोखरेलले अब आर्थिक क्रान्तिमार्फत् देश निर्माण गर्ने पार्टीको परिवर्तित कार्यदिशामा पनि प्रवासी नेपालीहरूबाट महत्वपूर्ण योगदान हुने अपेक्षा सुनाउनुभयोे ।
उहाँले प्रवासी नेपाली संघ, भारतले भारतमा व्यापार, व्यवसाय, रोजगारी, अध्ययन लगायत विभिन्न क्षेत्रमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई संगठित गरी सञ्जाल निर्माण गर्नुपर्ने र उनीहरूको सुरक्षा र संरक्षणमा अग्रणी र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभयो ।
महासचिव पोखरेलले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनका लागि दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतामाथि विजय हासिल गर्नुपर्ने हुँदा त्यो काम वैचारिक प्रशिक्षणबाट मात्र सम्भव हुने बताउँदै प्रवास नेपाली संघलाई वैचारिक कामलाई महत्वका साथ अगाडि बढाउन आग्रह गर्नुभयो ।
रोजगारी तथा अध्ययनका सिलसिलामा प्रवासमा रहेका नेपालीहरूमा आफूले प्राप्त गरेको अनुभव, सिकेको सीप, ज्ञान, नयाँ प्रविधि र आर्जन गरेको पुँजी राष्ट्र निर्माणमा लगानी गर्ने सोचको विकास हुनुपर्ने बताउँदै महासचिव पोखरेलले त्यसो हुँदा ‘समृद्ध नेपाल, सुखी नेपाली’को अठोट पूरा गर्ने दिशामा महत्वपूर्ण योगदान पुग्ने छ भन्नुभयो ।
उहाँले अध्ययनका लागि विदेशमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश फर्कन उत्प्रेरित गर्ने कुरामा प्रवासी नेपाली संघले सहजीकरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
बैठक प्रवासी नेपाली संघ, भारत, केन्द्रीय कमिटीका अध्यक्ष नारायण होमागाईंको अध्यक्षतामा भएको थियो ।