काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशको विकास र समृद्धिको नेतृत्व गर्न सक्ने एकमात्र पार्टी एमाले भएकाले देश बनाउन चाहने सम्पूर्ण युवालाई नेकपा (एमाले)मा समाहित हुन आह्वान गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज तीनसय भन्दा बढी युवा विद्यार्थीलाई एमालेमा प्रवेश गराउँदै महासचिव पोखरेलले युवाहरूको भविष्यप्रति चिन्ता गर्ने पार्टी पनि एमाले मात्र भएको बताउनुभयो । 

देश बनाउने स्पष्ट नीति, दूरदृष्टी भएको नेतृत्व, अनुशासित, एकताबद्ध र बलियो सङ्गठन एमालेसँग मात्र रहेको बताउँदै अब एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न सिङ्गो युवापङ्ती एमालेसँग जोडिनुपर्ने उहाँले बताउनुभयो । 

महासचिव पोखरेलले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली देशको विकास र समृद्धिको नवीन सोच राख्ने नेता हुनुहुन्छ भन्ने कुरा प्रधानमन्त्रीका रूपमा उहाँका अघिल्ला कार्यकालबाट पुष्टी भइसकेको बताउँदै उहाँलाई प्रधानमन्त्रीका रूपमा पूरा कार्यकाल काम गर्न नदिएका कारण देश पछाडि पर्नुका साथै राजनीतिक अस्थिरता र जनतामा निराशा पैदा भएको स्पष्ट गर्नुभयो । 

चीन, भारत, सिङ्गापुर, मलेसियाको विकास ती देशमा राजनीतिक स्थायित्व र एउटै नेतृत्वको सरकारले दुईतीन कार्यकाल काम गर्न पाएका कारण भएको उल्लेख गर्दै महासचिव पोखरेलले नेपालमा विकास र समृद्धिको यात्रालाई अगाडि बढाउन २०८४ मा हुने निर्वाचनबाट एमालेलाई एकल बहुमतको निर्णायक शक्तिका रूपमा स्थापित गरी सरकारलाई काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । 

देश २० बर्षसम्म राजनीतिक अस्थिरताबाट गुज्रेको र त्यसका कारण विकासका काम अपेक्षित रूपमा हुन नसकेको उहाँको भनाइ छ  ।

महासचिव पोखरेलले पार्टी अध्यक्ष ओली नेतृत्वका अघिल्ला दुई सरकारको समयमा गर्व गर्ने गरी विकास र समृद्धिको यात्रामा महत्वपूर्ण उपलब्धि हासिल भएको, उच्च आर्थिक बृद्धिदर कायम भएको र नेपाल निर्माणको यात्रा शुरू भएको तर त्यो सरकारलाई परमादेशबाट अपदस्थ गरी काम गर्न नदिइएको चर्चा गर्नुभयो ।  

महासचिव पोखरेलले देश बनाउने अठोट र सङ्कल्पका साथ एमालेमा समाहित हुनुभएका युवाहरूलाई ‘म बनाउँछु मेरो देश’ भन्ने सामुहिक भावना र आवाजका साथ क्रियाशील हुन पनि आग्रह गर्नुभयो ।   

कार्यक्रममा विभिन्न राजनीतिक दलसम्बद्ध युवाविद्यार्थी, युवा व्यवसायी गरी तीनसयभन्दा बढी युवा पार्टी प्रवेश गरेका थिए ।  

नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघमा क्रियाशील रहनुभएका ललितपुरका सञ्जीव खड्काको नेतृत्वमा ठुलो सङ्ख्यामा युवा विद्यार्थीहरू, युवा व्यवसायी मनोजसिंह ठकुरीको नेतृत्वमा अर्को समूहका साथै काठमाडौं र ललितपुरका विभिन्न इलाकाबाट स्वतन्त्र युवाविद्यार्थी समेत तीनसय भन्दा बढी युवाविद्यार्थी एमालेमा प्रवेश गरेका हुन् । 

नेकपा (एमाले) युवा विद्यार्थी विशेष जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा नवप्रवेशीहरूलाई महासचिव पोखरेल, पार्टीका स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज डा. राजन भट्टराई, पोलिटव्यूरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज सुजिता शाक्य, केन्द्रीय सदस्य तथा युवा विद्यार्थी विशेष जिल्ला कमिटी इन्चार्ज रमेश पोखरेल, उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष पे्रमकुमार पराजुली लगायत नेताहरूले टीका र खादा लगाई पार्टीमा स्वागत गर्नुभयो । 

युवा विद्यार्थी विशेष जिल्ला कमिटीका अध्यक्ष रामजी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य खिमलाल भट्टराई, केन्द्रीय सदस्य माधव ढुङ्गेल, बीना श्रेष्ठ, बाबुराम थापा, रुपनारायण श्रेष्ठ, पार्टीका बाग्मती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल लगायत नेताहरूको उपस्थिति रहेको थियो । कार्यक्रम सचिव प्रकाश भुजेलले सञ्चालन गर्नुभएको थियो । 

महत्वपुर्ण लिंकहरु