समाचार । २८ कात्तिक, २०८१ 

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले साना दललाई आफ्नो हैसियत अनुसारको भूमिकामा  ल्याउन कांग्रेस र एमाले मिल्नुपरेको बताउनुभएको छ । 

नेकपा (एमाले) युवा विद्यार्थी विशेष जिल्ला कमिटीको पाँचौं जिल्ला अधिवेशन उद्घाटन गर्दै महासचिव पोखरेलले  जनमत गुमाएका दलहरूको सत्तामा हालीमुहाली हुँदा देशमा अस्थिरता निम्तिएको र विकासको काम रोकिएको बताउनुभयो । 

सङ्घीय संसदमा ३२ सिट ल्याउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूरै अवधि मुलुकको शासन गर्ने हुङ्कार गरेपछि दुई ठूला दलले सहकार्य गर्नुपरेको उहाँले प्रष्ट पार्नुभयो । जनमत गुमाउँदै गएको माओवादीले संसदमा ३२ सिटलाई म्याजिक नम्बर भनेपछि कांग्रेस र एमालले सत्ता सहकार्य गर्नुपर्ने परिस्थिति बनेको उहाँले बताउनुभयो ।  

महासचिव पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्व दिनका लागि संविधान संशोधन गर्ने पनि बताउनुभयो । ‘हामीले भनेका छौं, स्थायित्वको आधार खोजी गर्नका लागि संविधानको रिभ्यु गर्नेछौं, कानुनको पुनरावलोकन गर्नेछौं, संरचनागत सुधार गर्नेछौं’, उहाँले भन्नुभयो । 

नेपालको राजनीतिमा जनमत गुमाएकाले शासन गरेर लोकतन्त्रको नै मजाक उडाउने काम गरेको महासचिव पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो– तपाईंहरूले सुन्न भएको होला, एक समय २७५ सिट भएको संसदमा ३२ नम्बर त म्याजिक नम्बर !, यही ३२ नम्बरले पाँच वर्ष नै शासन गर्छ भन्ने हुङ्कार पनि सुन्नु भयो । 

महासचिव पोखरेलले देश निर्माणको काम युवा विना सम्भव नहुने बताउँदै राष्ट्र निर्माणमा युवा परिचालन आवश्यक रहेको स्पष्ट गर्नुुभयो । उहाँले सामाजिक अराजकताको अन्त्य नगर्ने हो भने देश बरबादीतर्फ जाने बताउनुभयो ।

उद्घाटन समारोह नेकपा (एमाले) युवा विद्यार्थी विशेष जिल्ला कमिटीका अध्यक्ष रामजी सापकोटाको अध्यक्षतामा सम्पनन भएको थियो । 


महत्वपुर्ण लिंकहरु