दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा दाङ क्षेत्र नं. २ बाट उम्मेदवार बन्नुभएको छ ।
महासचिव पोखरेलले पार्टीका नेताकार्यकर्ता र जनताको उत्साहपूर्ण सहभागितामा र्यालीसहित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभयो । निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गराउने निर्वाचन आयोगको कार्यतालिका थियो ।
महासचिव पोखरेल २०७४ को निर्वाचनमा दाङबाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभई लुम्बिनी प्रदेशको पहिलो र सफल मुख्यमन्त्री बन्नुभएको थियो भने २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत सत्तागठबन्धनका साझा उम्मेदवारसँग झिनो मतान्तरले पराजित हुनुभएको थियो ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले यसपटक देशका सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । उपाध्यक्षहरू गोकर्ण विष्ट गुल्मी क्षेत्र नं. २ बाट, पृथ्वीसुब्बा गुरुङ लमजुङ र विष्णुप्रसाद पौडेल रूपन्देही निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवार बन्नुभएको छ ।
उपमहासचिवहरू लेखराज भट्ट कैलाली क्षेत्र नं ४ र रघुवीर महासेठ धनुषा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बन्नुभएको छ ।
त्यसैगरी सचिवहरू भानुभक्त ढकाल तेह्रथुम, शेरधन राई भोजपुर, डा. राजन भट्टराई काठमाडौं क्षेत्र नं. ४ र महेश बस्नेतले भक्तपुर क्षेत्र नं. २ मा उम्मेदवारी दिनुभएको छ । यस्तै पार्टीका नेता ईश्वर पोखरेल काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको छ ।
दाङका तीन निर्वाचन क्षेत्रमध्ये दाङ–१ मा रेवतीरमण शर्मा र दाङ–३ मा घनश्याम पाण्डे पार्टीका तर्फबाट उम्मेदवार हुनुहुन्छ ।
यसपाली नेकपा (एमाले)ले अगाडि सारेको सिङ्गो उम्मेदवार सङ्ख्यामध्ये ५४.५४ प्रतिशत नयाँ अनुहार रहेका छन् ।
मधेस र सुदूरपश्चिममा ५०÷५० प्रतिशत र कोशीमा ५३.५७ प्रतिशत उम्मेदवार नयाँ हुनुहुन्छ । सबैभन्दा धेरै नयाँ उम्मेदवार कर्णाली प्रदेशमा ७५ प्रतिशत र कम लुम्बिनीमा ४२.३० प्रतिशत हुनुहुन्छ । बागमती र गण्डकीमा यो सङ्ख्या क्रमशः ६०.६० प्रतिशत र ६१.११ प्रतिशत रहेको छ ।
नेकपा (एमाले)ले यस निर्वाचनलाई हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै नयाँ पुस्ताको सुन्दर भविष्य निर्माण गर्ने निर्णायक मोडका रूपमा लिनुका साथै संविधान र लोकतन्त्रको पक्षमा प्रतिगमनविरूद्धको जनमत संग्रहका रूपमा लिएको छ ।
यो निर्वाचनलाई नेकपा (एमाले)ले सामान्य निर्वाचन नभई लोकतन्त्रको रक्षाका साथै देश बनाउने र जलाउनेबीचको विजय र पराजयको विशेष निर्वाचनका रूपमा लिएको छ ।
आज देशभर उम्मेदवारी दर्तापछि पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेकपा (एमाले)ले यस निर्वाचनलाई सामान्य आवधिक निर्वाचनको रूपमा मात्रै नहेर्न आममतदातासँग अपिल र अनुरोध गरेको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, संवैधानिक सर्वोच्चता, कानुनी शासन, मानवअधिकारको संरक्षण र प्रवद्र्धन, सामाजिक न्यायसहितको समृद्धिका लागि नेकपा (एमाले)को नेतृत्वमा तय भएका राष्ट्रिय लक्ष्य र आकाङ्क्षा हासिल गर्न नेकपा (एमाले)बाट प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी मनोनयन गरेका उम्मेदवारहरूलाई आफ्नो अमूल्य मतदान गरी विजयी गराउन हार्दिक अपिल गरेको छ ।