२९ मङ्सिर, २०८१ । काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको आयोजनामा आजदेखि पार्टी कामका विषयमा राष्ट्रिय कार्यशाला शुरू भएको छ ।  

तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुई दिने कार्यशालामा प्रदेश र जिल्ला कमिटीका  अध्यक्ष, सचिव र संगठन विभागका प्रमुख, प्रदेश कमिटीबाट थप दुई जना महिला कमरेडहरू, जनसंगठनका केन्द्रीय अध्यक्ष र महासचिव तथा महानगर र उपमहानगरका निर्वाचित मेयर, उपमेयरहरूको सहभागिता रहेको छ ।

कार्यशालामा आज पहिलो दिन प्रमुख वक्ताका रूपमा महासचिव शंकर पोखरेलले पार्टीको बार्षिक कार्ययोजनाका बारेमा अभिमुखीकरण गर्नुहुँदै पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने आधारहरू र सम्पादित कामका बारेमा सहभागीहरूको ध्यानाकर्षण गर्नुभयो ।  

महासचिव पोखरेलले मिसन–२०८४ मा आधारित बार्षिक कार्ययोजना कार्यान्वयनमा असफल हुने छुट पार्टीलाई नभएको बताउनुभयो । यस सन्दर्भमा पार्टी सदस्यता नवीकरण सर्वाधिक महत्वपूर्ण काम भएको भन्नुहुँदै उहाँले पार्टी कमिटीहरूले युवा तथा महिलाको क्षेत्रमा विशेष महत्वका साथ काम गर्नुपर्नेमा त्यसो नभइरहेको बताउनुभयो ।  

स्थानीय तहदेखि नै युवा र महिलाको क्षेत्रमा विशेष जोड दिएर काम गर्नुपर्ने बताउँदै महासचिव पोखरेलले प्रश्न गर्नुुभयो– पार्टी निर्माणका सन्दर्भमा जहाँ जोड दिनुपर्ने हो, त्यहाँ किन जोड दिन सकिरहेका छैनौं ? किन ध्यान गएको छैन ?

उहाँले योजना बनाए बमोजिम काम नगरे अपेक्षित परिणाम आउँदैन भन्ने कुरालाई नेतृत्वमा रहने सबैले बुझ्नुपर्ने बताउनुभयो । 

पार्टी जीवनका समस्याहरू औल्याउँदै महासचिव पोखरेलले पार्टीको नीति जनतासम्म पुग्ने÷पुर्याउने तथा वैचारिक राजनीतिक सङ्घर्षमा जनतासँग सम्वाद गर्नुपर्ने पक्षमा कमी रहेको र अहिले जुन ढङ्गले काम भइरहेको छ, यसरी एमालेलाई राष्ट्रिय शक्ति निर्माण गर्न कठिन हुने बताउनुभयो । 

उहाँले भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको मत परिणामको विष्लेषण सुनाउँदै हेर्दा विगतको तुलनामा उपलब्धि देखिए पनि परिणाम उत्साहित हुनुपर्ने खालको नभएको बताउनुभयो । महासचिव पोखरेलले स्थानीय तहमा जनप्रतिनिधिले गर्ने काम पार्टी निर्माणमा प्रयोग गर्नुपर्ने उल्लेख गर्दै जनप्रतिनिधिका काम पनि पार्टीलाई सहयोग पुग्ने खालका हुनुपर्ने बताउनुभयो । 

उहाँले मानिसलाई वैचारिक तथा राजनीतिक प्रशिक्षण दिइएन भने अवसरवादी र अराजक हुने बताउँदै पार्टी सदस्यहरूलाई प्रशिक्षण दिने काममा तल्ला कमिटीहरूको ध्यानाकर्षण गर्नुभयो । पार्टी सदस्यहरूलाई केन्द्रीय स्कुल विभागले मात्र प्रशिक्षण दिएर सम्भव नहुने बताउँदै माध्यमिक र आधारभूत तहको प्रशिक्षणको काम प्रदेश र जिल्ला कमिटीहरूले सञ्चालन गर्नुपर्ने बताउनुभयो । 

महासचिव पोखरेलले पार्टी र पार्टी नेतृत्वविरूद्ध हमला र भ्रमपूर्ण प्रचार भइरहँदा त्यसविरूद्ध पार्टीपङ्ती खरोरूपमा उत्रनुपर्नेमा प्रतिरक्षा कमजोर भइरहेको भन्नुहुँदै  यसलाई गम्भीरतापूर्वक लिन ध्यानाकर्षण गराउनुभयो ।  

उहाँले मुलुकमा देखिएको निराशालाई चिर्न राजनीतिक स्थायित्व  आवश्यक रहेको हुँदा निर्वाचनबाट बलियो शक्ति स्थापना गरेर त्यसकै जगमा स्थिर सरकार निर्माण गर्नुपर्ने बताउनुभयो । 

यसैगरी, पार्टीका स्थायी कमिटी सदस्य तथा केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले कार्यशालाको मुख्य विषयवस्तुको रूपमा “स्थानीय तहमा पार्टी कामका समस्या र समाधान” विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।

उहाँले पार्टीको संगठनात्मक अवस्था, स्थानीय तहको पार्टी काममा देखिएका समस्या र समाधानका उपायहरू प्रस्तुत गर्नुभएको छ । साथ,ै पार्टीको अबको ध्यान वडा केन्द्रित अभियानमा हुनुपर्ने भन्दै कार्यपत्रमा ३७ बुँदामा वडा केन्द्रित काम गर्न सुझाउनुभएको छ । 

कार्यशालामा स्वागत मन्तव्य राख्नुहुँदै स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले एमालेलाई देशको निर्विकल्प शक्ति बनाउने हो भने जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीलाई नयाँ गतिका साथ अझ सशक्त रूपमा अगाडि बढाउन यो कार्यशाला आयोजना गरिएको बताउनुभयो । 

कार्यशालामा पार्टीका उपमहासचिव तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, सचिव लेखराज भट्ट, पद्मा अर्याल, स्थायी कमिटी सदस्यहरू किरण गुरुङ, शेरधन राई, राजेन्द्र गौतम, गोरखबहादुर बोगटी लगायतको अथितिका रूपमा उपस्थिति रहेको थियो । 

संगठन विभाग प्रमुख काशिनाथ अधिकारीको अध्यक्षता र सचिव माधव ढुंगेलको सञ्चालनमा कार्यपत्र प्रस्तुति सकिएपछि समूह विभाजन गरी छलफल शुरु भएको छ । संगठन विभागका तर्फबाट निर्माण गरिएका दश वटा थीम र प्रश्नावलीमा समूहगत छलफल भइरहेको र समूहको निचोड कार्यशालामा प्रस्तुत हुने छ । 

प्रस्तुत रिपोर्टको अध्ययन गरी संगठन विभागका तर्फबाट कार्यशालाको निष्कर्ष निकालिने छ । कार्यशाला पश्चात पार्टी आन्तरिक रूपमा सुदृढ एकताका साथ अगाडि बढ्ने अपेक्षा गरिएको छ ।


महत्वपुर्ण लिंकहरु