काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वन क्षेत्रको संरक्षणका लागि विगतको दृष्टिकोण बदल्नुपर्ने बताउनुभएको छ ।
सामुदायिक वन दिवस–२०८१ को अवसरमा नेकपा (एमाले) केन्द्रीय वन तथा वातावरण विभागद्वारा शुक्रबार काठमाडौंंमा आयोजित ‘वनको दिगो व्यवस्थापन, समृद्धि तथा जलवायु न्याय’ राष्ट्रिय नीति सम्वाद कार्यक्रममा महासचिव पोखरेलले उक्त धारणा राख्नुभएको हो ।
प्रकृति र मान्छे जोडिएन भने प्रकृति सधैँभरि संरक्षण हुन नसक्ने बताउँदै उहाँले मान्छेसँग नजोडिएको संरक्षणको कुनै अर्थ हुँदैन भन्नुभयो ।
परम्परागत संरक्षणका विषय अहिलेको अवस्थामा सार्थक नहुने उहाँले बताउनुभयो । प्रकृतिलाई आजको मान्छेको आवश्यकता अनुसार प्रयोग गर्ने गरी नीति बनाउनुपर्ने उहाँको राय छ ।
महासचिव पोखरेलले अहिलेका धेरै कानुन प्रकृति र वन संरक्षणमा बाधक रहेका र यस्ता कानुन सुधार नगरेसम्म वन संरक्षण हुन नसक्ने प्रष्ट पार्नुभयो ।
अग्र्यानिक उत्पादन र पर्यापर्यटनलाई जोड्न सक्ने हो भने नेपालको समृद्धिको आधार त्यसैले तयार गर्ने उहाँले बताउनुभयो । मानिसलाई प्रकृतिसँग जोडेर लाभ लिने नीति बनाउनुपर्ने उहाँको सुझाव छ ।
नेपालको वन सम्बन्धी कानुनमा कमजोर दण्डित हुने तर पहुँचवालाले दोहन गरिरहने स्थिति रहेको महासचिव पोखरेलले बताउनुभयो । वन पैदावारको उपभोगको विषयमा समग्र अध्ययन गरी कानुन बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘मान्छे र प्रकृति कहिल्यै अलग नगर्ने गरी नीति निर्माण गर्ने कुरामा जाऊँ’, उहाँले भन्नुभयो ।
उहाँले अरूका लागि हाम्रो प्रकृति संरक्षण गरिदिन नसकिने बताउनुभयो । विश्व समुदायको लागि नेपालको प्रकृति नेपालीले संरक्षण गरिदिन नसकिने महासचिव पोखरेलले प्रष्ट पार्नुभयो । यो दृष्टिकोणका आधारमा नीति निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । महासचिव पोखरेलले भन्नुभयो– हाम्रो प्रकृति हाम्रा लागि, मुख्य प्रश्न यो हो, हाम्रो प्रकृति अरूका लागि भन्ने कुरा दोस्रो कुरा होे ।