काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले हरेक मानिसले सफलताको लागि सङ्घर्ष गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) दाङ–काठमाडौं सम्पर्क कमिटीद्वारा आज आयोजित एसईई उत्तीर्ण गरी उच्चशिक्षा अध्ययनका लागि काठमाडौंमा आएका विद्यार्थीहरूको सम्मान कार्यक्रममा महासचिव पोखरेलले सङ्घर्षबाट प्राप्त सफलता सार्थक हुने बताउनुभयो । महासचिव पोखरेलले भन्नुभयो– सुविधायुक्त परिवेशमा प्राप्त सफलताभन्दा सङ्घर्षबाट प्राप्त हुने सफलताबाट मान्छेले जीवनलाई सार्थक बनाउँछ, जति प्रतिकूलतामा सफलता प्राप्त हुन्छ, जीवनमा आउने प्रतिकूलताको सहजै सामना गर्न सकिन्छ ।
अप्ठेरो परिस्थिति आयो भनेर भाग्न नहुने र हरेक मानिसलाई कठिन यात्राले नै सफल बनाउने उहाँको भनाइ छ । महासचिव पोखरेलले भन्नुभयो– सजिलो यात्राबाट प्राप्त गरेको सफलता सङ्कटको बेला काम लाग्दैन, सङ्कटको बेला त्यही सफलता काम लाग्छ जुन कठिन यात्राबाट प्राप्त भएको हुन्छ ।
नेपाल काम गर्नेहरूको लागि उर्वर क्षेत्र भएको र नेपाली समाज जस्तो समृद्ध समाज विश्वमा कम हुने गरेको उहाँले बताउनुभयो । यही समाजमा खुसी र सुख प्राप्त हुने बताउँदै महासचिव पोखरेलले नेपाली समाजलाई अझ समृद्ध बनाउने विषयमा सोच्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।
हरेक नेपाली नागरिकलाई संविधानले अधिकार सम्पन्न बनाएको बताउँदै अब हरेक नागरिक देश निर्माणको काममा लाग्नुपर्ने उहाँले बताउनुभयो ।