विराटनगर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीभित्र गुटबन्दी र विवाद नरहेको बताउँदै पार्टी एकताबद्ध रुपमा अगाडि बढ्ने बताउनुभएको छ । 

नेकपा (एमाले) विराटनगर महानगर कमिटीले आयोजना गरेको ‘मुलुकको राष्ट्रिय राजनीति र अबको कार्यदिशा’ विषयक प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सचिवालयले गरेको पार्टी पुनर्गठनको निर्णयलाई कार्यान्वयन गरिने बताउनुभयो । 

अहिलेको राजनीतिमा पपुलिजम, अनार्किजम र अपर्चुनिजम हाबी भएको र यो लामो समय नटिक्ने बताउँदै महासचिव पोखरेलले यसले समाजमा घृणा र अविश्वास मात्र पैदा गर्ने धारणाा राख्नुभयो । 



उहाँले प्रधानमन्त्री बालेन शाह र रास्वपा जस्ता शक्तिहरूले जनतामा भ्रम छरेर छिटो परिणाम खोज्न खोजेको तर उनीहरूको पतन पनि उत्तिकै छिटो हुने आफ्नो विश्लेषण सुनाउनुभयो ।  

महासचिव पोखरेलले नेपालको बामपन्थी आन्दोलन पछिल्लो समय रक्षात्मक अवस्थामा पुग्नुको गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभयो । कुनै समय ६० प्रतिशतसम्म जनमत रहेको बामपन्थी शक्ति अहिले २२–२३ प्रतिशतमा खुम्चिनु चिन्ताको विषय भएको उहाँले बताउनुभयो । 

नेकपा (एमाले)ले नाकाबन्दीको सामना गरेको, नयाँ नक्सा जारी गरेको र ठुला पूर्वाधारका कामहरू गरेको भए पनि जनताको मन पढ्न नसकेका कारणा चुनावी परिणाम सोचेजस्तो नआएको उहाँले बताउनुभयो । सामाजिक सञ्जालमा आउने फेक न्युज र भाइरल कन्टेन्टले हाम्रो योगदानलाई ओझेलमा पारेको विश्लेषण महासचिव पोखरेलले सुनाउनुभयो ।  

महासचिव पोखरेलले जनतासँगको सम्बन्ध औपचारिक मात्र भएको बताउँदै पार्टीका नेताकार्यकर्ताको कार्यशैलीमा परिवर्तन ल्याउनुपर्ने आवश्यकतामा जोड दिनुभयो । 

उहाँले पार्टीमा ‘जेन–जी’ पुस्तालाई जोड्न नसकिएको यथार्थ स्वीकार गर्दै कम्तीमा ३३ प्रतिशत युवालाई कमिटीमा प्रतिनिधित्व गराएर पार्टीमा जोड्नुपर्नेमा जोड दिनुभयो । 

महासचिव पोखरेलले २०८४ मा हुने स्थानीय तह र प्रदेश सभाको निर्वाचनमा एमालेलाई पहिलो शक्तिका रूपमा स्थापित गर्न छ बुँदे कार्यदिशा अघि सार्दै पुनर्जागरण अभियान सुरु गरिएको बताउँदै अब घरदैलो र टोल–टोलमा पुगेर जनतासँग जोडिने, आफ्ना कुरा सुनाउनुअघि जनताको गुनासो र सुझाव सुन्ने, संवादका माध्यमबाट जनताको विश्वास जित्ने, पार्टीमा रहेका इमानदार तर रुष्ट कार्यकर्तालाई फकाउने र जिम्मेवारी दिने, टोलदेखि प्रदेशसम्मका कमिटीहरूलाई सक्रिय र उत्तरदायी बनाउने, जनसंगठनहरूलाई सक्रिय बनाउने काममा पार्टी लाग्नुपर्नेमा जोड दिनुभयो । 

‘मिसन पार्टी जागरण’ अभियानलाई गम्भीरताका साथ लिन आग्रह गर्दै महासचिव पोखरेलले भन्नुभयो– हारले हामी समाप्त भएका होइनौँ, पराजित सिपाहीको मनोबल उच्च बनाएर फेरि विजयी बन्ने सङ्कल्पका साथ अघि बढ्नुपर्छ । अबको लडाइँ सडकबाट सरकार बदल्ने होइन, जनताको मन जितेर बहुमतको सरकार बनाउने हुनुपर्छ ।

हामी अहिले नेतृत्व परिवर्तनको पक्षमा छैनौं

यसैगरी, विराटनगरमा प्रेस चौतारी नेपाल मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले अहिले आफूहरु पार्टीलाई पुरानै अवस्थामा फर्काउन पुनर्संरचना र पुनर्गठनको प्रक्रियामा रहेको बताउँदै अहिले आफूहरु नेतृत्व परिवर्तनको पक्षमा नरहेको  स्पष्ट पार्नुभएको छ । 

महासचिव पोखरेलले पार्टी नेतृत्व परिवर्तन सामाजिक सञ्जालको बहस, सार्वजनिक टिकाटिप्पणी वा बाहिरी छलफलबाट नहुने बताउनुभयो । 

पार्टीमा रूपान्तरण आवश्यक रहेको स्वीकार गर्दै उहाँले जनतासँगको सम्बन्ध पुनः जोड्न र कार्यकर्ताको मनोबल बढाउन पार्टीभित्र छलफल भइरहेको तथा यसका लागि कार्यदल गठन गरिएको बताउनुभयो । 

महासचिव पोखरेलले लोकतन्त्र र संविधानको रक्षाका निम्ति संसद्भित्र तथा बाहिर रहेका संविधान निर्माता दलहरूसँग सहकार्यको प्रयास भइरहेको बताउनुभयो । 

प्रधानमन्त्री बालने साहको स्वेच्छाचारी र अधिनायकवादी कार्यशैलीलाई रोकी लोकतन्त्रलाई सही मार्गमा ल्याउन राष्ट्रपतिसँग पनि संवाद गरिने उहाँले बताउनुभयो । प्रधानमन्त्री साहले संसदीय लोकतन्त्रका आधारभूत स्तम्भहरूको उपेक्षा गरेको र संसद्प्रति उत्तरदायी नबनेको महासचिव पोखरेलको भनाइ राख्नुभयो ।  


महत्वपुर्ण लिंकहरु