समाचार । १५ साउन,२०८१ ।
१५ साउन,२०८१, दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेताकार्यकर्ताहरूलाई निरन्तर पार्टी निर्माणको काममा लाग्न आग्रह गर्नुभएको छ ।
नेकपा (एमाले) दाङको बैठकलाई आज सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेका नेताकार्यकर्ताहरूको काँधमा समृद्ध मुलुक निर्माण गर्ने दायित्व रहेकाले त्यसका लागि पार्टी बलियो बनाउने काममा लाग्न आग्रह गर्नुभयो ।
पार्टीलाई जनतासँग जोड्ने अभियानलाई तीब्र बनाउँदै लैजान निर्देशन दिँदै महासचिव पोखरेलले एमालेलाई हरेक दृष्टिले जनताको रोजाइको पहिलो पार्टी बनाउनतर्फ सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– जनमतको हिसावले मुलुकको पहिलो पार्टी हुँदाहुँदै पनि प्राविधिक कारणले एमाले दोस्रो बनेको छ । एमालेका नेताकार्यकर्ताहरूले यो कुरा कहिले भुल्नु हुँदैन ।
महासचिव पोखरेलले विगतका कमजोरीबाट पाठ सिक्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले नमिलेका कुरालाई मिलाउँदै रोकिएको पार्टी निर्माणको गतिलाई अगाडि बढाउन आजैबाट लाग्न निर्देशन दिनुभयो ।
एमालेलाई उथलपुथल नभई विकास चाहिएको भन्दै महासचिव पोखरेलले प्रचण्डले सुरु गरेको अस्थिरताले मुलुक झन्पछि झन् कमजोर बन्दै गएको महसुस गरी कांग्रेससँग सत्ता सहकार्य गरेको प्रष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो– विकास र समृद्धिको यात्रालाई प्रचण्डले बोक्न सक्नुभएन । उहाँ उथलपुथलको नायक बन्नु भयो । जसका कारण नेपाली राजनीतिलाई नयाँ शिराबाट अगाडि बढाएका छौं ।
नेकपा (एमाले) दाङका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षतामा बसेको बैठकमा पोलिटब्युरो सदस्यहरू सुजिता शाक्य, नरुलाल चौधरी, शान्ता चौधरी, केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज चेतनारायण आचार्यलगायतका केन्द्रीय र प्रदेशका नेताहरूको उपस्थिति रहेको थियो ।
बैठकले विभिन्न जिम्मेवारी तोकेको छ । जसमध्ये स्कुल विभागमा राममणि पाण्डे, प्रचार तथा प्रकाशन विभागमा सङ्गीत बस्याल, स्थानीय संघसंस्था विकास विभागमा मानबहादुर रावत, निर्वाचन विभागमा विवेक श्रेष्ठ, सङ्गठन विभागमा श्याम डाँगी, वित्त तथा कोष व्यवस्थापन विभागमा सानुनारायण अधिकारी र सहकारी तथा गरिबी निवारण विभागमा अमर खड्का रहनुभएको प्रचार तथा प्रकाशन विभाग प्रमुख सङ्गीत बस्यालले जानकारी दिनुभयो । बैठकले निर्वाचन क्षेत्र संयोजकको समेत जिम्मेवारी तोकेको छ । बैठकले २४ जनालाई जिल्ला सदस्यमा मनोनीत गरेको छ
यसैगरी महासचिव पोखरेलले आज छ जना सक्रिय पत्रकारहरूलाई प्रेस चौतारीमा प्रवेश गराउँदै समृद्धि र विकासका लागि राजनीतिक दलहरू मात्र नभएर सञ्चार सङ्गठनहरू पनि ध्रुबीकृत हुनुपर्ने बताउनुभयो ।
महासचिव पोखरेलले राजनीतिक स्थायित्वका लागि नेपालको राजनीति दुई ध्रुबमा ध्र्बीकृत गर्ने अभियानमा आफूहरू रहेको बताउँदै सञ्चार क्षेत्रलाई बलियो र प्रभावकारी बनाउन सञ्चार क्षेत्र पनि ध्रुबीकृत हुनुपर्ने बताउनुभयो ।
प्रेस चौतारीले समग्र सक्रिय वामपन्थी पत्रकारहरूको अगुवाई र नेतृत्व गर्नुपर्ने धारणा राख्दै चौतारीमा प्रवेश गर्ने सञ्चारकर्मीहरूले सामाजिक रुपान्तरणका लागि योगदान पुर्याउनेमा आफु विश्वस्त रहेको उहाँको भनाइ थियो ।
जिल्लामा स्वतन्त्ररूपमा पत्रकारिता गरिरहनुभएका विपिनमणि आचार्य, अनुप आचार्य, सन्दिप भुसाल, मोहम्मद जैद फारुकी, दिवस देवकोटा, जाबेद अख्तर प्रेस चौतारीमा समाहित हुनुभएको हो ।