
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेले ल्याएको विकासको अवधारणाले नै देश विकास र समृद्धिको बाटोमा अघि बढेको बताउनुभएको छ ।
१३६ औँ अन्तर्राष्ट्रिय मजदुुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)द्वारा आज आयोजित कार्यक्रममा एमालेले ल्याएका सामाजिक सुरक्षाका कार्यक्रमले देशमा धनी र गरिब बीचको खाडल पुरिएको धारणा उहाँले राख्नुभयो ।
महासचिव पोखरेलले भन्नुभयो– हामीले छोटो समयमा समानताको यात्रा तय गरेका छौँ, नेपाली जनतामा धनी–गरिब बीचको खाडल पुर्ने कुरामा हामीले छोटो समयमा ठुलो उपलब्धि प्राप्त गरेका छौं ।
नेपालको अर्थतन्त्रको विकासमा सबैभन्दा बढी भूमिका श्रमजीवी वर्गको रहेको बताउँदै उहाँले श्रमजीवी वर्गलाई सङ्गठित गर्ने र अधिकार प्रदान गर्ने आन्दोलनको नेतृत्व गरेको भन्दै जिफन्टलाई धन्यवाद दिनुभयो । जति बेला एमाले सरकारमा पुग्छ, त्यति बेला श्रमजीवी वर्गको हकको पक्षमा कानुन र कार्यक्रम ल्याउने गरेको महासचिव पोखरेलले सुनाउनुभयो ।
एमाले मुलुकको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा निरन्तर लागिरहेको बताउँदै अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा अघि सारेको नेपालको परराष्ट्र नीति र विकास नीति परम्परागत सोच भन्दा फरक रहेको उहाँले स्पष्ट गर्नुभयो । एमालेको यो नीति भविष्यको लागि आधारशीला भएको महासचिव पोखरेलले बताउनुभयो ।
अहिले पनि देशमा सोचे जस्तो विकास हुन नसकेको भन्दै उहाँले रोजगारीका लागि युवा विदेश जाने कुरालाई रोकेर देशमा कृषिजन्य उत्पादनको क्षेत्रमा बढोत्तरी गर्नुपर्ने धारणा राख्नुभयो ।
महासचिव पोखरेलले आज प्रतिगामी मण्डलेहरूले परिवर्तनप्रति अनास्था पैदा गर्ने काम गरिरहेका बताउँदै त्यसको श्रमजीवी वर्गले प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभयो ।