७ मङ्सिर २०८१, काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रलाई भ्रममा पार्ने षडयन्त्रका विरुद्ध जागरण सभा आयोजना गरिएको बताउनुभयो । 

देशका दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर राष्ट्रलाई राजनीतिक निकास दिन लागेको बेला यी खालका षडयन्त्र भएको उहाँले बताउनुभयो । 

ती षडयन्त्रलाई चिर्न आज उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्ला कमिटीको आयोजनामा जागरण सभा गरिएको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो । 

नेकपा (एमाले) राष्ट्र र राष्ट्रियताको पक्षमा उभिएकै कारण एमालेमाथि आक्रमण भइरहेको उहाँले बताउनुभयो । महासचिव पोखरेलले भन्नुभयो– हाम्रो पार्टीका विरुद्ध चौतर्फी घेराबन्दी र र आक्रमण हुँदै आएको छ, अहिले हाम्रो पार्टी एमालेलाई समाप्त पार्न अनेक खालका षडयन्त्र भइरहेका छन् । 

नेकपा (एमाले)लाई पटक पटक विभाजनको प्रयास गरिएको भए पनि कार्यकर्तापङ्ती चट्टान जसरी उभिएर पार्टीलाई जोगाई अहिलेको अवस्थामा ल्याएको उहाँले बताउनुभयो । नेकपा (एमाले) विरुद्ध फैलाइएका सबै भ्रमलाई कार्यकर्ताहरूले चिर्दै आएको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो । 

एमालेले रेलका कुरा गर्दा कागजको रेल बनाएर उडाउने काम गरिएको बताउँदै उहाँले चीन र भारतले नेपालमा रेलवे सेवालाई विस्तारको लागि चासो दिएको उहाँले स्मरण गराउनुभयो । महासचिव पोखरेलले भन्नुभयो– हामीले देखेका सपनाहरू नेपालको विकास र समृद्धिका सपना हुन् भन्ने कुरा हामीले प्रमाणित गर्यौं ।  

काम एउटाले गर्छ, जस अर्कालाई दिने नेपाली परम्परा बनेको उल्लेख गर्दै महासचिव पोखरेलले नेकपा (एमाले)का अध्यक्ष ओली प्रधानमन्त्री हुँदा विश्वमा उच्च आर्थिक प्रगति गर्ने मुलुकको सूचीमा नेपाल परेको भए पनि उहाँको खुट्टा तान्ने काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो–देश बनाउने पार्टी एमाले हो, काम गर्नेलाई काम गर्न देऊ भन्न सक्नुपर्छ, तब मात्र देश बन्दछ । 

नेपालमा सबै प्रकारका सङ्कटको समाधान एमालेबाट मात्र सम्भव भएको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– केपी ओली नेतृत्वमा बनेको अहिलेको सरकार नेपालको अहिलेको सङ्कट समाधानको लागि बनेको सरकार हो । 

राजनीतिक अस्थिरताको कारण नेपालको विकास हुन नसकेको उहाँले बताउनुभयो । देशको विकास र समृद्धिका लागि राजनीतिक स्थिरता, स्पष्ट दृष्टिकोण, बलिया राजनीतिक दल आवश्यक पर्ने उहाँले प्रष्ट पार्नुभयो । 

नेकपा (एमाले)सँग जोडेर विभिन्न प्रचार गरिएको बताउँदै उहाँले त्यसमा एमालेको कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभयो । एमालेमाथि जोडिएका सबै विषयमा छानबिन गर्न उहाँले चुनौती दिनुभयो । 

अराजकताका विरुद्ध प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली दह्रोसँग उभिएका कारण उहाँलाई बदनाम गराउने खेती भइरहेको र यो खेती नटिक्ने महासचिव पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो– नेकपा (एमाले) जनताको हृदयमा छ, राष्ट्रको हृदयमा छ । 

नेपाली समाजमा केही व्यक्तिहरू जे कुरालाई पनि षडयन्त्रको जालो रच्ने खेलमा लागेको उहाँले बताउनुभयो । कम्बोडियामा भइरहेको कार्यक्रममा एमालेका नेताहरू भाग लिन जाँदा समेत अनेक खालका कुप्रचार गर्ने काम गरिएको भन्दै महासचिव पोखरेलले आपत्ति जनाउनुभयो ।

सहकारी छानबिनमा व्यक्ति केन्द्रित होइन, घटना केन्द्रित भएर छानबिन गरौं भन्ने दल नेकपा (एमाले) भएको स्मरण गराउँदै उहाँले व्यक्ति केन्द्रित भएर अनुसन्धान गरौं भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले आफैं अनुसन्धानको दायरामा रहेको बताउनुभयो । त्यसको दोष समेत अहिले एमालेमाथि लगाउने काम भइरहेको महासचिव पोखरेलले सुनाउनुभयो । 

नेकपा एमाले देश बनाउने यात्रामा रहेको बताउँदै देश बनाउने सन्दर्भमा प्राप्त सबै सुझाव एमालेले ग्रहण गर्ने महासचिव पोखरेलले बताउनुभयो ।

नेकपा (एमाले) काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले स्वागत गर्नुभएको थियो भने ललितपुरका अध्यक्ष  पुरुषोत्तम आचार्यले सञ्चालन गर्नुभएको थियो । 

जागरण सभा अघि उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुरका विभिन्न ठाउँबाट आएका कार्यकर्ता तथा जनसमुदाय भद्रकालीबाट र्यालीका रूपमा सुन्धारा, बीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत भएको थियो । 


महत्वपुर्ण लिंकहरु