काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मङ्सिर ४ को निर्वाचन राष्ट्र र जनताको जीवनको महत्त्वपूर्ण चुनाव भएको बताउनुभएको छ ।

मंगलबार दाङमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले जनताले बनाएको कम्युनिष्ट सरकारलाई अदालतबाट षडयन्त्रपूर्ण हटाउने काम भएको बताउनुभयो । परमादेशबाट हटाएको सरकारलाई जनादेशबाट स्थापित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘जनको पक्षमा काम गर्ने र राष्ट्रको पक्षमा काम गर्ने सरका हटाउने काम भयो’, पोखरेलले भन्नुभयो । 

नागरिकका चाहनाका काम योजनामा ढाल्न एमालेको सरकार सफल भएको पोखरेलले बताउनुभयो । एमाले नेतृत्व सरकारले विभिन्न विकासका काम अघि बढाएको पोखरेलले उदाहरण पेस गर्नुभयो । 

गठबन्धन देश बनाउनको लागि नआएको उहाँले बताउनुभयो । ‘देश लुट्नको लागि शासन गर्दै छन् भन्ने कुरा उनीहरूले जसरी काम गरेको छन् त्यसले पुष्टि गर्छ’, उहाँले भन्नुभयो । 

गठबन्धनले विकास योजना कटौती गरी विकासलाई रोक्ने काम गरेको बताउनुभयो । विकास रोक्नेलाई किन भोट दिने भनेर प्रश्न गर्न उहाँले मतदातालाई आग्रह गर्नुभयो । गठबन्धनले अर्को एक वर्ष शासन गर्ने हो भने देश टाट पल्टने उहाँले बताउनुभयो । 

एउटा दलको विरुद्ध अहिले पाँच दल मिलेर चुनावमा आएका उहाँले बताउनुभयो । यदि गठबन्धनका दलले राम्रो काम गरेका भए यसरी मिलेर आउनु पर्ने अवस्था किन आउँथ्यो ? भन्दै पोखरेलले प्रश्न गर्नुभयो । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनताबाट भाग्दै हिँडेको पोखरेलले बताउनुभयो । प्रचण्ड चितवनबाट भागेर गोरखा पुगेको उहाँले सुनाउनुभयो । जनताको बिचमा रहेर काम गर्ने पार्टी नेकपा एमाले भएको उहाँले प्रष्ट पार्नुभयो । 

नेकपा एमाले विकासको नयाँ युग सुरु गर्ने पार्टी भएको उहाँले बताउनुभयो । देशलाई सुरुङ मार्ग तर्फ अघि बढाउने पार्टी नेकपा एमाले भएका बुझ्न जरुरी रहेको पोखरेलको भनाइ छ । 

सरकार बलियो भयो भने ठुला ठुला काम गरेर देखाउन सकिने उहाँले बताउनुभयो । केही गर्न नसक्ने हुतीहाराहरूले हामी कुरा होइन काम गरेर देखाउँछौँ मात्र भनिरहने पोखरेलको भनाइ छ । गठबन्धनले सरकारले के काम गर्‍यो ? त्यो देखाउन पोखरेलले चुनौती दिनुभयो । ‘सपना नदेख्ने हो भने ठुला काम गर्न सक्दैनन्’, पोखरेलले भन्नुभयो । 

पोखरेलले अब कांग्रेस, एमाले, माओवादी होइन देश बनाउने पार्टी रोज्न मतदातालाई आग्रह गर्नुभयो । देश बनाउने पार्टी एमाले हो भन्ने कुरा व्यवहारले पुष्टि गरिसेकेको उहाँले बताउनुभयो । सामाजिक सुरक्षाको विस्तृत अवधारणा अघि बढाउने पार्टी नेकपा एमाले भएको नबिर्सन उहाँले आग्रह गर्नुभयो । 

गठबन्धन विकासको बाधक भएको उहाँले प्रष्ट पार्नुभयो । गठबन्धन सिद्धान्तहीन स्वार्थीहरूको झुण्ड भएको पोखरेलले बताउनुभयो । ‘मिलीजुली खाऊँ, उनीहरूको सिद्धान्त हो’, पोखरेलले भन्नुभयो । 


https://sunrisekhabar.com/news-details/58217/mail-to

महत्वपुर्ण लिंकहरु