काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक रूपमा सचेत मानिसले मात्र शिक्षाको विकास गर्न सक्ने बताउनुभएको छ ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३औं राष्ट्रिय परिषद् बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले उक्त कुुरा बताउनुभएको हो ।
अहिले सार्वजनिक शिक्षामा देखिएको चुनौती समाधान गर्नुपर्ने टड्कारो आवश्यकता रहेको र त्यो काम नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले मात्र गर्न सक्ने उहाँले बताउनुभयो ।
महासचिव पोखरेलले हिजो नेपालको राजनीतिक जागरणमा जसरी नेपालका शिक्षकहरूले भूमिका खेलेका थिए, आज समाजमा बन्न लागिरहेको नकारात्मक भाष्य चिर्ने काम पनि शिक्षकबाट नै सम्भव हुने बताउनुभयो ।
यसले शिक्षक आन्दोलनको गौरवलाई पुनः समाजमा स्थापित गर्ने उहाँले भनाइ छ ।
समाजको सचेत वर्ग सार्वजनिक शिक्षाबाट बाहिरिएको कारण नेपालको सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर खस्कँदै गएको महासचिव पोखरेलले बताउनुभयो ।
घरमा पढ्ने वातावरण नभएका धेरै विद्यार्थी सामुदायिक विद्यालयमा भएकाले उनीहरूको पढाइको स्तर सुधार गर्न निक्कै कठिन भएको उहाँको धारणा छ । यसको सुधारका लागि बहस आवश्यक रहेको उहाँको भनाइ छ ।
महासचिव पोखरेलले देशमा राजनीतिक स्थायित्व र स्थिरता दिन एमाले र कांग्रेसको संयुक्त सरकार बनेको बताउनुभयो ।
राजनीतिक परिवर्तनको समयमा जति धेरै राजनीतिक दल भए पनि फरक नपर्ने तर देश बनाउने कुरामा भने धेरै भन्दा बलिया राजनीतिक दल आवश्यक भएकोमा उहाँले जोड दिनुभयो ।
विश्वमा कतै पनि संयुक्त मोर्चा बनाएर देश विकासको काम नभएको उल्लेख गर्दै संयुक्त मोर्चा बनाएर विकासे काम गर्न नसकिने उहाँले प्रष्ट पार्नुभयो ।
देश विकासका लागि दूरदर्शी नेतृत्व, बलिया राजनीतिक दल र राजनीतिक स्थायित्व आवश्यक पर्ने महासचिव पोखरेलले बताउनुभयो ।