७ कात्तिक, २०८१
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीति स्थायित्व हुने हो भने देश निर्माणको लागि धेरै समय नलाग्ने बताउनुभएको छ ।
विराटनगरमा आज नेकपा (एमालें संगठन कमिटी मोरङद्वारा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले देश विकासको लागि राजनीतिक स्थायित्व आवश्यक पर्ने बताउनुभयो ।
अन्य देशले गरेको विकासलाई हेरेर नेपालका राजनीतिक दललाई गाली गर्ने भन्दा पनि नेपाली मौलिकताको विकास मोडल अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपालको विकास तेल बेचेर धनी भएका अरबियन मुलुक जस्तो सोचेर नहुने उहाँको धारणा छ । नेपालको विकास रातारात हुने खालको विकास नभएको बताउँदै महासचिव पोखरेलले नेपालको विकास सरकारले एक्लैले पनि गर्न नसक्ने प्रष्ट पार्नुभयो । ‘नेपालको विकासको ढाँचा जनतालाई साथमा लिएर विकास गर्ने ढाँचा हो’, उहाँले भन्नुभयो ।
नेकपा (एमाले) देशमा स्थायित्व र स्थिरताको लागि लडिरहेको पार्टी भएको हुँदा अहिले एमाले र एमालेको नेतृत्व माथि प्रहार भइरहेको उहाँले बताउनुभयो ।
एमालेसँग भएको विशाल कार्यकर्ताको समूह चुनाव जित्नको लागि मात्र होइन समाज बदल्न सक्ने सामथ्र्य राख्ने शक्ति भएको बताउँदै महासचिव पोखरेलले एमालेको लक्ष चुनाव जित्ने मात्र नभएर समाज परिवर्तनको भएको स्पष्ट पार्नुभयो ।
कमजोरहरूले शासन गर्न थालेपछि सरकारप्रति जनताको अविश्वास पैदा भएको र त्यसै कारण देश ओरालो गतिमा लागेको उहाँले बताउनुभयो ।
महासचिव पोखरेलले एमाले सिध्याउन धेरै शक्ति लागेका भए पनि उनीहरू सफल नभएको बताउनुभयो ।
यसैगरी विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महासचिव पोखरेलले संविधान कार्यान्वयनको १० वर्षका सबल र दुर्बल पक्ष समीक्षा गरी संशोधन गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ ।
सोही मूल कामको लागि नेकपा (एमाले) र नेपाली कांग्रेसले सत्ता समीकरण गरेको उहाँले बताउनुभयो । ‘संवैधानिक, कानुनी र संरचनागत सुधार गर्ने उद्देश्यका साथ हामीले सरकार गठन गरेका छौं’, उहाँले भन्नुभयो ।
धेरै दलमा जनमत विभाजन हुँदा प्रमुख दलहरूमाथि साना दलहरूले शासन गर्ने परिपाटी रोक्नलाई २०८४ को निर्वाचन अघि नै संविधान संशोधन गरिने महासचिव पोखरेलले बताउनुभयो ।
महासचिव पोखरेलले तर कांग्रेस र एमाले मिलेर साना दललाई समाप्त पार्न नखोजेको बताउँदै जसले राजनीति गर्न चाहन्छ उसले आफूलाई बलियो भने बनाउनुपर्ने स्पष्ट पार्नुभयो । साना दलले म्याजिक नम्बर पायौं भन्दै शासन गर्ने परम्परा अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो ।
जनताको जनादेश पाउने दलले नै शासन गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । नागरिकमा पुराना दलप्रति बढ्दै गएको निराशा चिर्नको लागि पनि कांग्रेस र एमाले एक ठाउँमा उभिएका र अहिले नागरिकमा त्यो निराशा चिरिँदै गएको उहाँले बताउनुभयो ।
राजनीतिक अस्थिरता र अराजकताले समाजलाई पीडा दिएकाले त्यसबाट समाजलाई मुक्ति दिन पनि प्रमुख राजनीतिक दल मिल्नुपरेको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो ।