समाचार । ४ मङ्सिर, (२०८२)

काठमाडौं । नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनबाट पार्टीको महासचिवमा शंकर पोखरेल निर्वाचित हुनुभएको छ । 

काठमाडौंको भृकुटीमण्डपमा मङसिर ३ गते विहान सम्पन्न महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचन परिणाम अनुसार पार्टीको अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल  निर्वाचित हुनुभएको हो । 

महासचिवमा पोखरेलसँग पार्टीका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रतिस्पर्धा गर्नुभएको थियो । महासचिवमा पोखरेलले १२२८ मत प्राप्त गरी विजयी हुनुभयो भने पाण्डेले ९९९ मत पाउनुभएको थियो । 

यसैबीच नवनिर्वाचित महासचिव पोखरेलले आज सामाजिक सञ्जाल फेसबुकमा महाधिवेशनबारे आफ्नो विष्लेषण लेख्दै एमालेमा सक्षम नेतृत्व चयन भएको बताउनुभएको छ । उहाँले एमालेको सही नेतृत्व चयन भएको विषयलाई दश बुँदामा व्याख्या गर्नुभएको छ ।

महासचिव पोखरेलले लेख्नु भएको छः

नेकपा (एमाले)को एघारौँ राष्ट्रिय महाधिवेशन पार्टीको गौरव वृद्धि गर्ने ऐतिहासिक महाधिवेशनका रूपमा सफलतापूर्वक सम्पन्न भएको छ । महाधिवेशनका सन्देशहरुलाई अब पार्टी पङ्क्तिले आम जनताबीच पुर्याउनु पर्दछ । विधान महाधिवेशनबाट पारित नीतिका आधारमा अघि बढ्न सक्षम नेतृत्व चयन गरिएको यो महाधिवेशनका प्रमुख विशेषताहरू यसप्रकार छन्–

१.एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह नेपालको राजनीतिक इतिहासमै भव्य र ऐतिहासिक समारोह बन्न सफल भयो । भक्तपुर सल्लाघारीस्थित करिब १०० रोपनी क्षेत्रमा फैलिएको मैदान उद्घाटन समारोहका लागि साँघुरो देखिनु यसको प्रमाण हो ।

२.पार्टी र नेतृत्व, विशेषतः पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भइरहेको घेराबन्दीलाई चिर्दै राष्ट्रिय राजनीतिक चुनौती सामना गर्न उहाँको नेतृत्व अपरिहार्य रहेको सन्देश महाधिवेशनले स्पष्ट रूपमा प्रवाह गर्यो ।

३.नयाँ पुस्ताको सहभागिता बढाउन विशेष आरक्षणको व्यवस्था गरिएकाले उल्लेख्य सङ्ख्यामा नवयुवाहरू केन्द्रीय कमिटीमा प्रवेश गर्न सफल भएका छन् ।

४.यस पटक प्रायः सबै पदमा प्रतिस्पर्धा भयो । विजयी र पराजित दुवैले निर्वाचन प्रक्रिया र परिणामलाई स्वाभाविक रूपमा स्वीकार गरे, जसले पार्टीको लोकतान्त्रिक छविलाई अझ सुदृढ बनाएको छ ।

५.आन्दोलनका अग्रज नेताहरूले स्वेच्छिक अवकाश लिने घोषणा गर्नु सकारात्मक र अनुकरणीय परम्पराको सुरुआत हो ।

६.महाधिवेशनको व्यवस्थापन अत्यन्त चुस्त र दुरुस्त रह्यो । निर्वाचन प्रक्रियामा केही प्राविधिक समस्या आएर एक दिन लम्बिए पनि विगतका महाधिवेशनको तुलनामा छोटो समयमा सम्पन्न हुन सक्यो ।

७.छोटो तयारी समयका कारण विदेशी पाहुनाहरू आमन्त्रण गर्न नसकिए पनि उद्घाटन समारोहमा नेपालका प्रमुख राजनीतिक दलका नेताहरूले व्यक्त गरेका विचारले नेकपा (एमाले)को नेतृत्वकारी भूमिका स्थापित गर्यो ।

८.महाधिवेशन सफल पार्न महत्त्वपूर्ण भूमिका खेल्नुभएका कमरेड विष्णु रिमालको निर्वाचनमा पराजय दुःखद पक्ष रह्यो । यस घटनाले पार्टीपङ्क्तिमा कामभन्दा प्रचारको प्रभाव बढ्दै गएको सङ्केत गरेको छ, जसलाई सच्याउन वैचारिक र राजनीतिक प्रशिक्षण आवश्यक देखिन्छ ।

९.समग्रमा एघारौँ महाधिवेशन भव्य र ऐतिहासिक रूपमा सफल रह्यो । यसले निर्णायक राष्ट्रिय शक्ति निर्माणको आधार तयार गरेको छ । यद्यपि महासचिव पदमा मेरो उम्मेदवारी अत्यन्त प्रतिस्पर्धात्मक र पेचिलो रह्यो । अनेकन् भ्रम र अफÞवाह सिर्जना गरी गरिएको चौतर्फी घेराबन्दी र प्रहारलाई कार्यकर्ता पङ्क्तिले दृढतापूर्वक सामना गर्यो र असफल तुल्यायो ।

१०.एघारौँ महाधिवेशनले पार्टी निर्माणमा तीन पुस्ताको संयोजनको नीतिलाई व्यवहारमा उतारेको छ । ४० वर्षमुनिका नवयुवासहित करिब एकतिहाइ नयाँ केन्द्रीय सदस्यहरू महाधिवेशनबाट निर्वाचित भएका छन् ।

महाधिवेशनलाई ऐतिहासिक रूपमा सफल बनाउन र महासचिवका रूपमा मेरो उम्मेदवारीलाई सफल बनाउन भूमिका खेल्नुहुने सबैप्रति हृदयदेखि नै आभारसहित धन्यवाद ज्ञापन गर्दछु । विभिन्न माध्यमबाट शुभेच्छा, शुभकामना र निर्वाचनपछि शुभकामना दिनुहुने सबैलाई धन्यवाद व्यक्त गर्दछु । पार्टी, आन्दोलन र मुलुको हितका पक्षमा आगामी दिनमा पनि हामी सबै एकसाथ रहनेछौँ । धन्यवाद ।


महत्वपुर्ण लिंकहरु