दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राज्य बलियो नभई जनता बलिया हुन नसक्ने बताउनुभएको छ । 

नेकपा (एमाले) दाङ लमही नगरपालिका कमिटीको दोस्रो नगर अधिवेशनलाई सोमबार देउखुरीमा उद्घाटन गर्दै महासचिव पोखरेलले राज्य बलियो हुन राजनीतिक दल बलिया हुनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो– राजनीतिक दल बलिया हुन तपाईं हामीले आफ्नो पार्टी बलियो बनाउनु पर्दछ । 

‘नेपालमा अब सानातिना पार्टी राखेर समाजवाद आउँदैन, समाजवादको यात्रामा लाग्ने हो भने सानातिना दोकान बन्द गर्नुपर्दछ, यसले मात्रै मुलुकमा बलियो कम्युनिष्ट शक्ति निर्माण हुनसक्छ र त्यसको जगमा मात्र समाजवादको आधार तयार हुन्छ भन्ने सच्चाइलाई बुझ्नुपर्दछ’, चर्चा गर्दै महासचिव पोखरेलले आफूहरू एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने अभियानमा लागेको बताउनुभयो ।

समाज बदल्नका लागि जनताको भावनाको नेतृत्व गर्न सक्नुपर्ने बताउँदै उहाँले अब सानातिना वामपन्थी पार्टीमा अल्मलिने समय सकिएको स्पष्ट पार्नुभयो । अब  समाजवादको आधार निर्माण गर्न सक्ने एउटा बलियो शक्ति निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

पार्टीलाई कमजोर पार्दा के हुँदो रहेछ भन्ने कुरा आज माधव नेपाल र झलनाथ खनालको स्थिति हेरेर बुझ्नुपर्ने बताउँदै महासचिव पोखरेलले माधव नेपालको पार्टीका नेताहरू अहिले देशको होइन, विदेशको पैरवी गर्न लागेका सुनाउनुभयो । 

बलियो राज्य र सक्षम नागरिकले मात्र देश जोगाउन सक्ने उहाँले बताउनुभयो । लोकतन्त्रमा जनता अधिकार सम्पन्न हुनुपर्ने बताउँदै महासचिव पोखरेलले अधिकारसँग जनताले कर्तव्यको पनि ख्याल राख्नुपर्ने बताउनुभयो । कर्तव्य बिनाको अधिकार समस्याको खानी भएको उहाँको धारणा छ । 

समाज बदल्ने कुरा निक्कै महत्वपूर्ण भएको बताउँदै महासचिव पोखरेलले समाज बदल्ने भनेको जनताको जीवनस्तर बदल्ने कुरा भएको र त्यो यात्रा अब सुरु भएको उहाँको धारणा छ । त्यो यात्रामा अझ ज्यादा समर्पणभाव आवश्यक रहेको महासचिव पोखरेलले प्रष्ट पार्नुभयो । 

पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार बनेपछि समाजमा केही आशा पलाएको उहाँले बताउनुभयो । महासचिव पोखरेलले भन्नुभयो– उद्योगी व्यवसायीहरू आशावादी बनेका छन्, मुलुकको आर्थिक अवस्थामा सुधारका लक्षणहरू देखापर्न थालेका छन्, निरन्तर रूपमा ओरालो लागेको मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अगाडि बढ्ने सङ्केत देखापरेको छ, मुलुकको राजश्वमा वृद्धि हुन लागेको छ । 

यस्तो बेलामा सरकारलाई काम गर्न दिनुपर्नेमा सरकारलाई घेराबन्दी गर्ने, काम गर्न नदिने, अराजकता सिर्जना गर्ने प्रवृत्तिहरू देखापरेको उहाँले बताउनुभयो । जति बेला मुलुकमा केही काम हुन थाल्छ त्यति बेला त्यस्ता शक्तिहरू जुर्मुराउने गरेको महासचिव पोखरेलको भनाइ छ । 

जनतामा बढ्दो निराशा चिर्न र मुलुकको उज्यालो भविष्यको यात्राको लागि दुई ठुला राजनीतिक दल कांग्रेस र एमाले मिलेर सरकार बनाएको उहाँले प्रष्ट पार्नुभयो । 

नेपालको मौलिक संस्कृतिमाथि अहिले प्रहार भइरहेको उहाँले बताउनुभयो । जातीय र धार्मिक अतिवादीहरूलाई प्रयोग गरेर नेपालको मौलिक संस्कृतिमाथि प्रहार गर्ने काम भइरहेको महासचिव पोखरेलले प्रष्ट पार्नुभयो । 

त्यस्तै नेपालको धर्मान्तर गरेर नेपाली समाजको मौलिकतामाथि आक्रमण गर्ने काम भएको उहाँले बताउनुभयो । 

महासचिव पोखरेलले नेपालको राजनीतिले सही बाटो समाउने बेला आएको र त्यस अर्थमा नेकपा (एमाले)लाई बलियो राजनीति शक्ति बनाउने दायित्व पार्टीका नेता, कार्यकर्ताको काँधमा आएको बताउनुभयो । 

नेपालका राजनीतिक दलमध्ये नेपाली समाजलाई बुझेको, इतिहासको जानकारी राख्ने र भविष्यका निम्ति योजना बनाउन सक्ने सक्षम नेतृत्वका रूपमा एमाले अध्यक्ष केपी शर्मा ओली रहनुभएको उहाँले बताउनुभयो । दुनियाँका नाम चलेका विश्वविद्यालयले आज केपी ओलीको प्रवचन सुन्न चाहेको महासचिव पोखरेलले बताउनुभयो । 

अध्यक्ष ओली दुनियाले पत्याएको नेता हुनुहुन्छ तर हाम्रो समाज केपी ओलीको आलोचना नगर्ने हो भने राजनीति गर्नुको के अर्थ छ भन्ने शैलीमा भर्खर राजनीति सिक्न लागेको मान्छेले पनि आफू चर्चामा आउन अध्यक्ष ओलीको विरोध गर्ने प्रवृत्ति र गलत परम्परा नेपाली समाजमा हुर्कन लागेको उहाँको भनाइ छ । 

यस्तो हिसाबले देश नबन्ने बताउँदै महासचिव पोखरेलले कुनै पनि देश बनाउने हो भने हरेक कुरालाई सकारात्मक ढङ्गले सोच्न सक्नुपर्नेमा जोड दिनुभयो । राजनीतिक अस्थिरता र सामाजिक अराजकताको चुनौतीलाई चिर्न नसके देश बनाउन नसकिने उहाँले प्रष्ट पार्नुभयो ।


महत्वपुर्ण लिंकहरु