
काठमाडौं । जापानको साताव्यापी भ्रमणमा रहनुभएका नेकपा (एमाले)का महासचिव शंकर पोखरेल मङ्गलबार (माघ २२) गते टोकियोमा विभिन्न महत्वपूर्ण भेटघाट र छलफलमा व्यस्त रहनुभयो ।
यस क्रममा नेपालका लागि जापानका पूर्व राजदूतहरू, नेताहरू, सांसद तथा सरकारी अधिकारीहरूसँग नेपाल–जापान सम्बन्ध, आर्थिक सहयोग आदानप्रदान र नेपालमा बैदेशिक लगानी लगायत विषयहरूमा छलफल भएको छ ।
महासचिव पोखरेल र नेपालका लागि जापानका पूर्व राजदूतहरू कुनिओ ताकाहाशी, मित्सुआकी कोजिमा र मासाशी ओगावाबीच विशेष भेटवार्ता भएको छ ।
त्यसैगरी जापान–नेपाल समाजका निर्देशकहरू काजुनोरी तागामी र सेइगो त्सुजीसँग पनि भेटवार्ता भएको र उहाँहरूबीच नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको महासचिव पोखरेलका स्वकीय सचिव सरोज अधिकारीले जनाउनुभएको छ ।
भेटमा नेपालको विकासका सम्भावनाहरू, आपसी सहकार्यका क्षेत्रहरू तथा विगतका अनुभवहरूको आदान–प्रदानलाई प्रभावकारी बनाउन सकिने उपायहरूबारे विस्तृत विचारविमर्श भएको र यस महत्वपूर्ण छलफलबाट नेपाल–जापान सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन मद्दत पुग्ने विश्वास गरिएको छ ।
यसैगरी, महासचिव पोखरेलको उपस्थितिमा जापान–नेपाल द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन र विभिन्न क्षेत्रहरूमा सहकार्य विस्तार गर्न जापानका लिबरल डेमोक्रेटिक पार्टीका सदस्य, जापानको उपल्लो सदनका संसद सदस्य तथा जापान–नेपाल संसदीय मैत्री संघका महासचिव योसुके तुरुहोसँग अर्को एक महत्वपूर्ण बैठक भएको छ ।
बैठकमा महासचिव पोखरेलका साथै जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, नेकपा (एमाले)का केन्द्रीय सदस्य डा. सूर्य पाठक, डा. राम गिरी तथा प्रवासी नेपाली मञ्च, जापानका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो ।
बैठकमा नेपाल र जापानबीचको संसदीय सहकार्यलाई अझ मजबुत बनाउने विषयमा विस्तृत छलफल भयो । साथै, विकास निर्माण, जलविद्युत आयोजना, कृषि क्षेत्रमा लगानी, सूचना प्रविधि तथा पर्यटन प्रवद्र्धन जस्ता महत्वपूर्ण विषयहरूमा दुई देशबीच सहकार्य गर्ने सहमति छ । यस छलफलले भविष्यमा नेपालमा जापानी लगानी प्रवाहलाई थप सहज बनाउने तथा दुबै देशका नागरिकलाई प्रत्यक्ष लाभ दिलाउने अपेक्षा गरिएको छ ।
यसैगरी, नेपालमा लगानीका सम्भावनाहरूलाई केन्द्रमा राख्दै महासचिव पोखरेलको उपस्थितिमा जापान–नेपाल विकास मञ्चका सभापति एवं पूर्व संसदीय उप अर्थमन्त्री मोतोयुकि ओदाचिसँग महत्वपूर्ण बैठक सम्पन्न भएको छ । बैठकमा विशेष गरी शैक्षिक, आर्थिक, सांस्कृतिक, प्राविधिक तथा कृषि क्षेत्रमा लगानीका विषयमा विस्तृत छलफल भएको छ ।
बैठकमा नेपालमा विदेशी लगानी प्रवद्र्धन गर्दै औद्योगिक विकास, रोजगारी सिर्जना तथा प्रविधि हस्तान्तरणमा जापानी सहयोगलाई अझ प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको थियो ।
महासचिव पोखरेलले नेपालमा लगानीका लागि राजनीतिक स्थायित्व, नीतिगत सुधार र लगानीमैत्री वातावरण निर्माण गर्दै विदेशी लगानीकर्तालाई प्रोत्साहित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
छलफलका क्रममा जापानी प्रतिनिधिहरूले नेपालमा लगानीका विभिन्न सम्भावनाहरूप्रति चासो व्यक्त गर्दै आगामी दिनमा सहकार्यलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैबीच, मङ्गलबारै जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत कार्यक्रम आयोजना गर्नुभयो ।
सो अवसरमा राजदूत सुवेदीले महासचिव पोखरेललाई दूतावासले हाल भोगिरहेका विभिन्न चुनौतीहरू, दूतावासका महत्वपूर्ण कार्यहरू तथा हालसम्म प्राप्त प्रगतिहरूबारे जानकारी गराउनुका साथै जापानमा रहेका नेपाली समुदायका समस्या समाधानका लागि आवश्यक पहल गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा प्रवासी नेपाली मञ्च, जापानका प्रतिनिधिहरूले जापानमा रहेका नेपाली समुदायका मुद्दाहरू उजागर गर्दै तिनको समाधानका लागि सहकार्य आवश्यक रहेको धारणा राखेका थिए । सो समारोहमा महासचिव पोखरेलले प्रवासी नेपालीहरूको हकहित र सेवा सुविधाका लागि नीतिगत पहलका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । महासचिव पोखरेल माघ २३ गते स्वदेश फर्कनुभयो ।