समाचार । १२ माघ, २०८१ । 

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल हामी आफै बनाउँछौं भन्ने भावनाका साथ युवा जाग्नुपर्ने र लाग्नुपर्ने बताउनुभएको छ ।  

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दै महासचिव पोखरेलले नेकपा (एमाले) युवामा भरोसा गर्ने र युवालाई अवसर दिने पार्टी भएको स्पष्ट पार्नुभयो । 

नयाँ पुस्तालाई राजनीतिसँग जोड्न नसक्ने राजनीतिक दलले देशका लागि काम गर्न नसक्ने बताउँदै महासचिव पोखरेलले भन्नुभयो– अबको युग युवाको हो, युवाको साथमा नेकपा (एमाले) छ । 

आज राष्ट्र निर्माण गर्ने व्यक्ति प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि चौतर्फी हमला भइरहेको बताउँदै महासचिव पोखरेलले एमाले र अध्यक्ष ओलीमाथिको हमला नराम्रो काम गरेको कारण नभई नेपाललाई असफल बनाउन चाहनेहरूको हमला भएको स्पष्ट गर्नुभयो ।  

उहाँले देश असफल पार्न गरिएको यस प्रकारको नियोजित हमलाविरूद्ध राष्ट्रिय युवा संघ नेपाललाई अग्र मोर्चामा उभिन आग्रह गर्नुभयो । जहाँ सङ्कट हुन्छ, त्यहाँ समाधान हुने बताउँदै देशको सार्वभौम स्वाधीनता रक्षाका लागि नेपाली युवा जाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

महासचिव पोखरेलले केही गर्छु भन्ने युवालाई देशमा नै सम्भावना रहेको बताउनुभयो ।

लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्नुपर्ने  र ती दलले शासन गर्ने कुरा प्राकृतिक भएको प्रष्ट पार्दै जनताले अस्वीकार गरेका दलहरू शीर्ष स्थानमा रहने कुरा अप्राकृतिक भएको उहाँले बताउनुभयो । 

महासचिव पोखरेलले ठुला र बलिया दलले मात्र मुलुकमा विकास र समृद्धिको काम गर्न सक्ने स्पष्ट पार्नुभयो । 

समाजलाई अघि बढाउन समाजमा आशा जगाउनुपर्ने र त्यो आशाको संवाहक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली भएको बताउँदै उहाँले भन्नुभयो– हामी अध्यक्ष ओलीको नेतृत्वमा नेपाललाई समृद्ध नेपाल, सुखी नेपालीको आकाङ्क्षा पुरा गर्ने अभियान चलाउन चाहन्छौं । 

देशलाई बलिया राजनीतिक दल, स्पष्ट राजनीतिक दृष्टिकोण र दूरदर्शी नेतृत्व आवश्यक रहेको र त्यो क्षमता नेकपा (एमाले) र अध्यक्ष ओलीसँग मात्र रहेको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले देखेका सपना आज व्यवहारमा बदलिँदै गएको उहाँले स्पष्ट पार्नुभयो ।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल लगायत केन्द्रीय नेताहरू अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा सफल युवा प्रतिभाहरूलाई सम्मान गरिएको थियो ।


महत्वपुर्ण लिंकहरु