
अध्यक्ष ओलीको विकल्प खोज्ने बेला भएको छैनः महासचिव पोखरेल
धनकुटा । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विधानमा रहेका दुईवटा विषयमा पार्टीमा मतभेद रहेकोजस्तो देखिए पनि त्यो समाधान भइसकेको बताउनुभएको छ ।
नेकपा (एमाले) कोशी प्रदेश कमिटीको सातौँ पूर्ण बैठकलाई मंगलबार धनकुटाको हिलेमा सम्बोधन गर्दै महासचिव पोखरेलले ७० वर्षको उमेर हद र दुई कार्यकालको विषयमा मतभेद जस्तो देखिए पनि त्यो अन्त्य भइसकेको बताउनुभयो ।
पार्टीको सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीले सर्वसम्मत रूपमा उक्त विषयलाई टुङ्ग्याइसकेको उहाँले बताउनुभयो । ‘यसमा एक जना कर्ण थापाको मात्रै असहमति छ’, उहाँले स्पष्ट गर्नुभयो ।
पार्टी विधानमा आफैले स्थगित गरेको बिषयलाई स्थगित नगरे जसरी कार्यकर्ता र जनताको बीचमा लैजान नहुने धारणा राख्दै महासचिव पोखरेलले आफैँले गरेको काममा टिका टिप्पणी गर्नु राम्रो नहुनेमा जोड दिनुुभयो ।
पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु हुँदैन भन्ने कुरा एमालेले लोकतन्त्र, पार्टी र स्वयं पूर्वराष्ट्रपतिको हितका लागि सोचविचार गरेर गरेको महासचिव पोखरेलले बताउनुभयो । बाँकी विषयमा महाधिवेशनमा आधारसहित छलफल गर्न सकिने उहाँको भनाइ छ ।
पार्टीभित्र विभिन्न खालका अन्तर्घात अहिले पनि कायम रहेको भन्दै पार्टीलाई राष्ट्रिय शक्ति बनाउन यस्ता प्रवृत्ति त्यागेर एकढिक्का भएर अघि बढ्नुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयो । उहाँले भन्नुभयो– पार्टीको आन्तरिक जीवनमा देखिएको आन्तरिक विवादले पार्टी सङ्कटमा परेको छ, पार्टीलाई बलियो बनाउन सिङ्गो पार्टी एकजुट हुनुपर्दछ ।
कोही आयो भने म असुरक्षित हुन्छु भन्ने कुराबाट सबै नेताकार्यकर्ता मुक्त हुनुपर्नेमा उहाँले जोड दिनुभयो । असुरक्षित ठान्ने सोच र प्रवृत्तिले पार्टीलाई कमजोर बनाउने महासचिव पोखरेलको धारणा छ । ‘भविष्यको योजना अन्तर्गत पार्टी निर्माण गर्ने योजनामा जानु पर्दछ, लक्ष समाज बदल्ने हो, माध्यम मात्र चुनाव हो’, उहाँले भन्नुभयो ।
यत्रो समय मैले गरेँ अब पार्टीले गर्नुपर्छ भन्ने सोच गलत भएको भन्दै उहाँले त्यसलाई त्याग्नुपर्नेमा जोड दिनुभयो । महासचिव पोखरेलले एमालेका सबै (पाँच लाख) सदस्यलाई पार्टीले पद दिन नसक्ने कुरालाई आत्मसात गरी सबै नेताकार्यकर्तालाई पार्टीले आफ्नो गन्तव्य बनाएको समृद्ध नेपाल निर्माणको योजनामा अघि बढ्न आग्रह गर्नुभयो ।
समाज बदल्नका लागि हिजो जीवन जोखिममा राखेर हिँडेको स्मरण गराउँदै उहाँले अहिले पार्टीभित्र अवसरवाद जन्मिएको बताउनुभयो । महासचिव पोखरेलले आफूलाई चित्त बुझेन भने सामाजिक सञ्जालमा पार्टी र नेताको विरुद्ध जथाभाबी लेख्ने प्रवृत्ति रोक्न निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो– कुनै पनि सामाजिक परिवर्तनका लागि एकता र अनुशासन अनिवार्य सर्त हो, समाजलाई बदल्ने तागत नेकपा (एमाले) बाहेक अरूसँग छैन, एमालेका नेता कार्यकर्ता एक भएर लाग्ने हो भने एमालेको लागि मिसन २०८४ को लक्ष प्राप्ति सम्भव छ ।
पार्टीले बहुमतको सरकार बनाएपछि मात्र पार्टीको नीति लागु गर्न सकिने कुरा नबिर्सन आग्रह गर्दै महासचिव पोखरेलले चुनावको बेलामा काम नलाग्ने नेता कार्यकर्ताको कुनै काम नभएको बताउनुभयो ।
उहाँले पार्टीलाई बलियो बनाउन युवाका बीचमा जानुपर्नेमा जोड दिनुभयो । एमाले युवाबाट नै बनेको पार्टी भएकाले यो कुरालाई जगाउन आवश्यक रहेको र यसका लागि युवाको बीचमा काम गर्ने योजना बनाउन आवश्यक रहेको महासचिव पोखरेलले प्रष्ट पार्नुभयो ।
उहाँले मतदान केन्द्रमा आज सबैभन्दा बढी सहभागिता महिलाको हुने गरेको औल्याउँदै महिलाको बीचमा पार्टीको काममा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
महासचिव पोखरेलले विदेशमा रहेका युवालाई पार्टीको अवधारण बुझाउन नसक्ने हो भने मत प्रभावित हुन्छ भन्ने कुरा पनि बिर्सन नहुनेमा जोड दिनुभयो ।
पार्टी नेतृत्वमाथि आक्रमण भइरहेको बेला नेतृत्वलाई जोगाउनु सबैको दायित्व भएको बताउँदै अहिले एमाले र यसको नेतृत्व विरुद्ध आक्रमण भइरहेकाले सिङ्गो पार्टीपङ्क्तिले एक भएर जोगाउनुपर्ने उहाँको धारणा छ ।
महासचिव पोखरेलले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने बेला नभएको स्पष्ट गर्नुभएको छ ।
नेपाली जनतामा आशा जगाउने र समृद्धिको यात्रा अगाडि बढाउने काम अध्यक्ष ओली नेतृत्वकै सरकारले गरेकाले एमाले र अध्यक्ष ओलीमाथि प्रहार भएको उहाँँले बताउनुभयो ।
नेपालको अस्थिर राजनीतिलाई स्थिर बनाउन एमाले र अध्यक्ष ओलीले खेलेको भूमिकालाई रोक्न चौतर्फि प्रहार भएको बताउँदै खासगरी सरकारबाट बाहिरिएका माओवादी र जनताबाट अस्वीकृत दलहरू प्रधानमन्त्री ओलीका विरुद्ध लागेको महासचिव पोखरेलले प्रष्ट पार्नुभयो ।
बैठकमा पार्टीका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य तथा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, प्रदेशका विभिन्न जिल्लाको जिम्मेवारीमा रहनुभएका केन्द्रीय सदस्यहरू, जिल्लाका अध्यक्षहरू सहभागी रहनुभएको छ । नेकपा –एमाले) कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाको अध्यक्षमा बसेको बैठक बुधबारसम्म चल्ने छ । बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने सुझावहरु सङ्कलन गरिने छ ।