काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कमजोर राज्यले नागरिकको अधिकार संरक्षण गर्न नसक्ने बताउनुभएको छ । 

प्रेस चौतारी नेपाल केन्द्रीय समितिको दोस्रो बैठकलाई शुक्रबार ललितपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले राज्यलाई कमजोर पार्न सुनियोजित प्रचार गरिएको बताउनुभयो । यसले राज्य र नागरिकका बीचमा द्वन्द्व सिर्जना गरेको उहाँको धारणा छ । 

‘लोकतन्त्रलाई राज्य बलियो बनाउने र बलियो राज्यका माध्यमबाट नागरिकलाई बलियो बनाउने कुराको पैरवी गर्नु पर्दछ’, महासचिव पोखरेलले भन्नुभयो । 

आमसञ्चार माध्यमले हरेक घटनालाई राज्य र नागरिकका बीच गहिरो सम्बन्ध कायम गर्ने कोणबाट विश्लेषण गर्नुपर्ने उहाँको धारणा छ । 

समाचारले समाजलाई सकारात्मक प्रभाव पार्नुपर्नेमा जोड दिँदै महासचिव पोखरेलले नकारात्मक समाचारले समाजलाई गलत दिशातर्फ लैजाने धारणा राख्नुभयो । 

‘नकारात्मक समाचारले समाजलाई गलत दिशातर्फ लैजान्छ, कस्तो समाज निर्माण गर्ने भन्ने सन्दर्भमा सोचेर समाचार सम्प्रेषण गर्नुपर्दछ’, उहाँले भन्नुभयो । 

महासचिव पोखरेलले पत्रकार सधैँ सिर्जनात्मक हुनुपर्ने, त्यसो भएन भने पत्रकार नसुनिने र नदेखिन पात्र बन्ने धारणा राख्नुभयो । ‘पत्रकार समाजमा देखिने र सुनिने बन्नु पर्दछ, निर्णायक क्षणमा पार्टी र राष्ट्रको पक्षमा आफ्नो सामथ्र्य देखाउनु पर्दछ’, उहाँले भन्नुभयो । 

सूचनामा बल हुने तर यसका लागि बलियो नेटवर्क हुनुपर्ने बताउँदै महासचिव पोखरेलले प्रेस चौतारी नेपाललाई बलियो नेटवर्क बनाउन आग्रह गर्नुभयो । 

नेपाल राष्ट्रलाई कमजोर बनाउन बाहिरबाट लगानी गर्नेहरूबाट नेपालमा स्वघोषित विद्वानहरू परिचालित भएको उहाँले बताउनुभयो । नेपालमा धेरै बाह्य लगानीबाट हुने रिसर्चहरू प्रायोजित र देशलाई कमजोर बनाउने खालका हुने गरेको महासचिव पोखरेलको धारणा छ । 

नेपालका सबै सूचनामा पत्रकारको पहुँच भयो भने कुन चिज प्रायोजित हो र कुन वास्तविक हो भन्ने कुरा सार्वजनिक हुने भनाइ राख्नुहुँदै उहाँले पत्रकारलाई आफ्नै सूचनाको जगमा उभिन आग्रह गर्नुभयो । अहिले एमाले र एमालेको नेतृत्वमाथि चौतर्फी घेराबन्दी भएको र त्यो घेराबन्दी नराम्रो काम गरेको कारण वा कामको नराम्रो परिणाम आएका कारण नभएको महासचिव पोखरेलले प्रष्ट पार्नुभयो । एमालेले विकास र समृद्धि तथा राष्ट्र हितको पक्षमा काम गरेको कारण विकास विरोधीले घेराबन्दी गरेको उहाँको धारणा छ । 

महासचिव पोखरेलले भन्नुभयो– यो मुलुकमा विकासको सपना देख्ने, रणनीतिक ठुला विकास परियोजनाको काम गर्ने पार्टी नेकपा (एमाले) हो । 

लोकप्रियवादले समाजलाई दुर्घटनातर्फ लैजाने बताउँदै यसले देशलाई विकास र समृद्धि दिन नसक्ने उहाँको धारणा छ । लोकप्रियवाद समस्याको समाधान नभएको उहाँले स्पष्ट पार्नुभयो ।

समाजलाई भ्रमबाट मुक्त गराउने र सत्य कुरा प्रवाह गर्ने काम पत्रकारले गर्नुपर्नेमा जोड दिँदै महासचिव पोखरेलले मानिसमा विकास भएको नकारात्मक भावनालाई चिर्न पत्रकारले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयोे । 

सूचना र प्रविधिको गलत प्रयोगले समाजलाई गलत दिशातर्फ लगेको बताउँदै त्यसबाट देशलाई सही बाटोमा ल्याउने सामथ्र्य नेकपा (एमाले)ले मात्रै राख्ने उहाँको भनाइ छ । 


महत्वपुर्ण लिंकहरु