काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिले समग्र समाजलाई दिशानिर्देश गर्ने हुँदा लक्ष्यमा आधारित भएर राजनीति गर्नुपर्ने बताउनुभएको छ । 

अखिल नेपाल महिला संघ जिल्ला कमिटी काठमाडौंद्वारा शुक्रबार आयोजित नारी सङ्कल्प विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले त्यो राजनीतिले मात्रै समाजका समस्यालाई समाधान र सम्बोधन गर्ने सामथ्र्य राख्ने धारणा व्यक्त गर्नुभयो । 

कुनै एउटा विधामा चर्चामा आउने बित्तिकै राजनीतिमा सफल होइन्छ भन्ने मान्यता काठमाडौंको निर्वाचनले स्थापित गर्न खोजेको पोखरेलले बताउनुभयो । विचारको आधारमा होइन, लोकप्रियताको कसीमा राजनीतिलाई अघि बढाउन खोजिएको उहाँले बताउनुभयो । 

विचारका आधारमा भन्दा प्रतिक्रियाको आधारमा राजनीति चल्दै छ, आज कसैको विरोध गर्यो भने मान्छे लोकप्रिय हुन्छ भन्नुहुँदै महासचिव पोखरेलले प्रश्न गर्नुभयो– विरोध समस्याको समाधान हो र ? 

विरोध गर्ने संस्कृतिले समाजलाई भाँड्ने तर राजनीतिक निकास नदिने उहाँले प्रष्ट पार्नुभयो । यसले समाजलाई पछि धकेल्ने र राजनीतिको दिशा गलत बाटोतर्फ जाने महासचिव पोखरेलको भनाइ छ । ‘राजनीति समग्र समाजलाई दिशा निर्देश गर्ने केन्द्रीय प्रश्न हो’, उहाँले भन्नुभयो । 

एउटा लोकप्रियताको भरमा व्यक्तिले राजनीति सुधार गर्दछ भन्ने मान्यता एक किसिमको कल्पना मात्र भएको तर  राजनीतिको सुधार संस्थागत संगठनले मात्र गर्न सक्ने महासचिव पोखरेलले बताउनुभयो । 

काठमाडौंमा हुने उपनिर्वाचनबाट विगतको भुललाई सच्याउनुपर्ने बताउँदै उहाँले मुख्य नेतृत्व एमालेले गुमाउँदाको पीडा आज काठमाडौंका जनताले भोगिरहेको भनाइ राख्नुभयो । 

एमालेलाई असफल बनाउँदा नेपाललाई नै असफल बनाउन सकिन्छ भनेर केही तत्व एमाले विरुद्धको घेराबन्दीमा लागेको महासचिव पोखरेलले बताउनुभयो । एमालेलाई विभाजन गराएपछि नेपालको राजनीति सामाजिक अराजकता, राजनीतिक अस्थिरता, सामाजिक मूल्य मान्यताको विगठन, धार्मिक अतिक्रमणको चपेटामा गुज्रिएको उहाँको भनाइ छ ।

महत्वपुर्ण लिंकहरु