काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यमा नेकपा (एमाले) बाग्मती प्रदेश कमिटीको प्रदेशस्तरीय संयन्त्रको गठन तथा यसको पहिलो बैठक आज सम्पन्न भयो ।
नेकपा (एमाले) बाग्मती प्रदेश कमिटीको कार्यालय, च्यासल, ललितपुरमा बसेको बैठकमा महासचिव शंकर पोखरेलले संयन्त्रको आवश्यकता, औचित्य र भूमिकाका बारेमा निर्देशनात्मक मन्तव्य राख्नुभएको थियो ।
महासचिव पोखरेलले देशमा राजनीतिक अस्थिरता मच्चाएर लाभ लिन चाहने शक्तिहरूले टाउको उठाउन खोजेका कारण दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाएकोे बताउनुभयो । उहाँले राजनीतिक स्थिरता बिना देशमा विकास र समृद्धि सम्भव नभएको बताउनुभयो ।
महासचिव पोखरेलले अहिलेको सत्ता समीकरण स्थायित्व, स्थिरता र विकासको लागि भएको र पार्टीको अबको ध्यान बलियो राजनीतिक शक्ति निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । यसको लागि पार्टीको वैचारिक र सांगठानिक कामलाई अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।
महासचिव पोखरेलले जनसङ्गठनहरू पार्टीका जग भएकाले तिनीहरूलाई चलायमान गराउनुपर्ने बताउनुभयो । शहरीया मध्यम वर्गमा अस्थिरता र विचलन तथा अन्य मध्यम वर्गमा निराशा बढेकाले पार्टी सङ्गठनले त्यसलाई स्थिरता र आशामा परिणत गर्ने गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
महासचिव पोखरेलले विकास निर्माणको काम र सङ्गठन निर्माणको कामलाई जोडेर अगाडि बढाउनुपर्ने बताउनुभयो । राजनीतिमा नजोडिएको विकास निर्माणको कामले मात्रै सङ्गठन सुदृढ नहुने उहाँले प्रष्ट पार्नुभयो ।
पार्टीमा युवाहरूलाई संगठित र आकर्षित गराउन नसके जीवन्त पार्टी नबन्ने पनि उहाँले बताउनुभयो । युवालाई पार्टीमा जोड्न आकर्षक कार्यक्रम र योजनासहित जानुपर्ने उहाँको धारणा छ ।
नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईको अध्यक्षतामा भएको बैठकमा पार्टीको बाग्मती प्रदेश अन्तर्गतका १३ जिल्ला कमिटी इञ्चार्ज र प्रदेश कमिटीका पदाधिकारीको उपस्थिति रहेको थियो ।
करिब चार घण्टा चलेको सो बैठकमा जिल्ला ईन्चार्जहरूले संयन्त्रका बिषयमा र सङ्गठन लगायत अन्य बिषयमाथि आ–आफ्नो जिज्ञासा र सुझावहरू राख्नुभएको थियो । बैठकको सञ्चालन प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले गर्नुभएको थियो । बैठकले १९ सदस्यीय संयन्त्रलाई औपचारिकता दिएको छ ।